नेपाली भाषामा वर्ण विन्यास
- नन्दलाल आचार्य
भाषिक शुद्धताले विचार सम्प्रेषणमा सहजता ल्याउँछ । सम्प्रेषणलाई लाभान्वित पक्षसम्म पु¥याउँछ । जीवन्त भाषा बेलाबेलामा परिवर्तन भइरहन्छ । व्यवस्था परिवर्तनसँगै वर्ण विन्यासमा समेत मनग्यै परिवर्तन भएको छ । यसलाई तुरुन्तै आत्मसात गर्न असहज हुन्छ तर कोशिस जारी राखे बानी बस्न सक्छ भन्ने ध्येयले मैले विविध स्रोतबाट आधिकारिक तथ्यहरू फेला पारी यस लेखमा प्रेषण गर्न खोजेको छु । आधिकारिक निकाय भन्छ– विद्यालय तहका पाठ्य पुस्तक तथा अन्य सामग्रीमा प्रयोग हुने वर्ण विन्यासमा एकरूपता कायम गर्ने उद्देश्यले नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०६९।०४। २३ को निर्णयबाट यसै साथ संलग्न वर्ण विन्यास स्वीकृत भएकाले नेपाली भाषाका प्रयोक्ता, विद्यार्थी, शिक्षक, प्रशिक्षक, प्राध्यापक, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाको जानकारीका लागि प्रस्तुत गरिएको छ । (१) पाठ्यव्रmम विकास केन्द्रबाट प्रकाशित सामग्रीमा व्रmमशः यो वर्ण विन्यास लागु गर्दै लगिने छ र विद्यालयमा यसैअनुसार प्रयोग गर्नुपर्ने छ । विद्यार्थीको लेखन पक्षको मूल्याङ्कन पनि यसैअनुसार हुने छ । (२) यसमा क्ष, त्र, ज्ञ, द्व जस्ता वर्ण बाहेक अन्य वर्णलाई लेखन सरलीकरण गरिएको छ भने आगन्तुक, तद्भव र झर्रा शब्दमा पछाडि र पदमध्येमा ह्रस्व इकार उकार र स मात्र प्रयोग गर्ने व्यवस्था गरिएको छ । (३) पाठ्यव्रmम विकास केन्द्रबाट प्रकाशित सामग्रीहरूमा पाठ्यव्रmम विकास केन्द्रले तयार पारेको प्रकाशन शैलीअनुसारको वर्ण विन्यास प्रयोग गर्नुपर्छ ।
वर्ण विन्यास
१. तद्भव र आगन्तुक शब्दको वर्ण विन्यास
१.१. तद्भव शब्द
शब्दादि र शब्दमध्यमा ह्रस्व
१.१.१ तद्भव शब्दको शब्दादि र शब्दमध्यको इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः सुन, नुन, थपिनी, नुनिलो, कलिलो, बलियो, सजिलो, बारुलो, बाहिर, भित्र, बित्तिकै, खातिर, निम्ति, पहिलो, माहिलो, गहिरो, रसिलो, बटुवा, हचुवा, झिलिक्क, तिरिरी, फिरिरी, सिरिसिरी आदि ।
१.१.२ संस्कृत (तत्सम) निकट ठानेर परम्परागत रूपमा शब्दादि र शब्दमध्यमा दीर्घ लेखिएका तद्भव शब्दलाई ह्रस्व लेख्ने । जस्तै ः निलो (नील), किरो (कीट), घिन (घृणा), किलो÷ खिल, (कील), खिर (क्षीर), दियो (दीप), पिर (पीडा), पिरो (पीडक), गहिरो (गभीर), चिसो (शीत), बिउ (बीज), जिउ, (जीव), धुलो (धूलि), धुवाँ (धूम), सुरो (शूर), मुसो (मूषक), मुला (मूल) आदि ।
१.१.३ परम्परागत रूपमा दीर्घ लेखिने शब्दहरू पनि तद्भव नै भएकाले तिनको शब्दादि र शब्दमध्येको इकार (इ), उकार (उ) लाई ह्रस्व लेख्ने । जस्तै ः तितो, मिठो, तिखो, पिठो, बुढो, ढिटो, दुध, मित, रुख, रुखो, रुगा, फुल, कपुत, सपुत, चुन, चुक, चिल, बिच, सिप, दिगो, ठिक, पुरा, ठुलो, मुत, भिख, भिर, भुल ।
१.१.४ तत्सम शब्दमा तद्भव प्रत्यय लागेमा तिनको इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः पुर्बेली (पूर्व+एली), मुख्र्याइँ (मूर्ख+याइँ, बर्सेनि (वर्ष+एनि), बर्से (वर्ष+ए), पुस्ट्याइँ (पुष्टि+याइँ, दुस्ट्याइँ (दुष्ट+याइँ, धुत्र्याइँ (धूर्त+याइँ, दर्साउनु (दृश्+आउनु, बिरक्तिनु (विरक्ति+नु, ब्यक्तिनु (व्यक्त+इनु, अम्सियार (अंश+इयार), स्विकार्नु (स्वीकार+नु, प्रस्टिनु (प्रस्ट+इनु आदि ।
१.१.५ सङ्ख्यावाचक शब्दलाई निम्नानुसार लेख्ने । जस्तै ः एक, दुई, तिन, चार, पाँच, छ, सात, आठ, नौ, दस, एघार, बार, तेर, चौध, पन्ध्र, सोर, सत्र, अठार, उन्नाइस, बिस, एक्काइस, बाइस, तेइस, चौबिस, पच्चिस, छब्बिस, सत्ताइस, अठ्ठाइस, उनन्तिस, तिस, एकतिस, बत्तिस, तेत्तिस, चौतिस, पैँतिस, छत्तिस, सैतिस, अठतिस, उनन्चालिस, चालिस, एक चालिस, बयालिस, त्रिचालिस, चवालिस, पैँतालिस, छयालिस, सतचालिस, अठचालिस, उनन्चास, पचास, एकाउन्न, बाउन्न, त्रिपन्न, चउन्न, पचपन्न, छपन्न, सन्ताउन्न अन्ठाउन्न, उनन्साठी, साठी, एकसट्ठी, बयसट्ठी, त्रिसट्ठी, चौसट्ठी, पँैसट्ठी, छयसट्ठी, सतसट्ठी, अठसट्ठी, उनन्सत्तरी, सत्तरी, एकहत्तर, बहत्तर, त्रिहत्तर, चौहत्तर, पचहत्तर, छयहत्तर, सतहत्तर, अठहत्तर, उनासी, असी, एकासी, बयासी, त्रियासी, चौरासी, पचासी, छयासी, सतासी, अठासी, उनानब्बे, नब्बे, एकानब्बे, बयानब्बे, त्रियानब्बे, चौरानब्बे, पन्चानब्बे, छयानब्बे, सन्तानब्बे, अन्ठानब्बे, उनान्सय, सय ।
१.१.६ शब्दान्तमा दीर्घ लेखिने शब्द प्रत्यय लागेपछि ह्रस्व लेखिने छन् । जस्तै ः असिऔँ(असी+औँ, साठिऔँ(साठी+औँ, सत्तरिऔँ(सत्तरी+औँ, त्रिसट्ठिऔँ(त्रिसट्ठी+औँ) दुइटा (दुई + ओटा) आदि ।
१.१.७ आद्यक्षरमा थोप्लोे नदिई एउटै डिकोमा लेखिएमा सङ्क्षिप्त शब्दका आदि र मध्य इकार ह्रस्व लेख्ने । जस्तै ः सिडिओ, युनेस्को, युनिसेफ, बिबिसी आदि । थोप्लोे दिएर लेखिएमा भने एकाक्षरी इकार दीर्घ नै लेख्ने । जस्तै ः सी.डी.ओ., बी.बी.सी. आदि ।
१.१.८ अनुकरणात्मक शब्दको बिचमा आउने इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः टिलिक्क, मिलिक्क, सिनित्त, सुलुत्त, हुलुक्क, झिलिमिली, सिरिरी तुरुरु, भुरुरु, टुलुटुलु आदि ।
शब्दान्तमा ह्रस्व इ, उ हुने शब्दहरू
१.१.९ नाताबोधक पुलिङ्गी शब्दको शब्दान्तमा रहेका इ, उ ह्रस्व लेख्ने । जस्तै ःज्वाइँ, दाइ, भाइ, पति, पनाति, जेठाजु, दाजु, फुपाजु, भिनाजु आदि ।
१.१.१० आइ, याइँ, आउ, आरु, आलुुु, एलु प्रत्यय लागेर बनेका शब्दहरूको इकार उकार प्रत्ययअनुसार नै ह्रस्व लेख्ने । जस्तै ः पढाइ, लेखाइ, कमाइ, लमाइ, दुस्ट्याइँ, बुढ्याइँ, रोपाइँ, घेराउ, चुनाउ, टिकाउ, बिकाउ, सिकारु, हटारु, बढालु, इखालु, मैतालु, घरेलु आदि ।
१.१.११ केही अव्यय शब्द र विभक्तिसमेतको अन्त्यको इ ह्रस्व लेख्ने । जस्तै ः अगाडि, पछाडि, अगि, पछि, वारि, पारि, माथि, मुनि, खेरि, फेरि, भरि, वरिपरि, लागि, निम्ति, देखि, किनकि, अनि, पनि, तापनि, हगि, कुन्नि, चाहिँ । तर ही र हीँ प्रत्यय लागेका यही, कहीँ, यहीँ, त्यहीँ र लाई विभक्ति भने दीर्घ लेख्ने ।
१.१.१२ परिमाण जनाउने शब्द ह्रस्व लेख्ने । जस्तै ः कति, यति, उति, जति, त्यति, अलि आदि ।
१.१.१३ लघु वा प्रिय अर्थमा आउने उकार ह्रस्व लेख्ने । जस्तै ः कालु, रामु, बाबु, बच्चु, सानु, नानु, छोटु आदि ।
१.१.१४ उकारान्त नाम, विशेषण र अव्यय ह्रस्व लेख्ने । जस्तै ः नाम– भाउ, दाउ, घिउ, जिउ, आलु, केराउ, बिउ, सिरु, हिउँ, उनिउँ, पनिउँ आदि । गाउँ, ठाउँ, मुगु, चाँगु, साँखु, बालाजु, तनहुँ, टेकु, हेलम्बु, चिसङ्खु, सोलु, काहुँ आदि । लिखु, मलेखु, बल्खु, सोलु आदि । साहु, भालु आदि । लिम्बु, खम्बु, वाम्बु, याम्फु, हिन्दु, ज्यापु, थारु, हायु, कोयु, आदि ।
विशेषण– चालु, उल्लु, छटटु, ढड्डु, मट्ठु, लद्दु, पत्रु, पिट्ठु, पिछलग्गु, दुधालु, सिकारु, बिकाउ, लागु, ठालु, लडाकु आदि ।
अव्यय– सामु, आच्छु, आत्थु, उहु ।
१.१.१५ समापक छु र हु व्रिmयापदको उकार ह्रस्व लेख्ने । जस्तै ः म राम्रो छु । म नेपाली हुँ । म फलफुल खान्छु ।
शब्दान्तमा दीर्घ ऊ हुने शब्दहरू
१.१.१६ सबै स्त्रीलिङ्गी शब्दहरूको इकार र उकार दीर्घ लेख्ने । जस्तै ः उकारान्त नामपद ः केटी, रानी, दिदी, गाई, माई, भैँसी
नाताबोधक शब्द ः भाउजू, फुपू, सासू, माइजू आदि ।
१.१.१७ निर्जीव वस्तु जनाउने इकारान्त शब्दहरू दीर्घ लेख्ने । जस्तै ः ठेकी, दही, मही, कोदाली, टोपी, छाती, मसी, बारी, बाली, कागती, नासपाती आदि ।
केही सजीव नामका अन्त्यमा आउने इकार दीर्घ लेख्ने ः जोगी, सम्धी, हात्ती, खसी आदि ।
१.१.१८ नामबाट बनेका भाववाचक इकारान्त नाम दीर्घ लेख्ने । जस्तै ः गरिबी, साझेदारी, इमानदारी, खरदारी, मास्टरी, डाक्टरी, खेती, नोकरी आदि ।
१.१.१९ नदी र स्थानवाचक इकारान्त नाम दीर्घ लेख्ने । जस्तै ः कन्काई, सेती, कोसी, रोसी, भेरी, राप्ती, कर्नाली, मादी, माडी, मेची, कास्की, डोटी, गुल्मी, इटली, दिल्ली, जिरी, सिन्धुली, देउखुरी, सुनसरी आदि ।
१.१.२० स्थानवाचक विशेषण र अन्य विशेषणको अन्त्यको इकार दीर्घ लेख्ने । जस्तै ः झापाली, पाल्पाली, गुल्मेली, स्याङ्जाली, अमेरिकाली, रसियाली, अफ्रिकी, जुम्ली, सुर्खेती आदि । खाली, अल्छी, जाती, पाजी, लाछी, सिल्ली, दामी, असली, कानुनी, देखावटी आदि ।
१.१.२१ थर, पेसा बुुझाउने शब्दको अन्त्यको इकार दीर्घ लेख्ने । जस्तै ः अधिकारी, राई, कामी, छेत्री, भट्टराई, बजगाईँ, पुजारी, डकर्मी, धोबी, तेली आदि ।
१.१.२२ जाति, वर्ग, भाषा आदि जनाउने शब्दको अन्तिम इकार दीर्घ लेख्ने तर उकार भने ह्रस्व
लेख्ने । जस्तै ः नेपाली, अङ्ग्रेजी, बङ्गाली, हिन्दी, तेलगु, उर्दु आदि ।
१.१.२३ सर्वनाम शब्दको अन्त्यको इकार र उकार दीर्घ लेख्ने । जस्तै ः तिमी, हामी, उनी, यी, ती, तपाईं, आफू, ऊ, अरू आदि ।
१.१.२४ समापक स्त्रीलिङ्गी क्रियापदको अन्त्यको इकार दीर्घ लेख्ने । जस्तै ः गई, पढी, हिँडी, बसी, पढाई, सुताई
बहिनी घर गई । बहिनीले उपन्यास पढी ।
१.१.२५ ‘एर’ प्रत्ययान्त कृदन्त क्रियाका सट्टामा प्रयोग हुने कृदन्त क्रियाको इकार पनि दीर्घ लेख्ने । जस्तै ः आई (आएर), सकी (सकेर), देखाई (देखाएर) उनीहरूले कलम किनी (किनेर) मलाई दिए ।
१.१.२६ शब्दान्तमा आउने इच्छार्थक तथा आज्ञार्थक क्रियापदको उकार दीर्घ लेख्ने), जस्तै ः जाऊ, खाऊ, बसूँ, हेरूँ, देखाऊ, जानू, पढ्नू आदि ।
इच्छार्थक क्रियापदको बिचको उकार दीर्घ लेख्ने । जस्तै ः जाऊन्, खाऊन्, उडून्, बाँचून्, बसून्, देखून् आदि ।
१.१.२७ री÷अरी, तरी, ती र ई मा टुङ्गिने क्रियायोगी शब्दहरूको इकार दीर्घ लेख्ने । जस्तै ः यसरी, उसरी, यस्तरी, उस्तरी, कसरी, कस्तरी, यस्तरी, राम्ररी, बरबरी, दनदनी, सरसर्ती, फनफन्ती, ट्वालट्वाल्ती, तरतरी, सरासरी, फिरिरी, सिरिरी, तिरिरी आदि ।
१.१.२८ पृथक र स्वतन्त्र रूपमा प्रयोग हुने दीर्घ इकारान्त शब्दहरू समास भएपछि पनि यथावत् लेख्ने । जस्तै ः स्वामीभक्त, भेडीगोठ, जडीबुटी, हात्तीवन, मैत्रीपूर्ण, नालीबेली, बोलीचाली, हाँसीखेली, कोरीबाटी आदि ।
१.१.२९ नेपालीमा श्रुतिसम भिन्नार्थी (समध्वनिक) शब्दहरू धेरै छन् । तद्भव र आगन्तुक स्रोतका समध्वनिक भिन्नार्थी शब्द समलिपि चिह्नमा लेख्ने । जस्तै ः गोल, ताल, माल, मेल, दर फुल, जुन, पुरा, तिन आदि ।
कुखुराले फुल पा¥यो । दिदीले बगैँचाको फुल टिपेर माला उनिन् । मकैका फुल उठे । मैले तिन ओटा कलम किनेँ । तिनले बिहामा मलाई बोलाए । जुन अस्ताए । जुन मान्छे मकहाँ आयो, त्यो मेरो साथी हो ।
१.१.३० बहुवचन जनाउने ‘हरू’ तथा आदर जनाउने ‘ज्य’ू दीर्घ लेख्ने । जस्तै ः भाइहरू, उनीहरू, सम्पादकज्यू, प्रधानमन्त्रीज्यू इत्यादि ।
१.२ आगन्तुक शब्द
१.२.१ शब्दादि र शब्दमध्यमा आउने इकार र उकार तद्भवकै नियमअनुसार ह्रस्व लेख्ने । जस्तै ः गरिब, कानुन, सिफारिस, महिना, तालिम, अजिब, रसिद, सहिद, इन्जिन, इन्जिनियरिङ, एसोसिएसन, भिटामिन, टेलिभिजन, युरोप, न्युजिल्यान्ड, थाइल्यान्ड, न्युरोड, न्युयोर्क आदि ।
१.२.२ आगन्तुक शब्दमा रहेको श, ष र स मध्ये दन्त्य सकार मात्र लेख्ने । जस्तै ः सिफारिस, सहर, सहिद, सुरु, रुस, स्टेसन, स्टुडियो, मास्टर, रजिस्टर, एभरेस्ट, पोस्ट, इन्स्टिच्युट, एसोसिएसन आदि । तर तालव्य श लेख्ने गरिएका नाम, थर र पदवीमा भने तालव्य ‘श’ नै प्रयोग गर्ने । जस्तै ः जोशी, शाह, कुशवाह, शेर्पा, शेरबहादुर आदि ।
१.२.३ तद्भव र आगन्तुक शब्दको संयुक्त व्यञ्जनमा अल्पप्राणपछि महाप्राण वर्ण आउने हुँदा सोहीअनुसार लेख्ने । जस्तै ः सम्हाल्नु, ल्हासा, ल्होसार, म्हेन्दु, पासाङ ल्हामु, च्छोरोल्पा आदि ।
१.३ हलन्त र अजन्त सम्बन्धी
व्यञ्जन वर्णलाई हल् र स्वर वर्णलाई अच् पनि भन्दछन् । कुनै अक्षर वा शब्दका अन्त्यमा व्यञ्जन आएमा त्यस्ता वर्णलाई हलन्त भनिन्छ । हलन्त वर्ण प्रायः तिन किसिमले लेखिन्छन् । नेपालीमा ङ, छ, ट, ठ, ड, ढ, द, ह लाई आधा अक्षरमा लेख्न नमिल्ने भएकाले यिनलाई हलन्त बनाउँदा सधैँ खुट्टा काटेर ( ङ्, छ् आदि), (सङ्लिनु, भद्दा, भट्टी, पड्किनु आदि) लेख्ने चलन छ । च, ज, भ जस्ता ठाडो धर्को (पाई भएका वर्णलाई ठाडो धर्को हटाएर ( च्, ज्, भ् ) शब्दको आदि र मध्यमा हलन्त(बच्चा, मन्दिर, बाल्टिन) बनाइन्छ । क, झ, फ मा भने हात भाँचेर ( क् ...) हलन्त (पक्का, सक्छिन् बनाइएको पनि पाइन्छ । शब्दमा हलन्त सम्बन्धी केही सामान्य उदाहरण निम्नानुसार छन् ः
१.३.१ नाम, सर्वनाम र विशेषण शब्दको उच्चारण गर्दा अन्त्यमा हलन्त उच्चरित भए पनि लेख्दा अजन्त लेख्ने । जस्तै ः राम, भात, झ्याल, काम, धान, धुतार, असल, खराब, इमान आदि । सङ्क्षिप्त शब्दमा पनि हलन्त उच्चारण भए पनि अजन्त नै लेख्ने । जस्तै ः एम.ए, एम.एड, बी.एड, बी.एस्सी, एस.एल.सी. उच्चारण हलन्त हुने आगन्तुक शब्दलाई पनि अजन्त नै लेख्ने । जस्तै ः रिजल्ट, सिमेन्ट, बल्ब, फिल्ड, फर्म आदि ।
१.३.२ प्रत्यय लागेपछि शब्दमध्यमा परेको आधार अंश पहिले अजन्त लेखिने भए सोहीअनुसार अजन्त नै लेख्ने । जस्तै ः इमानदार, जमिनदार, लेखनदास आदि ।
१.३.३ द्वित्व स्थितिका अनुकरणात्मक शब्दमा हलन्त उच्चारण भए पनि अजन्त लेख्ने । जस्तै ः फरफर, सरसर, फनफन, मिरमिर, खलखल, चमचम, सरसरी ।
१.३.४ इच्छार्थक उकारान्तबाहेकका क्रियापदमा उच्चारणअनुसार लेख्ने । जस्तै ः भन्, भनेस्, आएस्, भनिन्, पढिन्, बसिन् । भनिन, गरिन, खाइन, बसिन आदि । भन्छ , भन्दिनँ, भन्यो, खानु, भन्नु आदि ।
१.४ ब र व सम्बन्धी
तद्भ् व र आगन्तुक शब्दमा उच्चारणअनुसुसार (ब) अथवा (व) लेख्ने । जस्तै ः ‘ब’ को उच्चारण– बकुल्लो, बखत, बापत, बाकस, बाल्टी, बहिनी, बाछिटा, बाटो, बाहिर, बाङ्गो आदि । ‘व’ को उच्चारण– वकिल, पावर, वजन, वाकवाक, वारपार, वारिस, बेवास्ता, फेवा, मेवा, सरुवा आदि ।
१.५ शिरबिन्दु, चन्द्रबिन्दु र पञ्चम वर्णको प्रयोग
१.५.१ शिरबिन्दु
य, र, ल, व, श, ब, स, हका अघि अनुनासिक उच्चारण भएमा शिरबिन्दु प्रयोग गर्ने । जस्तै ः संवाद, संयम, संरचना, संरक्षण, संलग्न, संवत्, वंश, संसार, हंस, अंश, संहार आदि ।
१.५.२ तद्भव र आगन्तुक शब्दमा आउने अननुनासिक स्वरलाई उच्चारणअनुसार नै चन्द्रबिन्दु ( ँ) लेख्ने । जस्तै ः गएँ, खाएँ, गाउँछ, आउँछ, काँठ, आँप, अँध्यारो, उँभो, सँग, काठमाडौँ, हुँदा, गरिँदै, दसैँ, नवौँ, पाँचौँ आदि ।
१.५.३ तद्भव र आगन्तुक शब्दमा रहेकेको पञ्चम वर्णलाई उच्चारणअनुसुसार (ङ) (न) र (म) नै लेख्ने । जस्तै ः करङ, अङ्ग्रेजी, चङ्गा, अङ्गुर, सन्काहा, सिन्का, सन्चै, मान्छे, कान्छा, हुन्छ, भान्जा, झन्झट, जन्जाल, अन्डा, झन्डा, टन्टा, हन्डर, इन्जेक्सन, गन्जागोल, पन्ध्र, कम्पाउन्डर, बन्डल, लन्डन, पन्डाल, प्यान्ट, सेन्टर, सुपरिन्टेन्डेन्ट, जिन्सी आदि ।
१.५.४ हलन्त ङ मात्र उच्चारण हुने शब्दमा ङग् नलेखेखी ङ मात्र लेख्ने । जस्तै ः गुरुङ, तामाङ, मनाङ, मोरङ, बागलुङ, दाङ, बझाङ, दार्जिलिङ, हङकङ, करङ, इन्जिनियरिङ, बोर्डिङ, बिल्डिङ, ट्रेनिङ । छर्लङ्ङ, तुर्लुङ्ङ, फुरुङ्ङ, फुङ्ङ, खङ्रङ्ङ, छ्याङ्ङ, दङ्ङ आदि ।
१.६ पदयोग र पद वियोग
पदयोग हुने शब्दलाई एउटै डिकोमा र पदयोग नहुने शब्दलाई भिन्नभिन्न डिकोमा लेख्ने, जस्तै ः रामसित (पदयोग ः सही) राम सित (पद वियोग ः गलत) रामका लागि (पद वियोग ः सही) रामकालागि (पदयोग ः गलत)
पदयोग
१.६ .१ विभक्ति र वचनबोधक प्रत्यय पदयोग गरी लेख्ने । जस्तै ः रामले, रामलाई, रामको, घरमा, रुखबाट, सडकदेखि काठहरू, भाइहरू, बहिनीहरू ।
१.६.२ नामयोगीलाई पदयोग गरी लेख्ने । जस्तै ः रामसँग, रामसित, घरसम्म, बाटामुनि, घरतिर, प्वालबिच, पूर्वपट्टि, घरतर्फ, सुन्तलाबाहेक, पानसमेत, भनेबमोजिम, कानुनबमोजिम, आदेशमुताबिक, शिक्षकलगायत, विभागअन्तर्गत, नियमअनुरूप, हाकिमसमक्ष, हुलाकमार्फत, कानुनप्रतिकूल, आदि । (पछि, अघि, पूर्व, मुनि, माथि, वारि, बिच, भित्र, बाहिर, तर्फ, तिर, सामु, भन्दा, सम्म, पट्टि, तक, सँग, सित, बाहेक, समेत, समक्ष, मार्फत, पर्यन्त, उपर, लगायत, बमोजिम,
सम्मत, अनुसार, मुताबिक, अन्तर्गत, अनुरूप, अनुकूल, प्रतिकूल आदि नामयोगी हुन् ।)
१.६.३ कुनैै दुई शब्दका बिच समास भएर बनेका दुई दुई लिपि चिह्नमा लेखिने शब्दहरूलाई
पदयोग गरी लेख्ने । जस्तै ः दालभात, धनमाल, घरबारी, खानाखर्च, आमाबाबु, खेलकुद, गृहत्याग, जन्मजात, रोगमुक्त,
घरधनी, भान्साघर, अर्थमन्त्री । द्रष्टव्य ः संयुक्त वर्णलाई पनि यहाँ एउटै लिपि मानिएको छ ।
१.६.४ आधार तत्वसित समस्त (समास भएका) भएमा बद्ध प्रकृतिका अथवा प्रत्ययवत् भई आएका शब्दको अंश पदयोग गरी लेख्ने । जस्तै ः नाटककार, इतिहासकार, श्रममूलक, आत्मपरक, बलपूर्वक, केन्द्रीकरण, नामकरण, हानिकारक, वस्तुगत, विकासशील, समयबद्ध, कार्यरत, सन्तोषजनक, उत्तरदायी, विस्मयकारी, प्रश्नवाची, शीर्षस्थ, शिक्षाप्रद, जबाफदेही आदि ।
१.६.५ रूपमा÷रूपले भन्ने अभिप्रायमा क्रियायोगीको कार्य जनाउन पदान्तमा देखिने स्वरूप शब्द अगिल्लो नामिक अंशसित जोडेर लेख्ने । जस्तै ः फलस्वरूप, परिणामस्वरूप, प्रमाणस्वरूप, उपहारस्वरूप, परिणामस्वरूप ऊ मसँग रिसायो । उसले मलाई उपहारस्वरूप दुइटा कलम दियो । मैले प्रमाणस्वरूप एउटा चिठी पेस गरेँ ।
१.६.६ परिवर्तित वा आंशिक परिवर्तित भएर बनेका अनुकरण जनाउने वा नजनाउने द्वित्व शब्द पदयोग गरी लेख्ने । जस्तै ः सुलसुल, फुरफुर, चटचट, फनफन, तनतन, कुरुङकुरुङ, तिरमिर, लटरपटर, तडकभडक, आलोपालो, आनीबानी, ओल्टोकोल्टो, गरगहना, भातसात, बल्लतल्ल, जोडजाड, असिनापसिना, ससानो, आआप्mनो, ठुलठुलो, दौडादौड, रिसारिस आदि ।
१.६.७ अकरणको ‘न’ लाई पदयोग गरी लेख्ने । जस्तै ः नखेल, नजा, नदेखाऊ, जाँदैन, पढ्दैनथ्यो, पढ्दैन, खान्नँ, भन्दिनँ आदि ।
१.६.८ सन्धि हुँदा विकार भएर बनेका समस्त शब्द वा संयुक्त क्रियासमेत पदयोग गरी लेख्ने । जस्तै ः मन्त्रालय, विद्यालय, सूर्योदय, जन्मोत्सव, दिव्योपदेश, सान्दिदी, मनोव्यथा, अत्यावश्यक, निजात्मक, नियमानुसार, कपडछान, घोडचढी, रतन्धो, भन्दिनु, भन्ठान्नु आदि ।
१.६.९ संयुक्त क्रियामा आउने निम्न लिखित कृदन्त अंशलाई पदयोग गरी लेख्ने । जस्तै ः जानुपर्छ, गर्नुपर्छ, आउनुपर्छ, जानुप¥यो, गर्नुपरेको छ । जानुहोस्, आउनुहोस् । खानुहुन्छ, आउनुहुन्छ । पढिहाल्छ, गइसक्छ, लेखिदिन्छ, दिइसकिहाल्यो, हेरिरहन्छ ।
१.६.१० नाम र थरका बिचमा आउने मध्यवर्ती नामलाई एकै डिकोमा जोडेर लेख्ने । जस्तै ः रामबहादुर थापा, खगेन्द्रप्रसाद भट्टराई, परशुनारायण चौधरी, सुरेशराज मैनाली
पद वियोग
१.६.१० विभक्तिपछि आउने नामयोगीलाई पद वियोग गरी लेख्ने । जस्तै ः रामका लागि, घरदेखि माथि, भाइको समेत, त्यसको भन्दा आदि ।
१.६.११ शब्दान्तमा बद्ध अक्षर भएका (व्यञ्जनान्त) दुईभन्दा बढी लिपि चिह्नमा लेखिने तथा दुई वा दुईभन्दा बढी अक्षर (सिलेबेबल) मा उच्चरित हुने समस्त शब्दहरूलाई अलग डिकोमा लेख्ने । जस्तै ः नेपाल सरकार, नगर विकास, सडक सुधार, समाज सेवा, मानव धर्म, अध्ययन प्रतिवेदन, परिवार नियोजन, मानव अधिकार, संविधान सभा, समापन समारोह
श्रम विभाग, वन संरक्षण, देश विकास, हर्ष बढाइँ, मौरी पालन, शिक्षा विभाग, जीवन रक्षक, सञ्चार गृह, सुरक्षा व्यवस्था, फलफुल पसल आदि ।
१.६.१२ सार्थक द्वित्व शब्दलाई पद वियोग गरी लेख्ने । जस्तै ः जो जो, को को, जे जे, के के, जुन जुन, कुन कुन, जति जति, जहाँ जहाँ, के कस्तो, वन वन, सडक सडक, राम्रो राम्रो, मिठो मिठो, हुन्छ हुन्छ, बस्यो बस्यो ।
१.६.१३ संयुक्त क्रियामा आउने निम्न लिखित कृदन्त अंशलाई पद वियोग गरी लेख्ने । जस्तै ः पढ्नु छ, देखाउनु छ, सुनाउनु थियो । पढ्ने छ, जाने छ, बताउने छ, देखाउने थियो । सुनेको छ, भनेको थियो । खाँदो छ, खाँदो थियो, हिँड्दै छ, आउँदै थियो । खान हुन्छ, आउन हुन्छ, पढ्न सक्छ, हिँड्न सक्थ्यो । खाए हुन्छ, गए हुन्छ, आए हुन्थ्यो, देखाए होला ।
हेरेको हे¥यै, सुनेको सुन्यै । यस्तै नामिक क्रियासित आउने नाम अलग डिकोमा लेख्ने, जस्तै ः मन पर्नु, देखा पर्नु, हाम फाल्नु, उजुर गर्नु आदि ।
१.६.१४ रीति जनाउने इकारान्त व्रिmयालाई अगिल्लो शब्दसँग पद वियोग गरी लेख्ने । जस्तै ः ढिलो गरी, सजिलो गरी, सुनिने गरी, देखिने गरी आदि ।
१.६.१५ विशेषण र विशेष्य (नाम) ढाँचाका शब्दलाई पद वियोग गरी लेख्ने । जस्तै ः निम्न माध्यमिक, निम्न लिखित, शुभ दिन, शुभ कामना, पेय जल, शुद्ध दुध, नगदे बाली, भित्ते पात्रो, पूर्ण रूपले, भव्य रूपमा, उच्च शिक्षा, शिष्ट व्यवहार आदि ।
१.६.१६ निपातहरू पद वियोग गरी लेख्ने । जस्तै ः म त, राम नै, बहिनी पो, हरि झैँ । हरि चाहिँ मसँग रिसायो । भाइ मात्र चौरमा दौड्यो । ऊ कहिले जान्छ खै ? यति पाठ पढ ल ।
१.६.१७ जना, ओटा जस्ता कोटिकर शब्दलाई अलग डिकोमा लेख्ने । जस्तै ःपाँच जना केटा, चार ओटा गाई, सात भाइ छोरा, दस जना मान्छे ।
१.६.१८ विभाजक न लाई पद वियोग गरेर लेख्ने । जस्तै ः न राम न श्याम आयो आदि ।
१.६.१९ जस्तो, जस्तै, जत्रोे, जसरी, झैँ, सरि आदि तुुलनाबोधक शब्दका अगाडि आउने नाम, सर्वनाम आदिसँग पद वियोग गरी लेख्ने । जस्तै ः राम जस्तो, हिमालय जत्रो, हामी जस्तै, बताए जस्तै, देखाए जसरी । राधा झैँ राम्री, बाँस झैँ लामो, गाई सरि साधु ।
१.६.२० व्यक्ति, जाति, स्थान आदि शीर्ष नामको परिचय जनाउने शब्दलाई अलग डिकोमेमा लेख्ने । जस्तै ः कास्की जिल्ला, रारा ताल, कोसी नदी, गुरुङ जाति, नारी समाज, शिक्षक वर्ग, माघ, महिना, बुद्ध धर्म आदि ।
१.६.२१ दुईभन्दा बढी शब्दबाट बनेका समस्त (समास भएका) शब्दलाई पद वियोगमा लेख्ने । जस्तै ः दाल, भात, तरकारीस मन, वचन, कर्मस तन, मन, धनस गाँस, बास, कपास । मानव अधिकार आयोग, लोक सेवा आयोग, नेपाल विद्युत् प्राधिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।
२. तत्सम शब्दको वर्ण विन्यास
२.१ निम्न लिखित तत्सम शब्दहरूलाई संंस्कृतकै नियमानुुसार वर्ण विन्यास मिलाई लेख्ने । जस्तै ः स्मरण, प्रशासन, वन, वेला, सन्देह, राष्ट्रिय, भवदीय, कृति, मति, उच्चारण, शङ्का, विलय, क्षति, स्वयम्, क्षेत्र, शरीर आदि ।
२.२ तत्सम शब्दमा आएको ङ, ञ, ण, न, म लाई यी वर्णभन्दा परवर्ती स्पर्श वर्ण (‘क’ देखि ‘म’ सम्मका वर्ण भए सो स्पर्श वर्णको सवर्गीय पञ्चम वर्ण लेख्ने । जस्तै ः
२.२.१ ‘क’ वर्गभन्दा अगाडि ‘ङ्’ लेख्ने । जस्तै ः शङ्का, अलङ्कार, शङ्ख, मृदङ्ग, गङ्गा, अङ्ग, सङ्गठन, सङ्घ, सङ्घर्ष आदि ।
२.२.२ ‘च’ वर्गभन्दा अगाडि ‘ञ्’ लेख्ने । जस्तै ः सञ्चय, चञ्चल, लाञ्छना, वाञ्छा, सञ्जाल, पुञ्ज, झञ्झा ...
२.२.३ ‘ट’ वर्गभन्दा अगाडि ‘ण्’ लेख्ने । जस्तै ः कण्टक, घण्टा, कण्ठ, खण्ड, पिण्ड, गण्डकी, खण्डित, खण्डन, कुष्माण्ड, दण्ड, शण्ढ, मृदण्ड, मार्कण्डेय आदि ।
२.२.४ ‘त’ वर्गका अगाडि ‘न्’ लेख्ने । जस्तै ः सन्ताप, देहान्त, अन्तिम, तन्तु, सन्तृप्त, सन्त्रास, ग्रन्थी, पन्थ, मन्थन, सन्देश, सन्दर्भ, सन्देह, आनन्द, आन्दोलित, मन्द, प्रबन्ध, सन्ध्या, निबन्ध, सन्धि, उन्नति, सन्निकट आदि ।
२.२.५ ‘प’ वर्गका अगाडि ‘म्’ लेख्ने । जस्तै ः सम्पर्क, सम्पादन, सम्प्रदाय, सम्परीक्षण सम्प्रेषण, पम्फा, सम्बन्ध, सम्बन्धित, सम्बोधन, सम्भव, सम्भोग, सम्भ्रान्त, सम्मेलन, सम्मुख, सम्राट आदि ।
तर तत्सम शब्दमा पञ्चम वर्णभन्दा परवर्ती (य, व, र, ल, श, ष, स, ह, वर्ण भए पञ्चम वर्णर्कको सट्टा अनुस्ुस्वार ( ं लेख्ने । जस्तै ः ‘य’ परतिर हुँदा ः संयम, संयुक्त, संयोग । ‘र’ परतिर हुँदा ः संरचना, संरक्षित, संरक्षण । ‘ल’ परतिर हुँदा ः संलग्न, संलाप । ‘व’ परतिर हुँदा ः संविधान, संवत्, संवाद । ‘श’ परतिर हुँदा ः संशोधन, संश्रय, संशय । ‘स’ परतिर हुँदा ः संसार, संसर्ग, संसद् । ‘ह’ परतिर हुँदा ः संहार, संहिता
२.३. ह्रस्वदीर्घ सम्बन्धी
२.३.१ शब्दादिमा ह्रस्व इ वा उ हुने शब्दहरू
२.३.१.१ वि, नि, निस्, निर्, सु, उप, उत्, दुुस्, दुर् उपसर्ग लागेका शब्दहरूको शब्दादिको इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः विचार, विनाश, विजय, निपात, निश्चय, नियोग, सुमार्ग, सुकुमार, सुपाच्य, उपचार, उपहार, उपकार, उत्खनन, उत्पात, उत्पत्ति, दुर्गम, दुर्विचार, दुर्बल आदि ।
२.३.१.२ द्वि, त्रि भएका सङ्ख्यावाची शब्दमा इकार ह्रस्व लेख्ने । जस्तै ः द्विबाहु, द्विमुख, त्रिकोण, त्रिजटा, त्रिभुज, त्रिपिटक, त्रिशङ्कु, त्रिफला आदि ।
२.३.२ शब्दमध्यमा ह्रस्व इ वा उ हुने शब्दहरू
२.३.२.१ अति, अधि, अनु, प्रति, परि, अभि उपसर्ग लागेका शब्दहरूको शब्दमध्यको इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः
अतिरिक्त, अतिवाद, अतिशय, अधिकार, अधिवक्ता, अनुहार, अनुकरण, प्रतिव्रिmया, प्रतिगामी, परिकल्पना, परिव्रmमा, अभियोग, अभिनन्दन आदि ।
२.३.२.२ इक, इका, इत, इम, इमा, इष्ठ, उक प्रत्ययहरूको इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः प्राज्ञिक, भाषिक, लेखिका, नायिका, गायिका, रचित, हेलित, पण्डित, स्वर्णिम, अग्रिम, आदिम, गरिमा, नीलिमा, महिमा, कनिष्ठ, वरिष्ठ, गरिष्ठ, जागरुक, भावुक, कामुक आदि ।
२.३.२.३ शब्दान्तमा दीर्घ लेखिने शब्द प्रत्यय लागेपछि ह्रस्व लेख्ने । जस्तै ः उपयोगिता, प्रभावकारिता, दायित्व, स्वामित्व आदि । तर स्त्रीलिङ्गी शब्दहरूमा भने प्रत्यय लागे पनि यथावत् लेख्ने । जस्तै ः सतीत्व, स्त्रीत्व आदि ।
२.३.३ शब्दान्तमा ह्रस्व इ वा उ हुने शब्दहरू
२.३.३.१ चि, टि, णि, ति, थि, द्धि, धि, नि, पि, भि, मि, रि, लि, वि, शि, षि, ष्टि अन्तमा आउने
केही शब्दहरू ह्रस्व लेख्ने । जस्तै ः रुचि, शुचि, त्रुटि, कोटि, पाणि, कृति, गति, मति, क्षति, प्रकृति, भक्ति, नीति, प्रणति, कीर्ति, तिथि, सारथि, अतिथि, प्रीति, गीति, सिद्धि, बुद्धि, वृद्धि, ऋद्धि, विधि, निधि, सन्धि, व्याधि, अग्नि, अधीति, शनि, मुनि, ग्लानि, हानि, लिपि, यद्पि, कपि, नाभि, सुरभि, दुन्दुभि, ऊर्मि, निमि, रश्मि, गिरि, अरि, कलि, बलि, हवि, छवि, कवि, राशि, कृषि, ऋषि, सृष्टि, वृष्टि, दृष्टि आदि । अपवाद ः तर नेपालीमा शब्दान्तमा दीर्घ चलेका युवती, श्रेणी, सूची, अञ्जली (श्रद्धाञ्जली), आवली (शब्दावली), औषधी, ग्रन्थी (मनोग्रन्थी) आदिलाई दीर्घ नै लेख्ने ।
२.३.३.२ अन्त्यमा नु, भु, धु, रु, लु भएका केही शब्दहरू ह्रस्व लेख्ने । जस्तै ः भानु, शन्तनु, शम्भु, विभु, प्रभु, साधु, चरु, गुरु, सुचारु, भीरु, श्रद्धालु, कृपालु, दयालु, ईष्र्यालु आदि ।
२.३.४ शब्दादिमा दीर्घ ई वा ऊ हुने शब्दहरू
२.३.४.१ रेफभन्दा अगाडि आएका संयुक्त व्यञ्जनमा इकार वा उकार दीर्घ लेख्ने । जस्तै ः कीर्तन, कीर्ति, जीर्ण, शीर्ण, दीर्घ, कीर्ण, शीर्षक, मूर्ख, पूर्ति, पूर्व, पूर्ण, शूर्पणखा, ऊर्जा, पूर्ण, धूर्त, स्पूmर्त, वीर्य, ऊध्र्व, चूर्ण, कूर्म आदि ।
२.३.४.२ शब्दका सुरुमा ईक्ष्, ईश्, जीव्, तीक्ष्, दीप्, दूर्, धीर्, प्री, भू, भूष््, मूर्, री, रूप, सूर् आदि भएका शब्दहरूको इकार वा उकार दीर्घ लेख्ने । जस्तै ः ईक्षण, ईक्षा, ईश्वर, ईशान, ईश, जीवन, जीवित, तीक्ष्ण, तीक्ष्णता, दीप्ति, दीपिका, दीप, दूरदर्शी, दूरदर्शन, दूरान्वयी, धीर, धीरता, प्रीति, प्रीत, भूत, भूपति, भूमि, भूषण, भूषित, मूर्ति, रीति, रूप, रूपित, रूपिम, रूपायन, सूर्य आदि ।
२.३.४.३ अन्य केही तत्सम शब्दमा शब्दादिका इकार वा उकार दीर्घ लेख्ने, जस्तै ः पूजा, दूत, धूप, सूचना, सूची, शूली, सूतक, भ्रूण, कूप, पूरक, मूल, क्षीण, दीन, नीच, भीरु, शीतल, गीत, टीका, पीडा, सीता, सीमा, पीयूष, नीर, सूक्ष्म, व्रmूर, न्यून, स्तूप, स्थूल, स्पूmर्ति आदि ।
२.३.५ शब्दमध्यमा दीर्घ ई वा ऊ हुने शब्दहरू
२.३.५.१ भू र कृ धातुुबाट बनेका भवन, भूत, करण, कृत, भाव, कारभन्दा अगिको शब्दको (त्यसबाट हुने÷गरिने वा भएको÷गरिएको भन्ने अभिप्रायमा ‘ई’ प्रत्यय लागी बनेको ) ई दीर्घ लेख्ने । जस्तै ः समीभवन, समीकरण, समाजीकरण, एकीकरण, केन्द्रीकरण, सबलीकरण, केन्द्रीभूत, उष्मीभूत, स्वीकृत, एकीभाव, स्वीकार, अङ्गीकार आदि ।
२.३.५.२ ईय, ईन, अनीय, तीय प्रत्यय लागेका शब्दको इकार दीर्घ लेख्ने, जस्तै ः केन्द्रीय, प्रान्तीय, भवदीय, संसदीय, स्वर्गीय, वर्गीय, दलीय, प्राचीन, नवीन, ग्रामीण, सर्वाङ्गीण, माननीय, स्मरणीय, रक्षणीय, आदरणीय, कथनीय, दयनीय, पठनीय, द्वितीय, तृतीय, भवदीय आदि । अपवाद ः राष्ट्रिय, इन्द्रिय, क्षत्रिय, श्रोत्रिय, गोत्रिय शब्दमध्यका इकार ह्रस्व लेख्ने ।
२.३.५.३ अन्य केही तत्सम शब्दका बिचमा आउने इकार वा उकार दीर्घ लेख्ने । जस्तै ः अजीव, अव्रmूर, अपूर्ण, अमूल्य, सङ्कीर्ण, विपरीत, परीक्षा, सम्पूर्ण, प्रतीक्षा, प्रतिकूल, अतीत, प्रतीक, त्रिशूल, विभीषण, शरीर, समीक्षा, दीक्षा, अभीष्ट, भगीरथ, विदूषक, समीर, सुग्रीव, उद्दीपन, कुतूहल, कस्तूरी, पीयूष आदि ।
२.३.६ शब्दान्तमा दीर्घ ई वा ऊ हुने शब्दहरू
२.३.६.१ अन्त्यमा मती, वती प्रत्यय लागेका शब्दहरू दीर्घ लेख्ने । जस्तै ः श्रीमती, रूपवती, अमरावती, भगवती, सौभाग्यवती, कान्तिमती, गर्भवती आदि ।
२.३.६.२ स्त्रीलिङ्गी शब्दहरू दीर्घ लेख्ने । जस्तै ः देवी, भागीरथी, ईश्वरी, लक्ष्मी, कामिनी, पार्वती, गौरी, वधू आदि ।
२.३.६.३ अन्त्यमा ‘वी’, ‘ई’ प्रत्यय लागेका शब्दहरू दीर्घ लेख्ने । जस्तै ः तेजस्वी, यशस्वी, मायावी, मेधावी, ओजस्वी, तपस्वी, संयमी, विद्रोही, स्वामी, गुणी आदि ।
२.३.७ हलन्त र अजन्त सम्बन्धी
अन्त्यमा वत्, वान्, मान्, मान्, क्, ग्, ट्, त्, द्, न्, प्, म् आउने केही शब्द हलन्त लेख्ने । जस्तै ः पूर्ववत्, विद्वत्, यावत्, दण्डवत्, भ्रातृवत्, भगवान्, विद्वान्, ऋक्, प्राक्, पृथक्, दिक्, ऋग्, सम्राट्, जगत्, अर्थात्, अकस्मात्, साक्षात्, पश्चात्, विद्युत्, विपत्, आपत्, संसद्, सभासद्, बृहत्, भाषाविद्, महान्, अनुष्टुप्, स्वयम्, शुभम्, एवम्, अहम्, स्वागतम् आदि ।
२.३.८ ब र व सम्बन्धी
२.३.८.१. शब्दादिमा बन्ध, ब्रह्म, बृह, बहिस्, बहु, बाध, बाल, बुध, आएका शब्दमा ‘ब’ लेख्ने । जस्तै ः बन्धु, बन्ध, बद्ध, ब्रह्मा, ब्राह्मी, ब्राह्मण, बहिरङ्ग, बहिष्कार, बृहस्पति, बहुव्रीहि, बहुमत, बहुरङ, बाधक, बाध्य, बालक, बालिका, बुध, बुद्ध, बोध, बोधार्थ आदि ।
२.३.८.२ ‘म’ पछि र द्, ध् भन्दा पहिले आएमा (ब) लेख्ने । जस्तै ः अम्बिका, चुम्बक, सम्बन्ध, अम्बर, शब्द, शताब्दी, स्तब्ध, क्षुब्ध, लब्ध, अब्धि, उपलब्धि आदि ।
२.३.८.३ संस्कृतका वद्, वञ्च, वृ, वच्, विद्, विश्, वह्, विच्, वृत्, जीव् धातुबाट बनेका शब्दमा ‘व’ लेख्ने । जस्तै ः वाद, वदन, वञ्चन, वञ्चित, वृत, परिवृत, संवृत, वरण, संवरण, वर, वचन, वाच्य, वक्ता, वक्तव्य, वाक्य, प्रवचन, वाचन, विद्या, विद्वान्, विद्वत्ता, वेद, वेदना, निवेदन, प्रवेश, प्रविष्टि, आवेष्टन, आवेग, वाहक, वहन, प्रवाह, वृत्ति, वर्तन, वार्तिक, जीवन, जीवित, जीविका आदि । संंस्कृतमा नै व र ब दुवै वैकल्पिक रूपमा चलेका शब्दमा ‘ब’ लेख्ने । जस्तै ः बाण, बिन्दु, बिम्ब, बेला (कुबेला, सुबेला) बार (आइतबार, बुधबार), बिना संस्कृत तत्सम शब्द भएकाले यिनलाई तत्सम वर्ण विन्यासअनुसार नै ‘ब’ मात्र लेख्ने ।
२.३.८.४ अव, वि, उपसर्गमा ‘व’ लेख्ने । जस्तै ः अवहेलना, अवकाश, अवगत, अवचेतन, अवतार, अवनति, अवरोध, विकास, विकल, विव्रmेता, विकिरण, विज्ञान, विधान, विधाता, विवेक, विवाद, विरोध, विराग, विशेष आदि ।
२.३.८.५ तव्य, त्व, वत्, वान्, वती प्रत्यय लागेका शब्दमा ‘व’ लेख्ने । जस्तै ः गन्तव्य, भवितव्य, वक्तव्य, नेतृत्व, स्वत्व, सतीत्व, पूर्ववत्, आत्मवत्, गुणवान्, दयावान्, धनवान्, पुत्रवती, गर्भवती, भगवती, गुणवती, मेधावी आदि ।
२.३.८.६ संयुक्त अक्षरमा व उच्चारण हुने ठाउँमा ‘व’ नै लेख्ने । जस्तै ः स्वर, स्वैर, स्वस्ति, श्वास, विश्व, स्वामी, स्वाद, स्वेच्छा आदि ।
२.३.९ य र ए प्रयोग
२.३.९.१ निम्न लिखित शब्दमा ‘य’ लेख्ने । जस्तै ः यज्ञ, यम, यक्ष, यत्र, यान, योग, याचना, यात्रा, योजना, यन्त्र, वायु, युवा, प्रत्येक, जयेन्द्र, ध्येय, विजय, अविजेय, गेय, प्रणेय आदि ।
२.३.९.२ निम्न लिखित शब्दमा ‘ए’ लेख्ने । जस्तै ः एक, एतत्, एकान्त, एवम्, एकता, एकीभूत आदि ।
२.३.१० ‘क्ष’ सम्बन्धी प्रयोग
निम्न लिखित शब्दमा ‘क्ष’ लेख्ने । जस्तै ः रक्षा, अध्यक्ष, लक्ष्य, नक्षत्र, पक्ष, प्रतीक्षा, क्षण, अक्षता, शिक्षा, शिक्षक, कक्षा, क्षय, मोक्ष, दक्ष, पक्षघात, परीक्षा, क्षत्रिय, क्षेत्रीय, प्रक्षेप, आक्षेप, क्षेप्यास्त्र, विक्षेप, क्षेम, अक्षर, कक्षा, क्षितिज, चक्षु आदि । तत्सम शब्दमा मात्र ‘क्ष’ को प्रयोग हुने गर्छ तर तद्भव र आगन्तुकमा यसको प्रयोग हुँदैन ।
२.३.११ ‘ऋ’ सम्बन्धी प्रयोग
निम्न लिखित शब्दमा ‘ऋ’ लेख्ने । जस्तै ः ऋक्, ऋग्वेद, ऋद्धि, ऋतु, ऋण, ऋषि, ऋचा, ऋकार, कृति, कृषि, कृतज्ञ, गृह, घृत, घृणा, भृकुटी, मृत, मृग, कृष्ण, तृण, नैर्ऋत्य, वृत्ति आदि । तत्सम शब्दमा मात्र ‘ऋ’ को प्रयोग हुन्छ तर तद्भव र आगन्तुकमा यसको प्रयोग हुँदैन ।
२.३.१२ ‘ज्ञ’ सम्बन्धी प्रयोग
तलका तत्सम शब्दमा ‘ज्ञ’ लेख्ने । जस्तै ः यज्ञ, प्रज्ञा, प्राज्ञ, ज्ञाता, ज्ञान, आज्ञा, विज्ञान, प्रतिज्ञा, अनभिज्ञ, ज्ञानी, जिज्ञासा, जिज्ञासु, विज्ञ, विज्ञापन, साम्राज्ञी, युवराज्ञी आदि । तत्सम शब्दमा मात्र ‘ज्ञ’ को प्रयोग हुन्छ । तद्भव र आगन्तुकमा यसको प्रयोग हुँदैन ।
२.३.१३ श÷ष÷स सम्बन्धी
२.३.१३.१ शस्, शिष्, शास्, शुचुच्, शुुष्, दृश्, श्रु, शुभ्, श्वस्, शिक्ष्, शंस् आदि धातुबाट बनेका शब्दमा ‘श’ लेख्ने । जस्तै ः शस्त्र, शस्य, शिष्य, शेष, शिष्ट, विशिष्ट, शासन, शास्त्र, शरभ, शासक, शासन, शुचि, शुष्क, शोषित, दर्शन, दर्शक, दृश्य, श्रुति, श्रवण, श्रावण, शुभ, शोभा, शोभित, श्वास, विश्वास, प्रशंसा, शिक्षक, शिक्षा, शिक्षण आदि ।
२.३..१३.२ ऋ, च, र, ल भन्दा पहिले सामान्यतः ‘श’ लेख्ने । जस्तै ः पश्चात्, पश्चिम, निश्चय, आश्चर्य, पाश्चात्य, शृङ्गार, विश्राम, आश्रम, अश्रु, श्लेष, श्लिष्ट आदि ।
२.३.१३.३ निम्न लिखित शब्दका अन्तमा ‘श’ लेख्ने । जस्तै ः अक्षरशः, व्रmमशः, प्रायशः, शतशः, सहस्रशः आदि ।
२.३..१३.४ निम्न लिखित शब्दमा ‘श’ लेख्ने । जस्तै ः शशी, शिशु, शैशव, शशाङ्क, शाश्वत, शकुन्तला, ईश, गणेश, शालग्राम, श्याम, राशि, श्रेष्ठ, शूद्र, त्रिशूल, श्राप, आशुकवि, शोभन, वैशाख, यशोधरा, शिशिर, वैश्य, शुश्रूषा, आशा, शक्ति, शीत, आशीर्वाद, केश, कोश, विश्व, विश्वास, आदि ।
२.३.१३.५ कृष्, पुष्, भाष्, भूष्, शिष्, शुष् धातुबाट बनेका शब्दमा ‘ष’ ष्लेख्ने । जस्तै ः कृषि, आकर्षण, कृषक, निकृष्ट, पुष्टि, पोषण, पोषित, पौष, पौष्य, भाषा, भाषण, भूषण, भूषित, आभूषण, शिष्ट, शिष्य, शुष्क, शोषण, शोषक आदि ।
२.३.१३.६ क, ट, ठ, ड, ढ, ण, प भन्दा पहिले ‘ष’ लेख्ने । जस्तै ः निष्कर्म, पुष्कर, मस्तिष्क, बहिष्कार, परिष्कार, निष्कलङ्क, दृष्टि, स्पष्ट, नष्ट, धृष्ट, पृष्ट, काष्ठ, ओष्ठ, गरिष्ठ, वरिष्ठ, निष्ठा, षोडश, आषाढ, विष्णु, कृष्ण, तृष्ण, पुष्प, पुष्पा आदि ।
२.३.१३.७ निम्न लिखित शब्दहरूमा ‘ष’ लेख्ने । जस्तै ः ईष्र्या, भेष, कोष, ऋषि, भीष्म, ग्रीष्म, हर्ष, वर्षा, वर्ष, उत्कर्ष, निमेष, पे्रषक, विषाद्, विष, भेष, द्वेष, ऊष्म, विषय, आशिष् आदि ।
२.३.१३.८ स, सु, सत्, सम्, सह, स्व, स्वयम् जोडिएका शब्दमा ‘स’ लेख्ने । जस्तै ः सफल, सगोल, सपत्नी, सचेत, सबल, सस्नेह, सादर, सकाम, सुनील, सुशील, सुयोग्य, सुभाषित, सुपात्र, सुवर्ण, सुयोग, सुशान्त, सुयश, सुवास, सत्कार्य, सदिच्छा, सद्गति, सत्प्रयास, सदाचार, सद्भावना, सन्मार्ग, सम्पत्ति, संस्कार, समीक्षा, सम्पादक, संयुक्त, सङ्गोष्ठी, सङ्क्षेप, सम्मुख, सहप्राध्यापक, सहसचिव, सहयोग, सहकार्य, सहकार, सहचार्य, सहसम्पादक, स्वकर्म, स्वकीय, स्वचालित, स्वच्छ, स्वच्छन्द, स्वरूप, स्वर्ग, स्वर्ण, स्वयम्भू, स्वयंवर आदि ।
२.३..१३.९ स्था, स्मृृ, स्तु, स्फुट्, स्ना आदि धातुबाट बनेका शब्दमा ‘स’ लेख्ने । जस्तै ः स्थान, स्थापत्य, स्थित, प्रस्थान, उपस्थिति, स्मरण, स्मृति, स्मारक, स्तुति, स्फुरण, स्फूर्ति, स्नातक, स्नान, स्नायु आदि ।
२.३.१३.१० निम्न लिखित शब्दमा ‘स’ लेख्ने ः साक्षात्, साक्षी, तेजस्वी, रजस्वला, राजसी, प्रयास, मस्तक, रहस्य, हिंसा, साहस, मास, मांस, वासुदेव, सरस्वती, असीमित, उत्सुक, प्रहसन, रस, पुस्तक, शासन, नमस्कार, स्पर्श, स्त्री,
साधु, स्तन, सघन आदि । द्रष्टव्य ः तत्सम शब्दमा श, ष, स को प्रयोग हुन्छ तर आगन्तुक र तद्भव शब्दमा ‘स’
को मात्र प्रयोग हुन्छ ।
३. विविध
३.१ एकोे, नु अन्त्यमा आउने कृदन्त शब्दका पछाडि ले, मा विभक्ति लाग्दा तिर्यक् रूप लेख्ने । जस्तै ः भएको + ले = भएकाले, पढेकाले, खाएकाले, बोलाएकाले । गर्नु + ले = गर्नाले, भन्नाले, खेल्नाले, देख्नाले । भएको + मा = भएकामा, पढेकामा, खेलेकामा, हाँसेकामा । अन्यत्र चाहिँ तिर्यक् रूप नलेखी यथावत् लेख्ने ः गर्नु + को = गर्नुको, पढ्नुको, लेख्नुको, भन्नुको । गर्न + लाई = गर्नलाई, पढ्नलाई, लेख्नलाई, भन्नलाई । गर्न + बाट = प्रगति गर्नबाट आदि ।
३.२ विभक्तियुक्त सर्वनामलाई तिर्यक् रूपमा लेख्ने । जस्तै ः यसले, त्यसलाई, उसले, यिनले, तिनको, तैँले, मैले आदि ।
३.३ विशेषण(भेदेदक)का रूपमा सर्वनाम आउँदा विशेष्यमा विभक्ति भए विशेषण (सर्वनाम) लाई पनि तिर्यक् रूपमा लेख्ने । जस्तै ः त्यस मान्छेलाई, यस केटाले, मेरा छोरालाई, हाम्रो घर, तेरा भाइलाई, तिम्रा साथीबाट, उसका किताबहरू, उनकी बहिनी, उनका खेलौनाहरू आदि ।
४ लेख्य चिह्नको प्रयोग
नेपाली भाषामा निम्न लिखित चिह्नहरूको प्रयोग हुन्छ ः
४.१ पूर्ण विराम (।) ः वाक्यको अन्त्य हुँदा पूर्ण विराम चिह्न प्रयोग गर्ने, जस्तै ः राम घर गयो । तिमी भात खाएर स्कुल जाऊ । नेपाली भाषाको संरक्षण गर्ने दायित्व हामी सबैको हो । पाठ्य सामग्रीमा वाक्य पुरा भएपछि मात्र पूर्ण विराम चिह्न प्रयोग गर्नुपर्छ । कुनै बुँदा प्रस्तुत गर्दा वा अपूर्ण वाक्य प्रस्तुत गर्दा पूर्ण विरामको प्रयोग नगर्ने, जस्तै ः पाठ्यव्रmम विकास केन्द्रले पाठ्य पुस्तकको विकास गर्छ । (पूर्ण विराम) पाठ्यव्रmम विकास केन्द्रका उद्देश्य निम्न लिखित छन् ः पाठ्यव्रmम निर्माण गर्नु (पूर्ण विराम नहुने), पाठ्य पुस्तक विकास गर्नु (पूर्ण विराम नहुने) ।
४.२ अल्प विराम (,) ः अल्प विराम भनेको आंशिक विश्राम हो । वाक्यमा एकभन्दा बढी प्रकारका पद, पदावली, उपवाक्य आदिलाई छुट्याउन, संयोजक प्रयोग नभएका ठाउँमा, संयुक्त वाक्यमा र कथयिता अंशको पछाडि अल्प विराम चिह्न प्रयोग गर्ने, जस्तै ः राम, श्याम, रवि, रमा र रश्मि विराटनगर गए । रवि अत्यन्त विचारशील, गम्भीर, सक्षम र कुशल प्रशासक हुन् । रविले भात खायो, लुगा लगायो र किताब बोकेर विद्यालय गयो । दिदी, दाजु दुवै आए ।
४.३ अर्ध विराम ( ; ) ः अल्प विरामभन्दा बढी र पूर्ण विरामभन्दा कम विश्राम हुँदा अर्ध विराम चिह्न प्रयोग गर्ने, जस्तै ः
१. मानवता नैतिकताको नाम होस बहादुरीको नाम हो र विश्वासको नाम हो । २. राम्ररी पढूँ; धन कमाऊँस सुखी बनूँ; सबैका साझा इच्छा हुन् । पूर्ण विरामले वाक्यहरूलाई एकअर्काबाट विच्छेदित गर्छ भने अर्ध विरामले ती वाक्यहरूलाई सापेक्ष बनाउँछ । पूर्ण विरामपछि कुनै कुराको उदाहरण दिँदा उदाहरणार्थमा सापेक्ष वा निर्देश चिह्नभन्दा अर्ध विराम चिह्न प्रयोग गर्नु उचित हुन्छ । अर्ध विरामले लामा वाक्यमा वाक्य सरह नै प्रयोग भएको उपवाक्यलाई छुट्याउने काम गर्छ । एउटै वाक्यमा शब्द, पदावली र उपवाक्य छुट्याउनुपर्दा शब्द र पदावली छुट्याउन अल्प विराम र उपवाक्य छुट्याउन अर्ध विराम प्रयोग गर्न सकिन्छ ।
४.४ निर्देश चिह्न ( ः ) ः कुनै विषयको निश्चित सूचना दिँदा निर्देश चिह्न प्रयोग गर्ने, जस्तै ः नेपालका तिन प्रमुख नदी हुन् ः कोसी, कर्नाली र गण्डकी । तलका कुनै एक विषयमा निबन्ध लेख ः (क) हिमाल (ख) दसैँ । यसलाई अपूर्ण विराम र सापेक्ष विराम पनि भनिन्छ ।
४.५ प्रश्नवाचक चिह्न (?) ः जिज्ञासा प्रकट गर्दा वा सोध्दा प्रश्नवाचक चिह्न प्रयोग गर्ने, जस्तै ः तिम्रो नाम के हो ?
नवीन कहिले आउँछ ?
४.६ विस्मयसूचक चिह्न ( ! ) ः आश्चर्य, घृणा, हर्ष, बिस्मात आदि विशेष भाव बुझाउन विस्मय सूचक चिह्न प्रयोग गर्ने, जस्तै ः आहा ! कति राम्रो फुल ! छि ! के प्याट्ट कुटेको ! हजुर ! एक पैसा पाऊँ न ! वाक्यको पछाडि विस्मय सूचक चिह्न राख्दा भने वाक्य नै विस्मयसूचक हुन्छ । जस्तै ः ऊ पास भएछ र !
४.७ योजक चिह्न (–) ः पारस्परिक अर्थ जनाउने समस्त वा द्वित्व शब्दहरूका बिच र पङ्क्तिका अन्त्यमा शब्द नअटेमा टुक््रयाउनुपर्दा योजक चिह्न प्रयोग गर्ने, जस्तै ः नेपाल–चिन सम्बन्ध, सङ्कटा–ठमेल भिडन्त, नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यव्रmम विकास केन्द्र– (शब्द एकै डिकोमा नअट्दा मात्र) ले पाठ्य पुस्तक विकास गर्छ ।
४.८ कोष्ठक चिह्न ( ) ः अर्थ स्पष्ट पार्न र व्रmम जनाउन कोष्ठक चिह्न प्रयोग गर्ने, जस्तै ः भ्यागुतो उभयचर (जमिन र पानी दुवैमा बस्ने प्राणी) हो । जस्तै ः (१) (२) (३) (४) ...
४.९ उद्धरण चिह्न (“ ”÷ ‘ ’ )ः अरू कसैको भनाइ उल्लेख गर्दा, ग्रन्थ, पुस्तक, पत्र पत्रिका, पुरस्कार आदिलाई विशेष जोड दिइएको जनाउँदा उद्धरण चिह्न प्रयोग गर्ने, जस्तै ः – ग्रन्थ, पुस्तक, पत्र पत्रिका, पुरस्कार आदिमा एकल उद्धरण चिह्न ‘दिव्योपदेश’ ‘मधुपर्क’, ‘मदन पुरस्कार’ । –कसैको भनाइ उल्लेख गर्दा दोहोरो उद्धरण चिह्न ः देवकोटाले भने, “मेरो मुना मदन नजलाउनू ।” –भनाइभित्रको विशेष शब्द एकल उद्धरण चिह्नमा ः समले भने, “देवकोटाको उत्कृष्ट कृति ‘मुना मदन’ हो ।” –कुनै शब्दलाई जोड दिँदा एकल उद्धरण चिह्न ः ‘बन्द’ विरोधको सही तरिका होइन ।
५. लिपि चिह्नको प्रयोग
५.१ एउटै पाठ्य सामग्रीभित्र सकभर वैकल्पिक लिपिहरूको प्रयोग नगर्ने । उदाहरणार्थ ः ‘झ’ को प्रयोग गरे पाठ्य सामग्रीभरि नै यस्तै ‘झ’ लेख्ने, झ को प्रयोग गरे पाठ्य सामग्रीभरि नै यस्तै झ लेख्ने ।
५.२ संयुक्त वर्णहरूको प्रयोग गर्दा पनि भरसक वर्णहरूको अलग पहिचान हुने लिपि चिह्नको प्रयोगमा जोड दिने, जस्तै ः
क्त = क्त, भद्दा = भद्दा, विद्या = विद्या, उद्धार = उद्धार आदि ।
अब यसै वर्ण विन्यासको नियमानुसार विद्यालय र क्याम्पस स्तरको पाठ्यपुस्तक प्रकाशन भइराखेकाले निकट भविष्यमा नै सबै क्षेत्रमा एकै नासको वर्ण विन्यास लागू हुने प्रवल सम्भावना छ । हुन त यस बारेमा पनि थुप्रै विद्वान्हरूका विवादहरू सार्वजनिक भएका छन् । कक्षा ११ को ‘सबैको नेपाली’ पुस्तक यही नवीन धार भएर प्रकाशनमा आउँदा पढाउने गुरुले समेत विरोध गर्दै पढाए । प्रज्ञा प्रतिष्ठानमा विभिन्न समयमा भाषिक गोष्ठी समेत भए । केही भाषाविज्ञ र अनुरागीहरूले निजी सक्रियतामा सम्मेलन गरी ललितपुर घोषणा समेत जारी गरे । विवादै, विवादका बाबजुत पनि मन्त्री परिषद्बाट पारित यो वर्ण विन्यास व्यवस्था तुलनात्मक रूपमा सरल भए पनि पुरानो ढाँचा पक्रिसकेकाहरूलाई अहिले निक्कै गाह्रो भइरहेको छ । सबैले प्रयोग गर्दै गए यही सरल र सफल हुन जान्छ भन्दै बिदा हुन्छु । धन्यवाद !
हिज्जेमा भाँडभैलो
- शरच्चन्द्र वस्ती
हिज्जे वा वर्णविन्यास भाषा होइन तर नेपालीमा गुरुहरूले यस्तो छाप पार्दै आएका छन् मानौं भाषा भनेकै ह्रस्व-दीर्घ, श-ष-स, ब-व आदिको प्रपञ्च बाहेक केही होइन। बितेका चार दशकमा नेपालमा सम्पन्न नेपाली भाषा सम्बन्धी सानाठूला सबैजसो गोष्ठी र कार्यशालाहरू मूलतः हिज्जे र व्याकरणकै सेरोफेरोमा केन्द्रित देखिएका छन्। पत्रपत्रिकामा छापिने गुरुवर्गका लेखहरूको विषयवस्तु मुख्यतः यसैमा सीमित रहने गरेको छ।
दुःखलाग्दो कुरा के भने यति गहन र सुदीर्घ गोरखधन्दाका बावजूद हिज्जेका समस्या भने घट्नु वा सुल्भि्कनुको सट्टा बढ्दै, विस्तारित हुँदै र झन् झन् जेलिंदै मात्र गएका छन्। भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, देशभित्र-बाहिर एकनासले प्रचलित, शुद्ध-स्वाभाविक हिज्जेलाई थोकको भाउमा जबरजस्ती परिवर्तन गर्न खोज्ने अनधिकार चेष्टाले भाषामाथि अन्याय भएको छ र प्रयोगकर्ताहरू अन्योलको भुमरीमा परेका छन्। परम्परागत लेखन प्रणालीमा अकस्मात् हस्तक्षेप गरी बलपूर्वक लागू गर्न खोजिएका कतिपय कृत्रिम नियमले नेपाली भाषामा बृहत् अव्यवस्था निम्त्याएका मात्र होइन, यसलाई संकुचित र कमजोर समेत बनाउँदै लगेका छन्। यो भुमरी र यो अव्यवस्थाबाट मुक्त हुन अब प्रयोगकर्ताले आफैं पहल गर्नुपर्ने भएको छ।
हाँडीगाउँको जात्राअव्यवस्थाको एउटा बान्की हेरौं। कुश, कोश, अंश, वंश, शेष, शैली, कुशल, शिविर, शिशिर जस्ता शब्दमा लेखिंदै आएको मोटो श जस्ताको तस्तै छ तर जोश, होश, खुशी, शेखी, शर्त, शहर, शिकार, कोशिश, शेयर, फेशन, शोरूम, शेक्सपियर जस्ता शब्दमा रहेको मोटो श लाई जबरजस्ती पातलो बनाइएको छ। नीति, सीमा, नीर, तीर, समीप, गम्भीर, असीम, कुलीन अनि पूर्व, मूर्ख, चूर्ण, सूत्र, उन्मूलन, राजदूत जस्ता शब्दमा रहेका इकार-उकार यथावत् छन्। परन्तु ठीक, बीच, भीड, जीत, जीप, सीट, चीट, टीम, मीटिङ, करीब, गरीब, जमीन, वकील, अपील अनि छूट, लूट, झूट, बूट, तूफान, फूटपाथ, फूटबल, नमूना, सपूत, कानून, स्कूल, मजदूर, कार्टून जस्ता शब्दमा लेखिंदै आएका दीर्घ इकार-उकारलाई बलजफ्ती ह्रस्व बनाइएको छ। 'भूल' लाई अस्वीकार गरेर ('भुल' लेख्नुपर्ने अरे!) 'मूर्खता' लाई शिरोपर गरिएको छ। प्रश्न उठ्छ, पुस्तौंदेखि एक प्रकारले लेखिंदै आएका हजारौं शब्दमध्ये केहीलाई त्यसैगरी लेख्दा ठीक हुने, केहीलाई चाहिं हिज्जे बिगारेर मात्र लेख्न पाइने यो 'हाँडीगाउँको जात्रा' किन? भाषाको भंगिमा त त्यसका प्रयोगकर्ताहरूद्वारा निर्धारित हुन्छ; नेपाली भाषाको चरित्रमा यसका प्रयोगकर्ताहरूले सुइँकै नपाई रातारात त्यस्तो के परिवर्तन भएछ जसका कारण यो जात्रा शुरू गर्नुपर्यो? जवाफका रूपमा, लोकमतसँग सरोकार नराख्ने शाही अध्यादेश जस्तो प्रतीत हुने एउटा जंगी नियम उभिएको छ जसले उर्दी गर्छ- ''संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै लेख्ने तर अन्य भाषाबाट आएका त्यस्तै शब्दमा चाहिं शुरू र बीचमा रहेको दीर्घ इकार-उकार हटाएर ह्रस्व मात्र लेख्ने, श-ष हटाएर पातलो स मात्र लेख्ने।'' यो जात्रा, यो अव्यवस्था यसैको करामत हो। यसले भन्छ- 'शरीर' शब्द संस्कृतबाट आएको हो त्यसैले यसमा रहेको मोटो श र दीर्घ इकारलाई ससम्मान स्वीकार गर्नुपर्छ ; 'शहीद' शब्द संस्कृतबाट आएको होइन त्यसैले यसमा रहेको मोटो श लाई पातलो अनि दीर्घ इकारलाई ह्रस्व बनाएर 'सहिद' मा विरूपीकरण गरेपछि मात्र मान्यता दिन सकिन्छ। यही हो नेपाली भाषाको मौलिकता र विशेषता!
जातिवादी चाँजोपाँजोसाँच्चै यही हो त नेपाली भाषाको परिचय? यो संकीर्ण र विभेदमुखी चरित्रको, जड भाषा हो त? कदापि होइन। यो त एकदमै जीवन्त, गतिशील र उदार भाषा हो। माउ भाषा संस्कृत भए पनि यसमा देशभित्र र बाहिरका, छरछिमेक र सात समुद्र पारिका समेत अनेकौं भाषाका शब्द आएका छन् र भविष्यमा त झन् बढी आउनेछन्। संस्कृतबाट आएका शब्दलाई काखमा र अन्य भाषाबाट आएका शब्दलाई पाखामा राख्नुपर्ने क्षुद्र, छुवाछुतवादी, साम्प्रदायिक मान्यता बोकेको भाषा होइन यो। समावेशिता र सबैको पहिचानलाई सम्मान गर्ने प्रवृत्ति नेपाली भाषाको नैसर्गिक गुण हो, राज्य त भर्खर मात्र यसमा प्रवेश गर्न खोज्दैछ। तर, जानेर हो वा नजानेर, 'विज्ञ'हरूको फाँटबाट नेपाली भाषालाई जातिवादी कित्तातिर धकेल्ने दुश्चेष्टा भएको छ। संस्कृतबाट आएका शब्दलाई 'तत्सम' र 'तद्भव' को वर्गमा अनि अन्य भाषाबाट आएका शब्दलाई 'आगन्तुक' को छुट्टै वर्गमा राख्ने चाँजोपाँजो मिलाउनु यसैको प्रमाण हो। तत्सम र तद्भवलाई 'उच्च जातको चुलोचौको' घोषित गर्दै संस्कृत-इतर भाषाबाट आएका शब्दलाई त्यहाँ प्रवेश निषेध गरिएको छ। अनि, छरछिमेक र समुद्रपारिबाट आएका मात्र होइन मैथिली, अवधी, भोजपुरी, 'नेपाल', राई, लिम्बू, तामाङ, मगर, गुरुङ लगायत हामै्र राष्ट्रिय भाषाबाट आएका र भविष्यमा आउने शब्दलाई समेत (चाहे ती जस्ताको तस्तै आऊन् अथवा रूप फेरिएर) आगन्तुक अर्थात् बाहिरिया घोषित गरेर तिनको ठाउँ तल अगेनाछेउ वा दलानमा तोकिएको छ। (जातिवादी नियत नराख्ने हो भने संस्कृत लगायत सबै भाषाबाट आएका शब्दलाई तत्सम र तद्भव अन्तर्गत समेट्न सकिन्छ। पंचायतकाल शुरू भएपछि बनाइएको आगन्तुक भन्ने बेग्लै वर्ग आवश्यक पर्दैन।) र, यही वर्गीकरणलाई मुख्य आधार बनाएर नेपाली भाषामाथि यसको प्रकृति, प्रवृत्ति र चरित्र विपरीत जातिवादी प्रकृतिका अनेकौं नियम-उपनियमहरू लाद्ने प्रचेष्टा गरिएको छ। हिज्जे सम्बन्धी अन्योल र भद्रगोल सृजना गर्न सर्वाधिक भूमिका खेल्ने भर्खरै उल्लिखित जंगी नियम तिनैमध्ये एक हो। त्यसैले, यो चर्चा यसैको सेरोफेरोमा केन्द्रित छ।
भ्रमको खेतीविभेदमुखी जगमा खडा गरिएको यो नियम नेपालीमा श-ष र दीर्घ इकार-उकार उच्चारण नै हुँदैनन् भन्ने उदेकको मान्यता बोकेर उभिएको छ। उच्चारण नहुने भएकाले (उच्च जातको चुलो-चौकोमा पस्न पाउने शब्दमा बाहेक) नेपाली भाषाको कुनै पनि शब्दमा यी वर्ण र मात्रा नलेख्नू भन्ने यसको आदेश छ। यसको निष्कर्ष छ- एउटै पातलो स ले काम चल्छ भने श-ष को भारी किन बोकिरहने? ह्रस्व इकार-उकारले नै पुग्छ भने दीर्घको झमेला किन बेसाइरहने? प्रश्न स्वाभाविक छ : कति सही र तर्कसंगत छन् त यी कुरा?पहिलो कुरा, शतप्रतिशत उच्चारणकै आधारमा लेख्नुपर्छ र लेखिन्छ भन्नु गलत हो। भाषामा लेखन र उच्चारणका बेग्लाबेग्लै परम्परा हुन्छन्। एउटाका आधारमा अर्कालाई बिथोल्न पाइँदैन। त्यसमाथि, हाम्रो उच्चारण प्रणाली त्यति बोधो र त्यति कमजोर छैन जसमा श-ष र दीर्घ इकार-उकार उच्चारण नै हुने नगरेको होस्। उदाहरणका लागि निश्छल, दुष्ट र पुस्तक शब्द उच्चारण गरी हेर्नोस्, तीन प्रकारका स अनायास बेग्लाबेग्लै किसिमले उच्चारण भइरहेको स्वयम् अनुभव गर्नुहुनेछ। जिब्रो स्वतः अलग-अलग ठाउँमा ठोकिनेछ, हावाको घर्षण बेग्लाबेग्लै तवरले हुनेछ अनि अलिकति ध्यान दिनासाथ तीनवटै स को फरक व्यक्तित्व तपार्इंको कानले सहजै ठम्याउनेछ। ह्रस्व-दीर्घको मामिला झन् स्पष्ट छ। सामान्य अवस्थामा 'चिसोचिसै छ' भनिरहेका हामी सिरेटो चलेर काम्न थालेपछि त्यही इकारलाई दीर्घ बनाएर 'चीसो भयो' भन्न थालिहाल्छौं। देवकोटाको पंक्ति 'जरूर साथी, म पागल!' वाचन गर्नेले जरूर को रू लाई ह्रस्व उच्चारण गर्नै सक्तैन, किनभने सिंगो कविताको तेज समेटिएको त्यस पंक्तिको ओज र दम त्यही एउटा दीर्घ रू मा संकेन्द्रित छ। उच्चारण भइरहेका, सुनिइरहेका वर्ण र मात्राहरू कसैले छैनन् भनिदिंदैमा 'शून्यमा शून्यसरी' बिलाउने त होइनन् होला! दोस्रो कुरा, 'उच्चारण नहुने' देखिएछ नै भने पनि त्यत्तिको निहुँमा कुनै वर्ण वा मात्रा लेख्न छोडिंदैन। बेहुलो मा ह को उच्चारण नगरेर धेरैले 'बेउलो' किन नभनून्, त्यहाँ ह लेख्न पाइँदैन भन्ने उर्दी कसैले दिन सक्तैन। ह्रस्वमुखी उन्मादमा आधारित यही नियमले पनि सर्दी, गर्मी, रोजगारी, इमानदारी जस्ता शब्दको अन्त्यमा आउने दीर्घ इकार-उकारलाई ह्रस्व बनाउने आँट गर्दैन, जस्ताको तस्तै छोड्छ। उच्चारण नहुने भनिएको वर्ण र मात्रा अन्त्यमा लेख्न हुने, शुरू र बीचमा चाहिं नहुने भन्ने लंगडो तर्क के खाएर पचाउने? पदान्त दीर्घलाई परम्परा मानेर मान्यता दिने हो भने शुरू र बीचका दीर्घ इकार-उकार अनि श-ष पनि त्यही परम्पराका अंग होइनन्? तिनलाई लेख्न के आधारमा बन्देज गर्ने?रह्यो तेस्रो कुरा। एउटै पातलो स अनि ह्रस्व इ-उ मात्रले काम चल्छ भने श-ष र दीर्घ इकार-उकारको बोझ किन बोकिरहने भन्ने जिकिर, एउटै आँखो र एउटै कानले काम चल्छ भने अर्को आँखो फुटाएर र कान काटेर तिनको बोझबाट किन मुक्त नहुने भन्ने तर्क जस्तै हो। यस्तो 'बुद्धिमत्तापूर्ण' प्रयोग आफ्नो नितान्त व्यक्तिगत शरीरमा त कसैले गर्न चाहँदैन भने वर्णमाला जस्तो महत्तम सार्वजनिक सम्पदाका अमूल्य अवयवलाई नृशंसतापूर्वक काटेर कसरी फ्याँक्न सकिन्छ?
कमजोर तर्क'उच्चारण हुँदैनन्' भन्ने तर्क भुत्ते भएपछि 'अर्थभेदक छैनन्' भन्ने भाइतर्क अघि सार्ने गरिएको छ। यसका अनुसार, श-ष र दीर्घ इकार-उकारले उच्चारणका आधारमा अर्थको भिन्नता दर्शाउन सक्तैनन् त्यसैले तिनको काम छैन अरे! क्या फसाद? उच्चारणबाट अर्थको फरक छुट्टिंदैन भने कम्तीमा लेखाइबाट मात्र भए पनि फरक छुट्टियोस् भन्नेतिर लाग्ने कि लेखाइमा पनि फरक मेटाइदिने? उच्चारणबाट फूल र फुल, शहर र सहर (माछा) बीचको फरक छुट्टिएन भनेर शहर र फूल नै लेख्न बन्द गर भन्ने फरमान जारी गर्नु भाषिक विवेक हो कि विवेकहीनता?अर्को तर्क छ, सबैतिर पातलो स र ह्रस्व इ-उ मात्र चलाएपछि लेखाइमा एकरूपता आउँछ र भाषा राम्रो हुन्छ। भाषिक प्रकृति र परम्परा विरुद्ध कस्तो एकरूपताको खोजी हो यो? हात र खुट्टाका औंलाको लम्बाइ फरक छ भन्दैमा हातका औंलालाई पनि खुट्टाका सरह छोटा (ह्रस्व) बनाएर औंलाहरू बीच एकरूपता कायम गर्न अघि सर्नु कति बुद्धिमानी होला? अनि कोसँगको एकरूपता? टीम, जीप, करीब, गरीब जस्ता दुनियाँभरि दीर्घ लेखिने शब्दलाई नेपालीमा मात्र जबर्जस्ती ह्रस्व बनाउँछु भन्नु एकरूपताको खोजी हो कि अनेकरूपता तर्फको एकलकाँटे यात्रा? दुनियाँभरि सबैका ढोका सात फीट अग्ला भए पनि म चाहिं आफ्नो मौलिकता देखाउन घरका सबै ढोका चार फीट मात्र अग्ला बनाएर तीबीच एकरूपता कायम गर्छु भन्नु प्राज्ञिकता ठहर्छ कि बालहठ? पातलो स र ह्रस्व मात्र चलाउँदा 'सरल हुन्छ' भन्ने तर्क पनि सुनिन्छ कहिलेकाहीं। तर सरल भनेको के? र, कसका लागि? नसिक्ता, नसिकाउँदा सबै कठिन; सिके-सिकाएपछि सबै सरल। सरलताका नाममा वर्ण र मात्रा नै हटाउनु जस्तो नादानी के हुन्छ? मुख धुन सरल हुन्छ भनेर कसैले नाकै काटेर मिल्काउँछ र?
बोझ होइन, सम्पत्तिशब्दको अर्थ तरल हुन्छ। विषय, प्रसंग, परिस्थिति र बोल्ने-सुन्नेको मनस्थिति अनुसार शब्दले परस्परविपरीत अर्थ पनि दिन सक्छ। 'गोरु' ले कहिले चारखुट्टे बुझाउँछ, कहिले स्नेह त कहिले तुच्छता र गाली। शब्दको उच्चारण बहुरूपी हुन्छ, एक हदसम्म अस्थिर। देश-काल-समाज फरक पर्दा उही शब्द बेग्लाबेग्लै किसिमले उच्चरित भइरहेको हुन्छ। 'रहेछ' को उच्चारण रहेछ-रएछ-रछ-रैछ-रेछ जे पनि हुन सक्छ। ठोस र स्थिर त शब्दको लेखिने रूप अर्थात् हिज्जे मात्र हुन्छ। हिज्जे परम्परामा आधारित हुन्छ। यादृच्छिक। त्यहाँ तर्क चल्दैन। 'यो शब्द किन यसरी लेखिन्छ?' को सबैभन्दा सही र सार्वभौम जवाफ 'किनभने त्यो त्यसरी लेखिंदै आएको छ' भन्ने मात्र हो। व्याकरणले नियम बनाइदिएका कारण शब्दको हिज्जे त्यसरी लेखिएको होइन, त्यसरी लेखिने गरिआएकाले त्यहाँभित्र अन्तर्निहित नियम खोज्ने प्रयास मात्र व्याकरणले गरेको हो। त्यसैले, परम्परागत रूपमा चलिआएको हिज्जेलाई चलाउन मिल्दैन, सितिमिती कसैले चलाउँदैन। देशैपिच्छे असंख्य शब्दको उच्चारण फरक फरक भए पनि सर्वत्र एउटै हिज्जेमा लेखिने गरिएकाले नै अंग्रेजीलाई विश्वभाषाका रूपमा स्थापित हुन सजिलो भएको हो। एक ठाउँको मानिसले उसको शैलीमा बोलेको अंग्रेजी अर्को ठाउँकाले भलै नबुझोस्, दुबैको अंग्रेजी लिखितम्मा त एउटै हो!श-ष, ई-ऊ आदिलाई बेवास्ता गर्न किन पनि मिल्दैन भने तिनले शब्द र त्यसको भावलाई निश्चित आकार, गहिराइ र व्यापकता प्रदान गरिरहेका हुन्छन्। ती हाम्रा सम्पत्ति हुन्, बोझ होइनन्। एउटै स अथवा ह्रस्व मात्रले पुग्ने भए श-ष र दीर्घ इकार-उकारको अस्तित्व नै हाम्रो भाषिक परम्परामा हुने थिएन, इतिहासदेखि आजसम्म लोकव्यवहारमा तिनले निरन्तर मान्यता र स्वीकृति पाउने थिएनन्। भाषा मूलतः बोलिने कुरा हो। वाणी मार्फत शब्दको नाद, ध्वनि, भाव, प्रभाव, गहिराइ, लचक, झड्का, कठोरता, कोमलता, तीक्ष्णता, तरंग, लय र प्रवाहसँग साक्षात्कार गर्नेलाई सम्यक् बोध हुन्छ वर्ण र मात्राहरूको वास्तविक मर्म। त्यो समर्पित रेडियोकर्मी हुन सक्छ, दमदार 'डायलग डेलिभरी' गर्ने कलाकार हुन सक्छ, संवेदनशील कवि, साधनाले खारिएको गायक अथवा एउटा उँचाइमा पुगेको योगी पनि हुन सक्छ। शब्दको स्पन्दन, परम्परा र वंशाणुसँग सरोकार राख्न नचाहने, कागजको सतहमा लेखिएका सपाट अक्षरसँग शुष्क, सतही र यान्त्रिक परिचय मात्र भएकाहरूले तिनको महत्व र प्रयोजन बुझ्न नसक्नु अस्वाभाविक होइन। त्यसबापत उल्टो वर्ण र मात्रालाई नै सजाय दिनु जस्तो विवेकहीनता र अराजकता के हुन सक्छ?
हिज्जे अर्थात् शरीरअझ महत्वपूर्ण कुरा त के हो भने, हिज्जे शब्दको ढाँचा हो, दृश्य स्वरूप। लेखिएको शब्दसँग चक्षुरिन्द्रियद्वारा ग्रहण गरिने त्यही ढाँचा, त्यही दृश्य मार्फत प्रयोगकर्ताको परिचय भएको हुन्छ ; भावनात्मक संलग्नता विकसित भएको हुन्छ। त्यो ढाँचा हेरफेर गरिदिने हो भने उसका लागि शब्द बिरानो मात्र होइन, वास्तु बिग्रिएको घर जस्तो हुन पुग्छ। लेखिएको हरेक शब्द एउटा विशिष्ट चित्र हो जसले एक-एक अक्षर तथा मात्राका रेखा र आकारको समग्रतामा प्रतिबिम्बित हुने बहुआयामिक बिम्बको सिर्जना गर्छ, जससँग त्यस शब्दले बुझाउने वस्तुको बिम्ब र छवि एकाकार भएर हाम्रो मन-मस्तिष्कमा स्थापित भएको हुन्छ। एउटा अक्षर वा मात्रा मात्र फेरबदल गर्नासाथ त्यसको रूप, त्यसको लय, त्यसले सिर्जना गर्ने बिम्ब, त्यसले पार्ने प्रभाव र त्यससँगको तादात्म्य भताभुंग हुन पुग्छ। पातलो स को उन्मादमा शब्दकोश लाई कसैले 'सब्दकोस' लेखिदियो.भने त्यसको व्यक्तित्व, रूपसौन्दर्य र गरिमा मात्र समाप्त नभएर त्यसबाट प्राणै झिकिदिए जस्तो हुन्छ। शब्दको शरीर पनि हो हिज्जे। शरीरलाई लुगा त फरक फरक लगाइदिन सकिन्छ तर आदेशका भरमा कसैको अंग बदल्न सकिंदैन, काटेर फ्याँक्न पनि पाइँदैन। सामूहिक रूपमा कुनै वर्ग वा जातिविशेषको अंगभंग गर्ने नादिरशाही फरमान त झन् कदापि जारी गर्न पाइँदैन।
नोक्सानै नोक्सानजे गर्न हुँदै हुँदैन त्यही गर्न अग्रसर बनेको छ यो नियम। श-ष र दीर्घ इकार-उकारको उच्छेद गर्न उत्सुक यस नियमबाट फाइदा एउटै देखिँदैन भने नोक्सानको कुनै गन्ती र सीमा छैन। चौतर्फी नोक्सानका प्रमुख पाँच पक्ष यस्ता छन् : एक : यसले सरलताका नाममा नेपाली शब्दको हिज्जेलाई झन् झन् जटिल, अस्थिर, अव्यवस्थित, अन्योलग्रस्त र अराजक बनाउँदै लगेको छ। सहजतासाथ चलिरहेको, समस्या नभएको, सबैले स्वीकारेको हिज्जेमाथि एकाएक बर्बर धावा बोलेर यसले ती प्रयोगकर्ताको अपमान र अवमूल्यन गरेको छ जसमा भाषाको सम्प्रभुता निहित हुन्छ। एउटा गलत कदमले आफू स्थापित हुने प्रयासमा अनर्थको ताँती लगाउँछ। नेपाली भाषामा पनि त्यो क्रम प्रारम्भ भइसकेको छ। श-ष, ई-ऊ मात्र होइन ञ-ण, ऐ-औ जस्ता अनेकौं वर्णलाई समेत (उच्चार्य) वर्णमालाबाट हटाइसकिएको छ। दिवंगत साहित्यकारहरूका रचनामा तिनले प्रयोग गरेको हिज्जे 'नयाँ नियम' अनुसार बदलिदिने प्रच्छन्न अभियान शुरू भएको छ। साथै भक्तिलाई भक्ति, बुद्धलाई बुद्ध, विद्यालाई विद्या, विद्वानलाई विद्वान, प्रतिष्ठानलाई प्रतिष्ठान लेख्नु ठीक हो भन्ने 'सिद्धान्त' पारित भइसकेको छ, नियम बनेर लादिन मात्र बाँकी छ। दुई : नेपाली भाषालाई यसले उल्टो बाटो अर्थात् प्रतिगमन तर्फ डोर्याएको छ। देवनागरी लिपिमा लेखिने खुशी, कोशिश, स्कूल, कानून, नजीर जस्ता शब्द विश्वका अनेक मुलुक र सबै महादेशमा एकै किसिमले लेखिन्छन्, हामीले मात्र कसैसँग नमिल्ने गरी अशुद्ध लेख्नुपर्ने भएको छ। पहिले 'ग्यांजेज्' लेखिरहेको विश्वभाषा अंग्रेजी समेत आफ्नो गल्ती सच्याएर सबैसँग मिल्ने शुद्ध रूप 'गंगा' लेख्न थालेको छ, हामी चाहिं त्यसको विपरीत छँदाखाँदाको खुशीलाई कसैले नचिन्ने 'खुसी' बनाउन अभिशप्त छौं। अरूभन्दा बेग्लै देखिनुपर्छ भन्ने हठमा सर्वप्रचलित शुद्ध रूपलाई तिरस्कार गरेर अशुद्ध रूपतर्फ लहसिने यो क्रम नरोकिने हो भने नेपालीहरू विश्वभर फैलिए पनि नेपाली भाषा चाहिं उत्तरोत्तर संकुचित, संकीर्ण र कमजोर हुँदै जानेछ। भाषाबाट भाषिका तर्फको यात्रा यस्तै हुन्छ। तीन : एकरूपताको नारा लगाउने यस नियमका घातक कीटाणुहरूले संस्कृतबाट आएका तत्सम शब्दलाई पनि आफ्नो शिकार बनाउन शुरू गरेका छन्। पत्रपत्रिका र नयाँ किताबहरूमा स्रोता, सुन्य, सिल्प, सिर, सम्पुर्ण, मयुर, प्रतिसत, नविन, सिविर, अनसन, सिलालेख जस्ता गलत हिज्जे लेखिएका (अशुद्ध) शब्दहरू केही समय यता दनादन प्रयोग हुन थालेका छन् र यो क्रम बढ्दो छ। कसैले हिज्जे बिगारौं भनेर यसो गरेको होइन, 'पातलो स र ह्रस्व मात्र लेख्नुपर्छ' भन्ने बुझाइ विस्तारित हुँदै गएकाले यो प्रवृत्ति गतिमान भएको हो। सिकार, सायरी र फेसन लेख्न आदेश दिएपछि सिसिर, सारदा र निर्देसन लेख्न थाल्नु ; स्कुल, जागिर र बेलुन लेखाएपछि स्तुप, जिबन र पुरक लेखिन थाल्नु अस्वाभाविक हुँदै होइन। एकरूपताको घनचक्करमा प्रारम्भ भएको यो निर्बाध अराजकताले हाम्रो भाषालाई कुन दुर्गतिमा पुर्याउने हो, अनुमान गर्न पनि कठिन छ। चार : नेपाली भाषाका प्रयोगकर्ताहरूमा यसले गाढा निराशा र हीनभावना सृजना गरिदिएको छ। आफूले पढेको, लेखेको, देखेको, सिकेको, जानेको, चलिआएको हिज्जे लेखौं- गल्ती हुने त्रास। नयाँ नियमको शरण परौं- कुन कुन शब्द संस्कृतबाट आएका हुन् भन्ने थाहा नभएसम्म नेपाली शुद्धसँग लेख्न सकिने सम्भावना नै रहेन। तर त्यो कहिले र कसरी थाहा पाउने? यसबाट सामान्य प्रयोगकर्ताको त कुरै छोडौं, सधैं शब्दसँग खेल्नुपर्ने लेखक, साहित्यकार र पत्रकार समेत यस जुनीमा आत्मविश्वास पूर्वक शुद्धसँग नेपाली लेख्न नसक्ने अवस्थामा पुगेका छन्। आफ्नै मातृभाषाका सामु नेपालीले आफूलाई असहाय, अकिंचन र लघुताभासपूर्ण महसूस गर्नुपर्ने यो स्थिति साँच्चै टीठदाग्दो छ। यस्तो कुण्ठा र हीनभावनाका कारण कति संवेदनशील प्रतिभाले आफूलाई अगाडि ल्याउन सकेनन् र त्यसबाट नेपाली साहित्यले कति नोक्सान बेहोर्नुपर्यो, त्यसको हिसाबकिताब कसले गरिदिने? पाँच : थप पीडादायी कुरा के भने, भाषिक जातिवादको ध्वजावाहक यस नियमले राष्ट्रिय भाषाभाषीहरूमा नेपाली भाषाप्रतिको अपनत्व घटाउन र मानसिक दूरी बढाउन रणनीतिक योगदान गरिरहेको छ। देशका भाषिक समुदाय र जातिहरू आफ्नो पहिचान स्थापित गर्न संकल्पित छन्। पहिचानको एउटा मुख्य आधार भाषा नै हो। तर यस नियमले तिनका सबै भाषाहरूलाई पराई ठान्ने र ती भाषाबाट आएका शब्दलाई आगन्तुक घोषित गर्दै दोयम दर्जामा राख्ने प्रपञ्च स्थापित गरेको छ। यसका कारण उनीहरूले नेपाली भाषालाई सामन्ती एवं जातिवादी ठान्नु अस्वाभाविक होइन। राष्ट्रिय भाषाहरूप्रति हेपाहा व्यवहार गर्ने दम्भी प्रवृत्तिले जातीय तथा भौगोलिक समुदायहरूमा राष्ट्रभाषाप्रति पृथकताको भावना मात्र होइन, द्वेष र त्यसका साथसाथै घृणा समेत बढाउन सघाउ पुर्याउँछ। संवेदनशील भएर समयमै समुचित कदम चाल्न सकिएन भने यसले कालान्तरमा भाषिक टकराव र द्वन्द्वतर्फ डोर्याउन सक्ने सम्भावनालाई नकार्न सकिंदैन। त्यसवेला, भाषिक जातिवादका हिजोदेखि आजसम्मका महारथीहरूमध्ये कोही पनि जिम्मेदारी सकार्न अगाडि आउनेछैनन्, प्रयोगकर्ताहरू भ्रममा नपरे हुन्छ।
न इतिहास, न भविष्ययो यस्तो भुइँफुट्टा नियम हो जसको न इतिहास छ, न वर्तमान, न त भविष्य नै। इतिहास छैन किनभने गरीब, शहर, कानून, कोशिश, शहीद जस्ता शब्द हाम्रा अग्रज लेखक-साहित्यकारहरूले शुद्ध रूपमै लेख्ने गरेका थिए। तिनकै साहित्य पढेर, त्यही हिज्जे लेखेर, त्यसैमा बानी परेर हामी हुर्क्यौं। वर्तमान छैन किनभने साढे तीन दशकदेखि राज्यको सारा शक्ति र संयन्त्र प्रयोग गरेर लागू गर्न खोज्दा पनि यो नियम लागू हुन सकेको छैन, प्रयोगकर्ताहरूले पचाउन सकेका छैनन्। लोक र समयले यसको अयोग्यता, अस्वीकार्यता स्वतः प्रमाणित गरिसकेको छ। भविष्य छैन किनभने अबको पुस्ता विवेकशील र तार्किक छ, ठोस कारण र व्यावहारिकताले चित्त नबुझेसम्म कसैले हठ गरेकै मात्र आधारमा कुनै नियम उसले स्वीकार्नेवाला छैन। न संस्कृतका शब्दलाई एउटा, अरूलाई अर्को व्यवहार भन्ने तर्क नयाँ पुस्तालाई पच्नेछ, न त दुनियाँभर एक प्रकारले बोलिने-सुनिने-लेखिने शब्दलाई ताल न सुरसँग बिगार्न नै ऊ तयार हुनेछ। बुझ्नुपर्ने कुरा के हो भने, चार दशक पुरानो मनस्थिति बोकेर आज भाषालाई नियन्त्रित गर्न सकिंदैन। त्यसवेला संसार निकै 'ठूलो' थियो, एउटा देश र भाषाका शब्द घुम्दैफिर्दै, बास बस्द,ै मन्द गतिमा अर्को भाषामा आइपुग्दा तिनको उच्चारण फरक पर्र्थ्यो। त्यही अनुसार हिज्जे पनि बेग्लै बन्थ्यो। तर, संचार-प्रविधि र श्रव्य-दृश्य माध्यमको कल्पनातीत विकासले आज संसार निकै 'सानो' भइसकेको छ। हामी आफ्नै घरमा बसेर पूरै संसारलाई देख्न-सुन्न मात्र होइन, जहाँसुकैबाट विश्वसमुदायसँग आँखामा आँखा जुधाएर प्रत्यक्ष दोहोरो संवाद पनि गर्न सक्छौं। यस क्रममा, ज्ञानविज्ञान र लोकव्यवहारसँग सम्बन्धित अनन्त विधा, पेशा र व्यवसायलाई आवश्यक पर्ने शब्दहरू विश्वभरिबाट नेपालमा तत्काल आउन अनि प्रयोग हुन थालेका छन्। उसवेला जस्तो उच्चारण र हिज्जे फरक भएर होइन, जस्ताको तस्तै, शुद्ध, तत्सम रूपमा। यो वेग, यो प्रवाह कसैले रोकेर रोकिनेछैन बरु भविष्यमा झन् झन् तीव्र हुँदै जानेछ। यही मेसोमा पहिले उच्चारण/हिज्जे फरक पारेर बोलिने/लेखिने गरेका शब्दहरू पनि हिजोआज आफ्नो मूल रूपतर्फ अभिमुख बन्दै गएका छन्। कप्तान क्याप्टेन भएको छ, सितम्बर-नवम्बर-दिसम्बरहरू सेप्टेम्बर-नोभेम्बर-डिसेम्बर तिर फर्किरहेका छन्। शब्दको शुद्ध, तत्सम रूपसँग हिमचिम बढ्दै गएपछि प्रयोगकर्ताले त्यसैलाई अँगाल्नु स्वाभाविकै हो। यस्तो अवस्थामा, पहिलेदेखि नै शुद्ध रूपमा प्रचलित शब्दहरूको हिज्जे गिजोलेर 'नेपालीकरण' गर्ने प्रयास एउटा हास्यास्पद चेष्टा बाहेक केही ठहरिन सक्दैन।
भाषाशास्त्र होइन, भाषायी कुरा सुन्दा हाम्रा कतिपय भाषाशास्त्रीको कन्पारो तात्न सक्छ। उनीहरू नेपाली भाषालाई जातिवादी बनाउनैपर्छ, भाषा-भाषाबीच पक्षपात गर्नैपर्छ, राष्ट्रिय भाषाहरूलाई बाहिरिया र तिनबाट आएका शब्दलाई आगन्तुक मान्नैपर्छ, श-ष-ई-ऊ जस्ता वर्ण नेपालीमा कदापि उच्चरित हुँदैनन्, तिनलाई घोक्रेठ्याक नलगाएसम्म नेपाली भाषाको उन्नति हुँदैन, तिनको उच्चारण भएको देख्नु मूर्खता हो, ती वर्ण अथवा मात्रा नै होइनन्, व्याकरण र भाषाशास्त्रले यही भन्छ भन्दै बुरुकबुरुक उफ्रन सक्छन्। तर यो भाषाको कुरा हो, भाषाशास्त्रको होइन। भाषा लोकव्यवहारबाट निर्देशित हुन्छ, भाषाशास्त्रद्वारा होइन। यो छलफल, यो पीडाविरेचन, यो सरसल्लाह प्रयोगकर्ताद्वारा, प्रयोगकर्तासँग र प्रयोगकर्ताका लागि हो - भाषाशास्त्रीका लागि होइन। भाषाशास्त्री वा भाषावैज्ञानिकको काम 'मानवीय भाषाको वैज्ञानिक अध्ययन गर्नु' हो। त्यो उनीहरूले जति गरे पनि हुन्छ। जे-जे सिद्धान्त र परिभाषा बनाए पनि हुन्छ, शास्त्रार्थमा जति टाउको जुधाए पनि हुन्छ। त्यसमा प्रयोगकर्तालाई कुनै आपत्ति छैन। तर, त्यसो भन्दैमा, आफ्नो सीमा नाघेर भाषामाथि हस्तक्षेप गर्ने अधिकार भाषाशास्त्रीलाई हँुदैन। उसको काम भाषामाथि शासन गर्नु होइन। निरंकुश शासकीय उन्मादमा शब्दको अंगभंग र विरूपीकरण गर्नु त झन् किमार्थ होइन। कसैले त्यसो गर्न खोज्छ भने त्यो स्वीकार्य हुन सक्दैन। वेदान्त दर्शनले संसार र यसका समस्त कार्यव्यापारलाई एउटा भ्रम, एउटा मिथ्या मान्छ। लोकलाई त्यसमा आपत्ति छैन। तर, त्यसो भन्दैमा, वेदान्तशास्त्रीहरूले आफ्नो सीमा बिर्सेर 'चोरी, डकैती, हत्या, बलात्कार सबै मिथ्या हो, तसर्थ यसबापत दण्डसजाय दिने पद्धति खारेज गर्नुपर्छ' भन्न थाले भने लोकले त्यसलाई स्वीकार गर्ला त? गतिशील भाषा जड भएर बस्दैन। भानुभक्त वा उनीभन्दा पहिलेको नेपाली भाषा आजसम्म आइपुग्दा धेरै बदलिइसकेको छ। यो स्वाभाविक हो। प्रयोगका क्रममा भाषा अनायास बदलिंदै जान्छ। शैली पनि, शब्द र शब्दार्थ पनि, यदाकदा हिज्जे नै पनि। अज्ञानतावश कुनै शब्दको हिज्जे गलत लेखिन थाल्यो भने त्यसलाई सायास सुधार्ने समेत चलन हुन्छ। तर लोकले आत्मसात् गरिसकेको एउटै पनि शुद्ध शब्दको हिज्जे कुनै पनि तर्क दिएर कसैले पनि परिवर्तन गर्न पाउँदैन। अझ एउटा फरमान जारी गरेर हजारौं शब्दको हिज्जे एकमुस्ट परिवर्तन गर्न खोज्नु त पूरापूर अनधिकार चेष्टा हो। विद्वानहरूको प्रचण्ड बहुमतबाट पनि यो काम गर्न मिल्दैन। यसले भाषिक विवाद र अराजकताको बाटो खोल्छ। भोलि अर्काले यस्तै बहुमत जुटाएर आजको निर्णय बदर गर्ने परम्परा चल्न थाल्छ। यस्तो कुचक्रमा परेपछि भाषा अन्ततः दुर्गतिको शिकार हुन पुग्छ। यसो गर्नु भाषामाथिको अन्याय र अत्याचार मात्र होइन भाषाविरुद्धको अपराध पनि हो। प्रश्न कुन भाषाशास्त्रीले के भन्छ र कुन व्याकरणकारको मत के हो भन्ने होइन ; नेपाली भाषालाई जातिवाद, अव्यावहारिकता र अराजकताको दुश्चक्रबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने हो। प्रयोगकर्ताको अवमूल्यन गरेर ल्याइएका अप्राकृतिक नियमको जंजालबाट उम्काएर सहज-स्वाभाविक गतिमा कसरी अघि बढाउन सकिन्छ भन्ने हो। विवेकशून्य विद्वत्ताले विनाशतर्फ डोर्याउँछ। निर्दोष-निरपराध हिज्जेमाथि स्वेेच्छाचारी अतिक्रमण गरेर भाषिक अन्योल र अराजकता बढाउनु अग्रगमन होइन प्रतिगमन हो। यसको मतियार हुन सकिंदैन।
गर्ने के त? यो अन्योल, यो अराजकतालाई निस्तेज पार्न हामी प्रयोगकर्ताले गर्न सक्ने र गर्नुपर्ने काम एउटै छ। त्यो हो- सहीबाट गलत तर्फ, शुद्धबाट अशुद्ध तर्फ र उज्यालोबाट अन्धकार तर्फ डोर्याउने यो कथित नियम अस्वीकार गर्दै भाषामा भिजिसकेका, पचिसकेका, सर्वत्र प्रचलित शब्दहरूलाई हिज्जे नबिगारी, तोडमोड नगरी शुद्ध रूपमै लेख्न थाल्ने। जोश, होश, खुशी, शर्त, शहर, कोशिश, शायर, फेशन, शेक्सपियर आदि शब्दको मोटो श लाई नचलाउने। ठीक, बीच, सीट, टीम, करीब, गरीब, नमूना, कानून, स्कूल, कार्टून आदि शब्दका दीर्घ इकार-उकारलाई नबिगार्ने। मोटो श र दीर्घ इकार भएको 'शरीर' लेखेजस्तै 'शहीद' पनि लेख्ने। हिज्जेका समस्या थुप्रैखाले छन् र तिनबाट मुक्ति पाउन गर्नुपर्ने काम पनि कम छैनन्। तर, हामीलाई कदम-कदममा सर्वाधिक पिरोलिरहेका अत्यधिक समस्याहरूको मुख्य उत्पत्तिस्रोत यही नियम हो। त्यसैले, यत्ति एउटा काम गरेर हामी नेपाली भाषालाई हिज्जेको अराजकताबाट ठूलो राहत दिलाउन समर्थ हुनेछौं। आफू स्वयम् हिज्जेको अन्योलबाट मुक्त हुने र शब्दलाई अन्यायबाट मुक्त गराएर गौरवान्वित हुने त छँदैछ। यस कदमले, कहींबाट स्वेच्छाचारी नियम लादिए पनि प्रयोगकर्ताले नेपाली भाषा भाँडिन दिंदैनन् भन्ने नजीर स्थापित गर्नेछ। साथै भाषाको सम्प्रभुता लोकमा हुन्छ, भाषाशास्त्री वा व्याकरणकारमा होइन भन्ने सत्यलाई पनि नवजीवन प्रदान गर्नेछ। हाम्रो भाषाको स्वाभाविक विकास, विस्तार र अग्रगामिताका लागि यो सानो उपलब्धि हुनेछैन।
साभार: नागरिक दैनिक
=====================================
नेपाली भाषा : सरलता कि विकृतितिर ?
प्रा. कुमारबहादुर जोशी
नेपाली साहित्याकाशका तीन तारा (लेखनाथ, सम र देवकोटा) मध्येका एक नाट्यसम्राट् बालकृष्ण समले भन्नुभएको छ –
भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति
जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी ।
‘शब्द’ नामको ज्योति अर्थात् भाषा-भास्कर नहुने हो भने यो सारा संसार प्रगाढ अन्धकारमा विलीन बन्ने थियो भन्ने उक्ति संस्कृतमा पनि पाइन्छ –
इदमन्धतमः कृत्स्नं जायेत भुवनत्रयम्
यति शब्दाऽवयं ज्योतिरासंसारं न दीप्यते ।
हुन पनि हेर्ने आँखा छन्, दृश्य पदार्थ वा प्राणीहरू पनि आँखासामु नै छन् अनि उज्यालो अर्थात् सूर्य वा बत्तीको प्रकाश पनि प्राप्त नै छ भने पनि यदि ती दृश्य पदार्थ वा प्राणीलाई अथवा तिनका रूपाकृति वा गतिविधि आदिलाई बुझाउने शब्द वा भाषा हामीसँग छैन भने ती सबै गाढा अन्धकारमा विलीन भएसरह नै हुन्छन् । यस्ता उक्ति-उदाहरणबाट हामी भाषाको अपरिमित महिमाको आकलन सहजै गर्न सक्तछौं ।
हुन त म साहित्यको विद्यार्थी हुँ, भाषाशास्त्री होइन, तर पनि साहित्यको मूल आधार भाषा नै भएकोले भाषासित पनि मेरो गहीरो सम्बन्ध छ । त्यसमाथि झण्डै साढे चार दशक (२०१७-२०६१)सम्मको आफ्न अध्यापकीय-प्राध्यापकीय जीवनमा मैले खास गरेर जुद्धोदय, परोपकार आदि हाईस्कूल र त्रिचन्द्र, जन प्रशासन प्रभृति क्याम्पसहरूमा यदाकदा भाषा पनि पढाएँ । २०३० देखि २०३३ सालसम्म म त्रिचन्द्र क्याम्पसमा पढाउँथें, २०३४ सालदेखि चाहिं कीर्तिपुर क्याम्पसमा सरुवा भएँ । जे होस्, भाषा साहित्यको मूलाधार हो भने भाषाकै कलात्मक सरस-सुन्दर स्वरूप साहित्य हो । त्यसो भएको हुनाले भाषाको सम्यक् ज्ञानविना साहित्यमा प्रवेश सम्भव छैन ।
यतिखेर म साहित्यको होइन, अपितु नेपाली भाषाको कुरा गर्न लागिरहेछु, त्यसमा पनि केही समयदेखि यस भाषामा हिज्जेमा देखा परेको भाँडभैलोका सम्बन्धमा नै केन्दि्रत हुने ध्येय अँगालेको छु । खास गरेर २०६८ चैत ४ गते ‘कान्तिपुर’ र ‘नागरिक’ मा प्रकाशित शरच्चन्द्र वस्तीका क्रमशः ‘हिज्जेको खेल, लेख्ने जति फेल’ र ‘हिज्जेमा भाँडभैलो’ शीर्षक दुई लेख र त्यस लगत्तै उक्त हिज्जेकै सन्दर्भमा चैत १३ गते ‘कान्तिपुर’ मा प्रकाशित ‘ललितपुर घोषणापत्र, २०६८’ पढेपछि यस सन्दर्भमा केही लेख्ने प्रेरणा मलाई प्राप्त भएको हो । त्यसपछि पनि पत्रपत्रिकामा प्रकाशित हरि अधिकारी, खगेन्द्र संग्रौला, जगदीश घिमिरे जस्ता लेखकका लेखहरूबाट पनि यो लेख्ने थप प्रेरणा मैले पाएँ । यसै कारण, अति कमजोर स्वास्थ्यस्थितिका बावजूद म यो लेख्ने जमर्को गर्दै छु ।
वास्तवमा केही समयदेखि नेपाली भाषाका शब्दहरूमा वर्णविन्यास वा हिज्जेसम्बन्धी भाँडभैलो जो देखा परेको छ, त्यसका मुख्य कारण दुई छन् । तीमध्ये एउटा हो— ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ भनेझैं खास गरी संस्कृतेतर भाषाबाट नेपालीमा आएका आगन्तुक शब्दहरूमा सरलीकरणको नाममा हिज्जेसम्बन्धी अपरिपक्व नियमहरू बनाएर लाद्नु । अर्को हो— सरलीकरणकै नाममा नेपाली भाषाको कथ्य वा उच्चार्य ध्वनि अनुसार शब्दहरूमा वर्णविन्यास गर्ने कच्चा फर्मान जारी गर्नु । यसरी वा जे-जसरी भए पनि यस राष्ट्रका विविध धर्म, सम्प्रदाय र संस्कृति अँगाल्ने सयभन्दा बढी जातजातिको आपसी विचार विनिमयको माध्यम भाषा वा जीवन्त साझा भाषाका रूपमा रहेको नेपाली जस्तो भाषामा हिज्जेसम्बन्धी यस्तो भाँडभैलो देखा पर्नु नितान्त चिन्ताको विषय हो । नेपालको एकमात्र राष्ट्रभाषा नेपालीमा हिज्जेसम्बन्धी यो रोगको बीजारोपण वास्तवमा हामीले नै जानी-नजानी गरेका हौं र अब यस रोगको निदान-निक्र्योल र यथोपयुक्त उपचार पनि यथासमय हामीले नै गर्नुपर्छ । त्यसो गर्न सकेनौं भने यो रोग भयावह रूपमा फैलिंदै जानेछ र यसले नेपाली भाषाको मात्र होइन, नेपाली मात्रकै पहिचान र अस्तित्व समेत सखाप पार्न बेर लाउनेछैन ।
साँच्ची भन्ने हो भने, नेपाली भाषामा वर्णविन्यास र हिज्जेसम्बन्धी रोगको बीउ रोपिएको खास वर्ष हो— २०३५ । त्यस वर्ष नेपाली वर्णविन्यास पद्धतिका बारेमा त्रिभुवन विश्वविद्यालयका नेपाली शिक्षकहरूका क्षेत्रीय अभिमुखीकरण कार्यशाला गोष्ठीहरू विराटनगर, पाल्पा र काठमाडौँमा सम्पन्न भएका थिए । यस्तै गोष्ठीहरू पछि पोखरा, रामपुर र धूलिखेलमा पनि सम्पन्न गरिए । यी गोष्ठीमा सम्मिलित त्रिविका शिक्षकहरूबीच छलफल भई निस्किएका निष्कर्षहरू बुँदागत रूपमा अभिलेख गरिएका थिए, जसमध्ये दुई यस्ता छन् – (क) संस्कृतका तत्सम शब्दहरूलाई संस्कृतकै वर्णविन्यासका नियम अनुसार लेख्ने । अति प्रचलित भई तद्भवतुल्य भएका तत्सम संस्कृत शब्दहरूलाई चाहिं नेपाली तद्भव वर्णविन्यासका नियम अनुसार पनि लेख्न सकिने (जस्तै – शीतल/सितल, वन/बन आदि) ।
(ख) विभिन्न भाषाबाट आएका आगन्तुक शब्दहरूलाई नेपाली तद्भव वर्णविन्यासका नियम र ध्वनि व्यवस्था अनुसार नै लेख्ने (जस्तै – हजुर, ब्रिटिस, इन्जिनियरिङ, तालिम, क्याम्पस, म्याक्समुलर आदि) । (द्रष्टव्य- ‘अनिवार्य नेपाली शिक्षण निर्देशन’, त्रिवि पाविके, २०४६, पृ. ४७)
साँच्ची भन्ने हो भने, मूलतः उपर्युल्लिखित दुई नियमले नै केही समयदेखि नेपाली भाषामा वर्णविन्यास वा हिज्जेको, त्यसमा पनि खास गरी ह्रस्व, दीर्घ (इ, ई, उ, ऊ) र श, ष, स को लेखन पद्धतिमा भाँडभैलोको बीजारोपण गरेका हुन् । यी नियमहरूले गर्दा नै अचेल शहीद – सहिद हुन पुगेको हो । त्यसै गरी पेशा – पेसा, शुरू – सुरु, कोशिश – कोसिस, शायद – सायद, नेशनल – नेसनल, यूरोप- युरोप, बीमा – बिमा, गरीब – गरिब, कानून- कानुन, खेलकूद – खेलकुद, स्कूल – स्कुल इत्यादि हुन पुगेका हुन् ।
निश्चय नै भाषा परिवर्तनशील हुन्छ र यसका नियमहरू पनि परिवर्तनशील हुन्छन् । कडा नियमहरू बनाएर भाषाको परिवर्तनशीलतालाई रोक्न, छेक्न खोजेमा त्यो भाषा मृत बन्छ, जस्तै – संस्कृत । नेपाली जीवन्त भाषा हो, यो परिवर्तनतर्फ अग्रसर हुँदै आइरहेको छ र जानेछ पनि । यस सन्दर्भमा, नेपाली भाषामा वर्णविन्यास वा हिज्जेको सरल र मानक रूप निर्धारण गर्ने प्रयासहरू विभिन्न समयमा, विभिन्न आन्दोलनका रूपमा हुँदै आएका छन् । त्रिवि अभिमुखीकरण कार्यशाला गोष्ठीका हिज्जेसम्बन्धी उपर्युल्लिखित नियमहरू पनि यसै सिलसिलामा आएका हुन्, ल्याइएका हुन्, खास गरी लेख्य नेपाली भाषालाई सरलता र एकरूपतातिर लैजाने उद्देश्यले । तर राम्रो उद्देश्यले ल्याइएका, बनाइएका भए पनि यी नियमहरू कच्चा ठहरिन आएका छन्, किनभने यिनले लेख्य नेपाली भाषालाई सरलता र एकरूपतातिर मात्र होइन, अपितु अर्थको अनर्थ समेत हुने गरीकन र अझ शिष्ट परम्परा र प्रचलनबाट स्थापित भाषाको आपmनो मौलिक स्वरूप र पहिचान नै पनि गुम्ने गरीकन दिनानुदिन विकृतितिर धकेल्दै लैजान थालेको देखिंदै छ । यसले भाषा-साहित्यका हामी विद्यार्थीहरूलाई बढी चिन्तित तुल्याउनु स्वाभाविकै हो । किनभने, हाम्रो भाषा हाम्रो खास पहिचान हो । हाम्रो भाषाले आपmनो पहिचान यसरी गुमाउँदै जान थालेपछि हाम्रो पनि पहिचान गुम्ने डर स्वतः पैदा भइहाल्छ । त्यस कारण उपर्युक्त कच्चा नियमको अनुपालन गर्दै ‘शेक्सपियर’ (विश्वप्रसिद्ध साहित्यकार) लाई ‘सेक्सपियर’ (यौन जोडी), नबनाऔं र नबनाऔं ‘शायर’ (कवि-गीतकार) लाई ‘सायर’ (पाल टाङ्ने कपडा), ‘शहर’ (गाउँको विकसित रूप) लाई ‘सहर’ (माछा), ‘नशा’ (मादक पदार्थ) लाई ‘नसा’ (रक्तवाहिनी नली) इत्यादि ।
अर्को कुरा, बोलिने अङ्ग्रेजी (स्पोकन इङ्लिश) र लेखिने अङ्ग्रेजी (रिटन इङ्लिश) फरक-फरक भए जस्तै बोलिने (कथ्य वा उच्चार्य) नेपाली र लेखिने (लेख्य) नेपाली पनि समान हुँदैनन् । समयभेद, स्थानभेद, जातिभेद, वर्गभेद आदि भेदहरूले पनि बोलिने र लेखिने भाषामा भिन्नता आउँछ । त्यसैले नेपालीमा तद्भव र विभिन्न भाषाबाट आएका आगन्तुक शब्दहरूलाई ध्वनि व्यवस्था अनुसार नै अर्थात् जस्तो बोलिन्छ त्यस्तै लेख्ने भन्ने नियम बनाउनु पनि गलत हुन्छ । त्यो गल्ती पनि हामीले गरेका छौं— माथि उल्लिखित नियम (ख) बनाएर । यो गल्तीले गर्दा नेपालीमा दीर्घ उच्चारण हुँदैन, श र ष को पनि उच्चारण हुँदैन भनेर हामीले यिनलाई वर्णमालाबाटै हटाउने अर्को भूल पनि गर्न थालेका छौं । यस प्रकार नेपालीमा श र ष को उच्चारण हुँदैन भन्दै तिनको ठाउँमा स मात्रै लेख्ने र ‘अति प्रचलित भई तद्भवतुल्य भएका संस्कृत तत्सम शब्दहरूलाई पनि नेपाली तद्भव वर्णविन्यासका नियम अनुसार पनि लेख्न सकिने’ भन्ने नियम बनाएर ‘शीतल’ लाई ‘सितल’, ‘वन’ लाई ‘बन’ लेख्न थालेपछि नेपाली भाषाको स्थापित स्वरूप र अनुहारै बिग्रिने भइहाल्यो ।
माथिका कुराहरूबाट त्रिवि शिक्षकहरूका अभिमुखीकरण कार्यशाला गोष्ठीहरू गरेर हामीले बनाएका उपर्युल्लिखित नियमहरू अपरिपक्व वा कच्चा रहेछन् भन्ने तथ्य स्वतः प्रमाणित हुन्छ । त्यसैले यी नियमहरूको आवश्यक संशोधन-परिमार्जन अविलम्ब हामीले नै गर्नुपर्छ भन्नेमा म छु ।
अन्तमा भन्न चाहन्छु— नेपाली भाषामा केही समयदेखि मच्चिंदै आएको भाँडभैलोले उग्र रूप धारण गर्न थालेको वर्तमान सन्दर्भमा शरच्चन्द्र वस्तीका उपर्युल्लिखित दुई लेख अत्यन्त महत्त्वपूर्ण तथा सान्दर्भिक छन् । खास गरेर लेख्य नेपाली भाषाको स्तरीकरण र मानकीकरणको यात्रामा यी दुई लेख कोसेढुङ्गा ठहरिन्छन् । जे होस्, नेपाली भाषामा देखा परेको आजको भाँडभैलोमा मुख्य भूमिका खेल्ने त्रिवि शिक्षकहरूका अभिमुखीकरण कार्यशाला गोष्ठीका छलफलबाट निष्कषिर्त उपर्युक्त अपरिपक्व दुई नियमहरूको निर्माणमा त्रिवि शिक्षकको हैसियतले मेरो पनि प्रत्यक्ष-परोक्ष संलग्नता रहेको नाताले जति अंशको दोष मेरो भागमा पर्छ, त्यो स्वीकार्दै आत्मालोचना गर्न चाहन्छु र उक्त कच्चा नियमहरूको सम्बन्धित निकायबाट आवश्यक संशोधन-परिमार्जन गर्ने-गराउने काम अविलम्ब होस् भन्ने कुरा दोहोर्यायउन चाहन्छु । साथै नेपाली भाषाको सरलीकरणको नाममा होस् वा स्तरीकरण-मानकीकरणका नाममा, भाषासम्बन्धी अब नयाँ नियम बनाउँदा हाम्रा आदरणीय गुरु (प्राडा वासुदेव त्रिपाठी, स्व. प्राडा बल्लभमणि दाहाल, प्रा. ठाकुरप्रसाद पराजुली र मसमेतलाई २०२१/२२ सालमा त्रिवि केन्द्रीय क्याम्पसमा नेपाली एमएमा भाषाशास्त्र पढाउनुहुने), प्रसिद्ध साहित्यकार जगदीश घिमिरेका शब्दमा ‘नेपालीका भाषाशास्त्रीहरूका भीष्मपितामह’ बालकृष्ण पोखरेलका कथन (‘गरिमा’, २०६८ कात्तिक) लाई गुरुमन्त्र मानौं भन्छु ।
कान्तिपुर, २०६९ वैशाख २०
===========================================================
===========================================================
नेपाली भाषा प्रयोगकर्ताहरूको संकल्प
भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, सर्वत्र प्रचलित शुद्ध–स्वाभाविक हिज्जेलाई जबरजस्ती परिवर्तन गर्न खोज्नु भाषामाथि अन्याय गर्नु हो। भइरहेको प्रचलन बिथोलेर सरलताका नाममा जटिलता र दुर्बोध्यता थप्ने यस्तो अनधिकार चेष्टाले भाषामा अव्यवस्था सृजना गर्दछ। परम्परागत लेखन प्रणालीमा एकमुष्ट हस्तक्षेप गरी बलपूर्वक लागू गर्न खोजिएका कतिपय अस्वाभाविक नियमले नेपाली भाषालाई संकुचित र कमजोर बनाउँदै लगेका छन्। प्रयोगकर्तालाई अन्योलग्रस्त बनाएको यो भुमरीबाट मुक्त हुन हामीले आफैं पहल गर्नुपर्ने भएको छ।
हिज्जेका समस्या विभिन्न प्रकृतिका छन्। मुख्य समस्या चाहिं लामो समयदेखि व्यापक चलनचल्तीमा रहेका शुद्ध शब्दहरूलाई तिनको हिज्जे बिगारेर विकृत बनाइनु नै हो। यस्ता शब्दहरूबाट श–ष हटाएर तिनको ठाउँमा पातलो स मात्र राख्ने, शुरू र बीचमा रहेको दीर्घ इकार–उकारलाई ह्रस्व बनाउने प्रचेष्टा कुनै पनि दृष्टिले उपयुक्त होइन। शब्दको रूपात्मक तथा ध्वन्यात्मक पक्ष र त्यसले पार्ने प्रभावप्रति देखिएको यो असंवेदनशीलताले भाषाको ओज र सौन्दर्यमा समेत नकारात्मक प्रभाव पार्दछ। संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै राखेर अन्य भाषाबाट त्यसैगरी आएका शब्दमाथि मात्र गरिएको यो लहडबाजीले नेपाली भाषालाई अनुदार एवम् छुवाछुतवादी छवि दिएको छ जो झन् आपत्तिजनक छ। यो समग्र प्रक्रियाप्रति हामी पूर्णतः असहमति व्यक्त गर्दछौं। साथै, विवादहीन तवरले प्रचलनमा रहँदै आएका अन्य शब्दहरूको समेत श–ष–स र ह्रस्व–दीर्घमा जबरजस्ती हेरफेर गरेर भाषामा अनावश्यक विवाद, अन्योल एवं अराजकता सिर्जना नगर्न सबैलाई आग्रह गर्दछौं।
यस पृष्ठभूमिमा, हिज्जे लगायतका विभिन्न समस्याबाट उन्मुक्ति दिलाएर नेपाली भाषालाई सहज–स्वाभाविक गतिमा अघि बढाउनुपर्ने बृहत्तर दायित्वको बोध गर्दै, प्रारम्भिक कदमका रूपमा, हामी नेपाली भाषाका निम्नलिखित प्रयोगकर्ताहरू यो संकल्प गर्दछौं :
• जुनसुकै भाषाबाट आएका भए पनि, लोकव्यवहारमा पचिसकेका ‘तत्सम’ शब्दको इकार–उकार, श–ष–स आदि नबिगारी जस्ताको तस्तै लेख्ने। जस्तै –
— नीर, तीर, चीफ, जीप, टीचर, टीम, ठीक, डीन, बीच, भीड, मीटिङ, रीट, लीलाम, सीट, स्टील, हीटर आदि।
— समीप, शरीर, शहीद, अपील, कारीगर, खरीद, गरीब, जमीन, जागीर, तपसील, तस्बीर, तारीफ, तालीम, दलील, नजीक, नजीर, नतीजा, नसीब, पनीर, रईस, वकील आदि।
— खूबी, छूट, तूफान, फूटपाथ, बूट, भूल, भूटान, स्कूटर, स्कूल, लूट आदि।
— अटूट, कपूत, कसूर, कानून, कार्टून, जुलूस, देहरादून, नमूना, बावजूद, मजदूर, मजबूत, महसूस, सबूत आदि।
— शर्त, शर्बत, शहर, शान, शायद, शायर, शायरी, शिकार, शुरू, शेक्सपियर, शेखी, शेयर, शेर, शो रूम आदि।
— कुश्ती, कोशिश, कोशी, खुशी, चश्मा, जोश, दशैं, निशान, निशाना, पेशा, पिशाब, फेशन, बेहोश, मशाल, मालिश, मुश्किल, लाश, सिफारिश, होश, होशियार आदि।
• परम्परागत रूपमा दीर्घ लेखिंदै आएका शब्द यथावत् लेख्ने। जस्तै —
— कीरो, खीर, चीसो, चूलो, जीउ, तीतो, नीम, पीठो, पीर, पीरो, भीड, मीठो, मीत, रीस, शीत, हीरा≤ बीस, तीस, चालीस≤ ठूलो, दूध, धूलो, पूरा, फूल, बूढो, मूला आदि।
नेपाली भइसकेका तत्सम शब्दमा प्रत्यय लगाउँदा मूल शब्दको ह्रस्व–दीर्घ, श–ष–स आदि जबर्जस्ती नबिगारी लेख्ने। जस्तै :
— जोशिलो, विश्वासिलो, विदेशिनु, तुषारो, पोषिलो, वर्षेनि, पुष्ट्याइँ, दुष्ट्याइँ, प्रष्ट्याउनु, वर्षिनु, स्वीकार्नु, पूर्वी, पूर्वेली, एकवर्षे, दुईवर्षे आदि।
(कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल, शरच्चन्द्र वस्ती, कृष्ण धरावासी, अभि सुवेदी, किशोर नेपाल, गोविन्दराज भट्टराई, मंजुल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, नयनराज पाण्डे, अविनाश श्रेष्ठ, धर्मेन्द्र झा, शिव गाउँले, धीरेन्द्र प्रेमषिर्, श्यामल, गोविन्द वर्तमान, शार्दूल भट्टराई, शेखर खरेल, मोहन मैनाली, नरेन्द्रराज प्रसाई, लोचन भट्टराई, श्रवण मुकारुङ, बुद्धिसागर लगायत ८० जना लेखकहरू)
ललितपुर, २०६८ चैत ११
===========================================================
नेपाली भाषामाथि चलखेल – डा. खगेन्द्रप्रसाद लुइटेल
अन्तर्राष्ट्रियकरण भइसकेको र लगभग मानक रूप धारण गरिसकेको अवस्थामा नेपाली भाषामाथि चलखेल सुरु गरिएको छ र यसले विशेषतः शिक्षक–विद्यार्थीलाई अन्योलग्रस्त तुल्याएको छ । पठनपाठनमा भइरहेको एकरूपता पनि भङ्ग भएको छ । नेपाली भाषा नेपाली जातिको अस्तित्वस“ग गा“सिएको हु“दा व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर यसको विकासतर्पm अग्रसर हुनु आवश्यक छ ।
यसबेला भाषासम्बन्धी दुई खाले दृष्टिकोण बढी चर्चामा छन् । तिनमा एउटा पश्चगमनतर्पm उन्मुख छ भने अर्काे अग्रगमनका नाममा अराजकता निम्त्याउनेतर्पm उन्मुख छ । यी दुवै अतिवादी दृष्टिकोण भएकाले यिनले अन्ततः भाषालाई खति नै पु¥याउ“छन् । नेपाली भाषामा अहिले उठाइएको मुख्य समस्या वर्णविन्यासस“ग सम्बद्घ छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठीक रखाइ वा नियमबमोजिमको लेखन हो । ठीक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हु“दा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । नेपाली भाषाको विशेषता नै वर्णविन्यासमा केन्द्रित छ । ह«स्व, दीर्घ, श, ष, स, चन्द्रबिन्दु, सिरबिन्दु, पदयोग, पदवियोग आदिलाई नेपाली वर्णविन्यासअन्तर्गत समेटिन्छ । नेपाली वर्णविन्याससम्बन्धी प्रयोगबाटै स्थापित विभिन्न नियमहरू छन् र धेरजसोले मानक रूपधारण गरिसकेको स्थिति छ भने कतिपय नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन गर्न सकिन्छ र बेलाबखत भइरहेका पनि छन् । भाषा परिवर्तनशील भएकाले यससम्बन्धी नियम पनि समय, परिस्थिति, प्रयोग र आवश्यकताअनुरूप बेलाबेला परिवर्तन भइरहन्छन् । यो भाषाको नैसर्गिक गुण हो तर परिवर्तनका नाममा स्थापित मूल्यमान्यतालाई पूरै भत्काउने काम उपयुक्त हु“दैन । यतिखेर कतिपय गतिविधि त्यस्तै देखिन थालेका छन् ।
अहिले वर्णविन्याससम्बन्धी समस्यामा पनि ह्रस्व–दीर्घ र पदयोग–पदवियोग बढी चर्चामा छन् । कतिपयले ह्रस्व वा दीर्घ लेख्नेबारेको स्थापित मान्यतालाई पुरानैतर्पm ढल्काउने प्रयत्न गर्दैछन् भने कतिपयले प्रचलित ह्रस्व वा दीर्घलाई ठीक विपरीत बनाएर उल्टाउने कसरत गर्दैछन् । ह्रस्व वा दीर्घ लेख्दा अर्थभेदक नहुने सङ्ख्याबोधक तीन, बीस, तीस जस्ता केही शब्दका सुरुको इकार तथा तेईस, बत्तीस, छयालीस जस्ता शब्दका बीचको इकार अनि खसी, जोगी, सम्धी, स्वामी, हात्तीजस्ता पुलिङ्गी नामबोधक शब्दका अन्त्यको इकार दीर्घ हुन्छ भन्ने प्रचलित परम्परालाई भत्काएर ह्रस्व गर्दैमा भाषाको विकास भइहाल्दैन । यस्ता शब्दलाई ह्रस्व गर्नु नै पर्ने भए पनि हस्तक्षेपी पाराले परिपत्र वा घोषणापत्र जारी गरेर नभई आपसी सहमतिका आधारमा गर्नुपर्छ । ‘फुल, पूmल’ जस्ता विशिष्ट अर्थ धारण गरिसकेका शब्दलाई अपवाद न्यूनीकरणका नाममा जबर्जस्ती ह्रस्वीकरण गर्नु उपयुक्त हुन्न । ‘मलाई पूmल मन पर्छ’ र ‘मलाई फुल मन पर्छ’ भन्ने वाक्यमा अर्थगत भिन्नता रहेको स्पष्ट हु“दाहु“दै यस्ता कुरा सन्दर्भबाट बुझिन्छ भन्नु निरर्थक हो । ह्रस्व गर्दा फरक नपर्ने ‘हरू, अरू’ जस्ता शब्दलाई बेवास्ता गर्नु अनि प्रचलनमा पूरै बानी परिसकेका ‘ठीक, बीच, ठूलो’ जस्ता शब्दलाई ह्रस्व गर्दा कसलाई के फाइदा हुन्छ ?
उच्चारणका आधारमा ‘स’ को निर्धारण गरिनुपर्छ भन्ने कुरा पनि उपयुक्त देखिन्न । ‘शाह र साह’ का अर्थ नै भिन्न भएकाले यसलाई कायमै राख्नु पर्छ तर ‘शेर्पा र शेरचन’ ले अर्थमा भिन्नता नल्याउने हु“दा तिनलाई ‘सेर्पा र सेरचन’ गर्न वा समझदारीमा उही रूपमा छोड्न सकिन्छ । ‘शहीद’ लाई ‘सहिद’ लेख्दा सहिदप्रति अपमान गरिएको ठानिनु उपयुक्त होइन । शब्दमा प्रयुक्त वर्णबाट मानअपमान भन्ने कुरै आउ“दैन । ‘क, ट, ठ, ड, ढ, ण, प’ वर्णका अगि ‘ष’ लेखिन्छ भन्दैमा ‘कष्ट’ का सादृश्यमा ‘कम्युनिष्ट’ लेख्नु उपयुक्त हुन्न, ‘कम्युनिस्ट’ लेख्नुपर्छ । यस्ता सामान्य कुरामा समेत विवाद गरेर भाषाको विकास हुन्न ।
‘ह्र, र’ मा पनि केही समस्या देखिएका छन् । सोर र अठारजस्तै ‘बाह्र, तेह्र’ लाई सरलीकरण गरी ‘बार, तेर’ लेख्नुपर्छ ।
वैकल्पिक प्रयोगका नाममा ‘ङ्, ञ्, ण्, न्, म्’ का सट्टा सबैतिर शिरबिन्दु वा चन्द्रबिन्दु लगाउनु पर्छ भन्ने तर्क पटक्कै उपयुक्त छैन, यसमा प्रयोगगत सन्दर्भ केलाउनु पर्छ ।
नेपालीमा पछिल्लो समयमा पदीय दुरुपयोगसमेत गरी बल्झाइएको जटिल समस्याका रूपमा पदयोग र पदवियोग रहेको छ । शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग र छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । यो नेपाली भाषाको महŒवपूर्ण विशेषता हो । नेपालीमा नाम र विभक्ति, उपसर्ग, प्रत्यय, समस्त शब्द, द्वित्व शब्द, अनुकरणात्मक शब्द, अकरण बुझाउने शब्दको ‘न’, सामान्य वर्तमान, भूत र भविष्यत् तथा अज्ञात र अभ्यस्त भूत बुझाउने व्रिmया, संयुक्त व्रिmया, व्यक्तिनामका बीचको शब्द, नाम र नामयोगी, नामस“ग जोडिने नामयोगीको पछि आउने विभक्ति आदि जोडेर लेखिन्छ अनि वाक्यमा आउने सबै शब्द, संयोजक, व्रिmयायोगी, विभक्तिभन्दा पछि आउने विभक्ति वा नामयोगी, निपात, वर्तमान, भूत र भविष्यत् तीनै कालका अपूर्ण र पूर्ण पक्ष जनाउने व्रिmया आदि छुट्ट्याएर लेखिन्छ भन्ने स्पष्ट नियम र प्रचलन हु“दाहु“दै सबैजसो छुट्ट्याउनु पर्छ भन्ने वियोगवादी दृष्टिकोण उपयुक्त देखिन्न ।
नामयोगी र समस्त शब्दको पदयोग गर्ने भन्ने स्पष्ट प्रचलन र नियम हु“दाहु“दै ‘दुईदुई लिपिमा लेखिने दुईटा शब्दले बनेका शब्द जोडेर लेख्ने’, ‘दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्तिजस्तै शीर्षशब्दस“ग जोडेर लेख्ने’ ‘व्यञ्जनान्त दुई अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेख्ने’ तथा ‘दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुईटा शब्दको समासबाट बनेको शब्द अलग डिकोमा लेख्ने’ भन्नु औचित्यहीन कुरा हो । पहिले नामयोगी र समस्त शब्द मात्र जान्दा पुग्नेमा अब लिपिसमेत गन्नुपर्ने अनि नामयोगी मात्र जानेर नभई दुई अक्षरको त्यसमा पनि स्वरान्त–व्यञ्जनान्तसमेत बुझ्नुपर्दा त्यसले सरलीकरण नभई झन् बढी जटिलता र गन्जागोलको स्थिति पैदा गर्छ । दुई स्वरान्त अक्षरसम्मका नामयोगी जोड्ने र त्यसभन्दा बढीका नामयोगीलाई छुट्ट्याउने भन्ने कुरा औचित्यहीन, निरर्थक, तर्कहीन र अवैज्ञानिक छ । द्वित्व शब्दलाई सार्थक र निरर्थक भनी छुट्ट्याएर योग र वियोगको झमेलामा नफसाई प्रचलनलाई स्वीकार गर्दा कुनै हानि देखि“दैन । भाषाका नियम पनि वस्तुगत र वैज्ञानिक हुनु आवश्यक भएकाले पदयोग र पदवियोगमा अक्षर सङ्ख्या तथा स्वरान्त र व्यञ्जनान्तजस्ता अवैज्ञानिक प्रसङ्ग भिœयाएर भाषालाई झन् जटिलतातर्पm अग्रसर गराई नेपाली भाषाप्रति वितृष्णा पैmलाउने काम गर्नु हुन्न । नेपाली भाषा पढ्ने–पढाउनेले मात्र नभई अन्य विषयका साथै सरकारी कामकाजलगायत सर्वत्र प्रयोग गरिने साझा भाषा भएकाले अनावश्यक बखेडा झिकेर नेपाली भाषाप्रति वितृष्णा पैmलाउने प्रयत्न नगरौ“ ।
नाम, थरका बीचमा आउने मध्यवर्ती नामलाई अलग डिकोमा लेख्ने भन्ने कुरालाई पश्चगमनकै रूपमा लिनुपर्छ । यस्ता शब्द पहिले छुट्टै लेखिन्थ्यो, बीचमा जोड्न लगाइयो अनि अहिले जोडेर लेख्ने बानी परिसकेपछि पुनः छुट्ट्याउन लगाइ“दैछ । भाषा भन्ने कुरा जीवनभर सिकिरहने होइन र कतैबाट निर्देशन गरिएका आधारमा चल्ने वस्तु पनि होइन । यो एकपटक सिकिन्छ र त्यसैअनुरूप प्रयोग गरिन्छ । यसर्थ भाषामा प्रयोक्ताको भूमिका महŒवपूर्ण हुन्छ । यतिखेर अक्षर गनेर योग वा वियोग गर्ने नाममा ‘दिदीभाइ’, ‘रामराज’, ‘जयदेव, महादेव’, ‘रामपुर’ र ‘कीर्तिपुर’ जोड्ने अनि ‘दिदी बहिनी’, ‘भरत राज’ ‘जीवेन्द्र देव, हरेन्द्र देव’, ‘भरत पुर’, ‘ललित पुर’ छुट्ट्याउने भन्ने कुरा कति हास्यास्पद छ । यस्तो अव्यावहारिक र अवैज्ञानिक तर्क गरेर भाषामा झमेला सिर्जना गरिनु हुन्न । यस्तै ‘गरि रहन्छ’ जस्ता शब्द छुट्ट्याउनाको अभिप्राय के ?
पदवियोग गरी छुट्ट्याउ“दा ‘अमृतराज भण्डारी’ र ‘अमृत राजभण्डारी’, ‘प्रकाशसिंह’ र ‘प्रकाश सिंह’ जस्ता शब्दमा तथा ‘रामप्रसाद खान्छ’ र ‘राम प्रसाद खान्छ’ भन्नेजस्ता वाक्यमा पूरै अर्थगत भिन्नता रहेको कुरा सारै स्पष्ट छैन र ? यसलाई सङ्कथनका तहबाट कसरी अथ्र्याउन सकिन्छ ? पदवियोगका नाममा ‘विश्वविद्यालय, न्यायपालिका, कार्यपालिका, नगरपालिका’ जस्ता सिङ्गा तत्सम शब्दलाई समेत छुट्ट्याउने कुरा कदापि स्वीकार्य हुन्न । भाषाको आधुनिकीकरण र मानकीकरणका नाममा प्रयोक्तालाई पूरै बेवास्ता गरी जबर्जस्ती रूपमा जे पायो त्यही नियम लादिएमा त्यो निरर्थक हुन्छ र अन्ततः लेखनमा अराजकता आउ“छ । यस्तो लक्षण देखापर्न थालिसकेकाले भाषाको माया गर्नेहरूले यसतर्पm सोच्नु जरुरी छ । राष्ट्रिय राजनीति अन्योलग्रस्त बन्दै गएको मौका छोपी त्यसैमा भाषालाई समेत मुछेर भा“चकु“च र तोडमोड गर्ने प्रयत्न गर्नु उपयुक्त कार्य होइन ।
नेपाली भाषाका क्षेत्रमा उठाइएका समस्यामध्ये ‘श, ष, स’ तथा ह्रस्व–दीर्घमा कतिपय अर्थभेदक शब्दबाहेक अन्यमा खासै समस्या छैन । अर्थभेदक नहुने शब्दमा मैले भनेअनुसार नै हुनुपर्छ नभनी संयम र समझदारीपूर्वक अगि बढेमा यसको समाधान निकै सहज छ । संस्कृतजस्तो अति कठोर नियमवादी भाषामा अनि अङ्ग्रेजीमा समेत वैकल्पिक प्रयोग र अपवाद पाइने हु“दा नेपालीमा पनि कतिपय वैकल्पिक प्रयोग र अपवाद हुनु असामान्य होइन । त्यसलाई क्रमशः न्यूनीकरण गर्न सकिन्छ । नेपाली भाषाको पदयोग र पदवियोगमा धेरैजसो बानी परिसकेको अवस्था छ । बानी परिसकेको र त्यसले खासै असर पनि नगर्ने अवस्थामा जबर्जस्ती उल्टाउने प्रयास गर्नु राम्रो होइन । यसमा कम्प्युटर प्रयोजनका नाममा जथाभावी गरी अनावश्यक झमेला सिर्जना गर्न खोजिएको छ । कम्प्युटरअनुसार भाषा नभई भाषाअनुसार कम्प्युटर सञ्चालन गर्ने परिपाटी बसाउनु पर्छ । यसो गरेमा यस्ता समस्याको समाधान सहजै गर्न सकिन्छ ।
नेपाली भाषा राम्ररी नजान्नेले त्रुटि गर्नु सामान्य कुरा हो तर जान्नेले बुझपचाउनु वा मिचाइ“ गर्नु उपयुक्त होइन । पूरै प्रचलनमा आइसकेको वर्णविन्यासलाई वैयक्तिक आग्रहका आधारमा त्यसको ठीक विपरीत गरेर परिवर्तन गर्नु औचित्यपूर्ण देखिन्न । नेपाली भाषामा देखिएका विविध समस्याहरूलाई पदीय दुरुपयोग गरेर वा कोठामा बसी कल्पना गरेर होइन यसका लागि विनाभेदभाव सक्कली भाषाविद्हरूको उच्चस्तरीय संयन्त्र बनाएर सम्बद्ध संस्थाहरूको समेत सहभागितामा साझा सहमति कायम गरी न्यूनतम विवाद र अपवाद आउने ढङ्गबाट स्पष्ट नीतिनियम बनाई त्यसैअनुरूप भाषाको प्रयोग गर्नु र सबै मिलेर भाषालाई जोगाउनु अपरिहार्य छ । नेपाली भाषाको विकास गर्नु भनेको अरू भाषाका विकासको बाटो रोक्नु होइन । सबै भाषाको विकास गर्दै जानु पर्छ ।
भाषासम्बन्धी पीडा नेपालभित्रभन्दा नेपालबाहिर बढी छ र तिनीहरू भाषाको मानकीकरण यतातिर फर्केर हेर्छन् तर हामी आपूmमै लड्न व्यस्त छौ“ । नेपाली भाषा अन्तर्राष्ट्रियकरण भइसकेको अवस्थामा आÇनै घरबाट आगो लगाउन सुरु गर्नु पटक्कै ठीक होइन । फुटेर होइन जुटेर अनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली भाषाको रक्षा गरौ“ । मान्य ढङ्गबाट क्रमशः सरलीकरण गर्दै जाऔ“ । भाषामा राजनीति नगरौ“, यसलाई प्रतिष्ठाको विषय पनि नबनाऔ“ । कतैबाट सञ्चालित भएर विरोधभासपूर्ण काम नगरौ“ । सके भाषाको सेवा गरौ“ नसके चुप लागेर बसौ“ । भाषा रहे मात्र हाम्रो अस्तित्व रहन्छ भन्नेतर्पm सम्बद्ध सबै सचेत होऔ“, चरम पश्चगामी वा अग्रगामीका नाममा अराजक पनि नहोऔ“ । आपसमा छलफल गरी समझदारीपूर्वक अगि बढौ“ । भाषामाथि चलखेल नगरौ“, भाषाको माया गरौ“ र भाषालाई बचाऔ“ ।
============================================================
तुरुपहरूले नेपाली भाषालाई कुरूप बनाए!- गाउँले बलदेव
‘हामी प्रुफ रिडरहरूको जागिर जाने भयो! हामी स्कुले मास्टरहरूको मुखमा माड नलाग्ने भयो! हामी विद्यार्थीहरूले परीक्षाको भिरबाट गुल्टिनुपर्ने भयो!’ अचेल जहाँ गयो, यस्तै चित्कार र हाहाकार गुन्जिन्छ। तिनको मर्म कसले सुन्ने? सरकारी निकाय कानै सुन्दैन। नेपाली वर्णविन्यास शुद्ध बनाउन चाहने विद्यार्थीका आँखामा कसिंगर भएर घनटाउके अक्षरका भित्ते लेखन, सूचनापाटी, परिचयपाटी र टेलिभिजनका अधोलेखनहरू बिझेको बिझ्यै छन् किनभने त्यस्ता लेखनमा वर्णविन्यासको कुनै पनि नियम पालना गरिएको हुँदैन। पुस्तकैपिच्छे र पत्रिकैपिच्छे थरीथरीका लेखाइ छन्, कुनचाहिँको सिक्ने? शब्दकोश हेर्ने? शब्दकोशपिच्छे वर्णविन्यास विभिन्न छन् कुनलाई मानक मान्ने? मानक निर्धारण गर्ने सरकारी निकाय कुन हो? निर्धारणको आधार के हो?
‘पदमा पुगेका भाग्यमानी तुरुपहरूले नेपाली भाषालाई कुरूप बनाए। महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम आदि साहित्यदरबारका एक्का र बादशाहहरूलाई पनि गर्लम्मै ढाले।’ नेपाली भाषाका चिन्तित प्रयोक्ताहरू आज यस्तै चर्चा गर्दैछन्।
सातथरी नेपाली शब्दकोश पल्टाएपछि सातै दिनमा बहुलाइन्छ। नबहुलाउन त एउटा मात्रै पल्टाउनुपर्छ। कुनचाहिँ एउटा शब्दकोश पल्टाउने? सोध्नुहोला-त्रिविका भाषावैज्ञानिक र भाषाविशेषज्ञ स्वनामधन्य धुरन्धरहरूको नामावली रहेको प्रज्ञा प्रतिष्ठानकै ‘नेपाली बृहत शब्दकोश, सातौं संस्करण’ मानक हो? त्यो त झन् किन्दै नकिन्नुहोला। दशा पन्छाउन किनिहाल्नुभएको छ भने कृपया, त्यसलाई नपल्टाउनुहोला। त्यस बहुरूपीले त झन् तर्साउँछ। पेटबोलीमा जताततै दीर्घ ‘फूल’ फुलेको देखिन्छ, मूल प्रविष्टिमा हेर्दा ह्रस्व भइसकेको हुन्छ। ‘पूरा, पुरा’ आदि शब्दहरूको हबिगत त्यस्तै छ। राम्रो भएको भए सबै जनाको हुने, बिग्रिएको चाहिँ कसैको पनि नहुने? अख्तियारी प्राप्त उपकुलपतिज्यूले भूमिकाका माध्यमबाट सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ तर दोषचाहिँ लिनुभएको छैन। त्यसो त उपकुलपति गंगाप्रसाद उप्रेतीज्यू र उहाँकै समितिका सदस्य बूँद रानाज्यूले आफ्नै नाम बिगारिएको सुइँकोसमेत पाउनुभएनछ। संशोधनको अख्तियारी पाएका उपकुलपति महोदयले नै बहिष्कार गर्नुभएको ‘नेपाली बृहत शब्दकोश’को वर्णविन्यासलाई हामीले कसरी विश्वास गर्ने? पर्याप्त प्रमाण उहाँकै भूमिकामा पाइन्छ।
त्यस भूमिकामा प्रयोग गरिएका शब्द र शब्दकोशको तुलना गरे भइहाल्छ। सातौं संस्करणका वरिष्ठ सदस्य हेमांगराज अधिकारी, महादेव अवस्थी र बद्रीविशाल भट्टराईका शब्दकोश अरू नै छन्। अन्त प्रयुक्त वर्णविन्यासमा अर्कै प्रकार पाइन्छ त्यसैले असरल्ल छरिएको दोष उहाँहरूको भागमा पर्ने कुरै आएन। संशोधन समितिका संयोजक चूडामणि बन्धुज्यूलाई नै आफ्नो संयोजकत्वको शब्दकोशचाहिँ नभएर हेमांगराज अधिकारी तथा बद्रीविशाल भट्टराईज्यूको ‘प्रयोगात्मक शब्दकोश’ नै मानक हो भन्ने विश्वास छ। ‘बृहत नेपाली शब्दकोश’मा नाम छापिएका प्रायः सबैका मुखबाट निस्कन्छ, ‘शब्दकोशको कुरै नगरौं। मलाई केही थाहा छैन।’
यसैले पनि हामी निष्कर्ष निकाल्न बाध्य हुन्छौं- गल्ती जसले गर्यो , त्यो मान्छेले गरेको होइन, मुसाले गरेको हुनुपर्छ। सम्भवतः मुसो पनि गणेशजीको आशीर्वाद प्राप्त सर्वाधिकार सम्पन्न थियो होला, त्यसैले अदृश्य भयो।
संयोजक बन्धुज्यूले मानक शब्दकोश मान्नुभएको ‘प्रयोगात्मक शब्दकोश’मा क्षतिपूर्तिस्वरूप दीर्घीकरण गर्ने परम्परा राम्रोसँग धानिएको छ अर्थात त्यहाँ ‘फूल, पूरा’ जस्ता शब्दहरू दीर्घ नै भेटिन्छन्। २०६८ को संस्करणसम्म हेमांगराज अधिकारी र बद्रीविशाल भट्टराईको शब्दकोशमा चाहिँ चरोमुसो केही पनि पसेको पाइँदैन। हेमांगराज अधिकारीको ‘समसामयिक नेपाली व्याकरण, २०६६’ मा निकै लामा पदहरू पनि जोडिएरै लेखिएका छन्, क्षतिपूर्तिस्वरूप दीर्घीकरण पनि गरिएकै छ। आफ्नै शब्दकोश र व्याकरणका विपक्षमा बोल्न उहाँहरू कसरी बाध्य हुनुभयो? अथवा नियामकले नै नमानेको नियम मान्न हामी कसरी बाध्य बनाइयौं? यक्षप्रश्न यिनै हुन्।
अचेल शिक्षक र कक्षापिच्छे भिन्नभिन्न वर्णविन्यास सिकाइन्छ। विद्यार्थीले अगिल्लो कक्षामा ‘फुल फुल्छ’ लेख्दा चड्कन पाए, पछिल्लो कक्षामा ‘फूल फुल्छ’ लेख्नाले गाली खाए। त्रिविका प्राध्यापकभित्रै मतैक्य छैन। नयाँ वर्णविन्यासका पक्षमा खुलेर बोल्ने प्राध्यापकको संख्या गन्न एउटा हातका औंलाहरू नै पर्याप्त छन्। गोप्य मतदान गराउँदा थाहा भइहाल्छ। खुला गराउने भएचाहिँ यसै भन्न सकिँदैन। एउटै विद्यार्थीलाई एकै वर्षमा एउटै ‘त्रिभुवन विश्वविद्यालय’को मानविकी संकायमा एकथरी र शिक्षा शास्त्र संकायमा अर्कोथरी वर्णविन्यास प्रयोग गर्नुपर्दा कस्तो लागेको होला? प्राध्यापकहरूले दुई संकायमा दुइटा काय लिएर जानुपर्ने अवस्था छ। ‘आफूलाई विश्वमा कतै नभएको आधुनिक भाषा वैज्ञानिक भनाउनेहरूले नै प्रज्ञामा प्रभाव जमाए, पाठ्यक्रम विकास केन्द्रहरूमा पनि तिनैको हालीमुहाली रह्यो र वर्णविन्यासमा अराजकता आयो।’ सम्भवतः यो आरोप शतप्रतिशत सत्य हो।
‘नेपाली बृहत शब्दकोश, २०४०’ मा सहायक सम्पादक निर्देशक, विशेष सम्पादक, सम्पादक र सहसम्पादक सबै जना त्रिविकै (अपवादः सहायक सम्पादक हर्षनाथ भट्टराई) हुनुहुन्थ्यो। सातौं संशोधनमा माधव ढुङ्गेलबाहेक परिपूर्ण दशावतार त्रिविकै हुनुहुन्थ्यो। वर्णविन्यास बिगार्ने काम त्रिभुवन विश्वविद्यालयका निश्चित केही प्राध्यापकबाटै भएको छ। ताना चलुन्जेल ‘ताना सर्मा’ भएका तारानाथ शर्मालाई ‘सर्मा’को अर्थ ‘कुकुर्नी’ हो भन्ने बोध नहुन्जेलसम्म चेत आएन। ‘झर्रो सब्द्यौली’बाट ‘झर्रो शब्द्यौली’मै फर्किनुभएको वरिष्ठतम भाषाविद बालकृष्ण पोखरेलले अल्लारे हुँदा मनपरी गरेको अक्षम्य अपराध स्वीकार गरिसक्नुभएको छ। निर्दोष र अबोध विद्यार्थीहरूलाई बालकृष्ण पोखरेलज्यूहरू र हेमांगराज अधिकारीज्यूहरू के उत्तर दिनुहुन्छ? सम्भवतः उहाँहरू भन्न सक्नुहुन्छ- ‘प्रथम व्याकरणकार भगवान महेश्वर हुन्। हामी महेश्वरका वाहन हौं। त्यसैले व्याकरण परिवर्तनमा मनपरी गर्ने अधिकार हामी जुरेहरूलाई पदेन प्राप्त भयो।’
शिक्षा तथा संस्कृति मन्त्रालयरूपी महेश्वरहरू बोल्न सक्दैनन्, हामीचाहिँ वाहन महोदयका तरंगी तर्कमा ‘हो’ मिसाउन बाध्य पारिएका छौं। फुच्चे बाछाहरूको प्रश्न छ- ‘महोदयहरू! तपाईंहरूले बनाएको नियम तपाईंहरू स्वयंले चाहिँ पालना गर्नुपर्दैन?’
ठाउँ, समय, परिवेश अनुसार नेपाली भाषा पनि हजारौं प्रकारले बोलिन्छ। टेलिचलचित्रको धुर्मुसे पात्र एकै दिनमा अनेक प्रकारले बोल्न सक्छ। एउटै मान्छेको बोली बाल्य, युवा र वृद्ध यी तीन अवस्थामा भिन्नभिन्न सुनिन्छ। भाषाको उच्चारण वा बोलीचाली परिवर्तनशील हुन्छ। यसैले भाषालाई एकताबद्ध बनाउन तथा स्थायित्व दिन नै लेख्यपरम्परा बसेको हो। लेख्यपरम्परा परिवर्तन गर्न भाषावैज्ञानिकलाई कतिसम्म अधिकार हुन्छ? स्थापित मान्यता अनुसार वर्णविन्यास पनि नेपाली व्याकरणको अभिन्न अंग हो। नेपाली भाषाको वर्णविन्यासमा बालचन्द्र शर्माबाट सम्पादित ‘नेपाली शब्दकोश, २०१९’ ले स्थिति बसालिसकेको थियो। त्यसमा छुटपुट भएका ऐतिहासिक अभिलेख तथा स्थापित साहित्यकारका शब्दहरू र नव प्रचलित शब्दहरू थप्दै गएको भए पुग्ने ठाउँमा प्रज्ञा प्रतिष्ठानको तात्कालिक नेतृत्वले बिसुरका झर्रोवादीहरूलाई मनपरी दाइँ गर्ने अवसर दियो। ‘नेपाली बृहत शब्दकोश, २०४०’ का निर्देशक बालकृष्ण पोखरेल हुनुहुन्थ्यो। त्यसका सम्पादकमध्येका सर्वाधिक सक्रिय व्यक्ति कृष्णप्रसाद पराजुली नै हुनुहुन्थ्यो। २०६९ को ‘नेपाली कसरी शुद्ध लेख्ने?’ भन्ने घोषणापत्रमा बालचन्द्र शर्माकै समर्थन गर्ने अर्थात ‘…सकेर (दिसा गरिसकेर) दैलो देख्ने’ पनि उहाँहरू नै हुनुहुन्छ। उहाँहरूले बहर छँदा नपाएको ज्ञान बुढो भएपछि अर्थात हलो तान्न छोडिसकेपछि पाउनुभएछ। ढिलै भए पनि बुद्धि फिरेछ। पदमै छँदा सत्यको पक्षमा लागिदिनुभएको भए नेपाली भाषाले यस्तो कन्तबिजोग भोग्नुपर्ने थिएन।
आजका उन्मत्त वर्णविन्यासे बहर वाहनहरूले पनि भविष्यमा अवश्य पछुताउनुपर्नेछ, गुरुबाहरूले जस्तै गरी। विडम्बना! उहाँहरू पछुताउने बेलासम्म नेपाली भाषाको वर्णविन्यास क्षतविक्षत भइसकेको हुनेछ। उहाँहरूकै जुरो जोगाइदिनका लागि बिचरा भाषासम्पादक तथा बबुरा स्कुले शिक्षक र विद्यार्थीहरूले बाछाको मिचाइ कहिलेसम्म भोगिरहनुपर्ला? शुद्ध वर्णविन्यास प्रयोग गर्न चाहनेहरूले ‘त्रिशूल कि गाई?’ भनेर ढ्याक पल्टाउनुपर्ने अवस्थाबाट मुक्ति चाहेका छन्। भाषावैज्ञानिकको अधिकार क्षेत्र कति हो? त्यो पनि बुझ्न चाहेका छन्।
================================================================
================================================================
भाषालाई सुन्दर बनाउने त्यसको प्रस्तुति, शिल्प र प्रयोगले हो- वसन्त थापा
भाषा सललल बग्ने पानी र व्याकरण त्यसलाई नियन्त्रित गर्ने नहर जस्तो हो। कहिले कहिले नहरमा पानी नअटाए जस्तै व्याकरणले सिर्जनालाई रोक्न सक्दैन। मलाई धेरै पछिसम्म ‘रु’ दीर्घ हुन्छ भन्ने थाहै थिएन। हिमाल द्वैमासिक को सम्पादन गर्न थालेपछि एकजना सहकर्मीबाट दीर्घ पनि हुन्छ भन्ने थाहा पाएँ। त्यस्तै मैले होश पाउँदा पाउँदै भाषामा, व्यावहारिक व्याकरणमा धेरै परिवर्तन आइसकेछ― ‘शहर’ सहर भइसकेछ, ‘लण्डन’ लन्डन हुनपुगेछ। तर त्यति हुँदैमा लेख्नेलाई त्यसले छेक्दैन।
माड्सा’ब अर्थात् मदनमणि दीक्षित ठूला लेखक हुन्। मैले सन् १९७३ मा उहाँको सान्निध्यमा काम गर्ने अवसर पाएको थिएँ समीक्षा साप्ताहिक मा। उहाँका अक्षर गान्धीजीसँग पनि प्रतिस्पर्धा गर्ने खालका छन्। उहाँले ‘पनि’ लाई जहिल्यै ‘पनी’ लेख्नुभयो। हामी छाप्ने बेलामा ह्रस्व बनाउँथ्यौं, उहाँले किमार्थ सच्याउनुभएन। तर ‘पनि’ दीर्घ लेख्दा पनि त्यसले उहाँलाई प्रज्ञा–प्रतिष्ठानको कुलपति र ठूलो लेखक हुनबाट रोकेन। नामुद भारतीय लेखक खुशवन्त सिंहबारे एकपटक ठूलै पत्रकार कुलदीप नायरले लेखेका थिए, “खुशवन्त सिंह राम्रा लेखक हुन्, तर उनको व्याकरण ठीक छैन।” यथार्थ के हो भने, खुशवन्त सिंह ठूला लेखक हुन् कुलदीप नायर केवल पत्रकार। तर्कुले, बर्धने, जोड्ने, छुट्याउने प्रुफरिडिङका काम हुन्। मलाई अहिले पनि थाहा छैन― कारक, समास, अव्यय। शुद्ध लेख्नुपर्छ, कुनै शंकै छैन। व्याकरण आवश्यक छ, जथाभावी हिंड्नुहुँदैन। तर भाषालाई सुन्दर बनाउने त्यसको प्रस्तुति, शिल्प र प्रयोगले हो।
अंग्रेजी भाषाका सामुन्ने हामी पछौटे छौं, हाम्रो शब्द भण्डार थोरै छ भन्ने हामीलाई लाग्छ। तर हाम्रो भाषालाई विशिष्टता प्रदान गर्ने केही गुणहरू छन्। एकपटक लालित्यबारे कविवर माधव घिमिरेले राम्रोसँग बताउनुभएको थियो। ऊ मुसुमुसु हाँस्यो, ऊ कालो कालो थियो (कालो होइन), पानी पर्ला पर्ला जस्तो छ (पर्ला भनिएको छैन)― यस्तो अंग्रेजीमा छैन। अनुकरणात्मक शब्द पनि हाम्रा विशेषता हुन्― प्याच्च बोल्ने, थ्याच्च बस्ने, गुर्लुम्म ढल्ने। बन्दूक पड्किनुलाई हिन्दीमा ‘धड्याङ्’ र अंग्रेजीमा ‘ड्याङ्’ भन्छन्, तर हाम्रो भाषाको ‘ढ्याङ्’ नै त्यो ध्वनिको नजिक जस्तो लाग्छ।
हामी अंग्रेजीका सामुन्ने दबेको अनुभव गर्छौं, आफ्नो भाषाको शक्ति सामर्थ्य नबुझनाले। अहिले यता आएर नेपाली भाषामा ठूलो खतरा पैदा भएको छ― अंग्रेजीबाटै। अंग्रेजीमा नित्य नयाँ शब्द–शब्दावली प्रयोग भइरहेका छन्। हिजो ‘स्टेकहोल्डर’ भन्ने शब्द अवतरित भयो, हामीले त्यसलाई सरोकारवाला भन्यौं। ‘ड्राइभर’ भन्ने शब्द आयो; त्यसलाई गुरुजी, चालक त भन्न भएन, सारथि वा त्यस्तै केही भनेर अनुवाद गरियो। अहिले विकासे भाषामा ‘एक्टर’ भन्ने आएको छ, तर यो अभिनयकर्ता होइन। ‘पोलिटिकल एक्टर’ लाई के भन्ने? दाताहरूले, विकासे विशेषज्ञहरूले ‘एकाउण्टिबिलिटी’ हुनुपर्छ भने, नेपालीमा त्यसलाई जवाफदेहिता भनेर अनुवाद गरियो। तर त्यो सरासर गलत र भाषाको विशेषतालाई मार्ने काम हो। ‘एकाउण्टिबिलिटी’ मा उत्तरदायित्व, जिम्मेवारी पनि निहित हुन्छ। उनीहरूको भाषामा जस्तो एउटै शब्दको हाम्रोमा अभाव छ, तर हाम्रा आफ्नै विशेषताहरू पनि छन्।
उदाहरणका लागि ‘सौता’ को अंग्रेजी मैले भेटेको छैन। पर्सि, निपर्सि, कानेकोर्सि, पोहोर, परार आदि पनि त्यस्तै हुन्। नातागोता बुझ्ाउने शब्दहरू जस्तै ‘भान्दाइ’ लाई अंग्रेजीमा के भन्ने? ‘प्रयोग’ भन्ने शब्दको पनि दुरुपयोग भएको छ। ‘आकाशे पुलको प्रयोग गरौं’ या ‘अर्को ढोका प्रयोग गरौं’ भनिन्छ,मानौं त्यो प्रयोगशाला हो। ‘अर्को ढोकाबाट आउनुस्’, ‘आकाशे पुलबाट जानोस्’ भने हुन्छनि! अंग्रेजीको ‘युज’ लाई हामीले सर्लक्कै ल्यायौं र जे पनि ‘युज’ हुनथाल्यो। नेपाली खुकुरी पनि चलाउन होइन, प्रयोग गर्न थालियो।
अचेल किताब किन्छु, धेरै पढ्दिनँ। भाषाले तान्दैन। लेख्य साहित्यमा त भाषाले तान्नुपर्छ। कथासार मात्रै चाहिने हो भने त बाँदर्नी मैयाँका कथा, सुनकेशरी मैयाँका कथा, राजकुमार दिक्पालका कथा गजब छन् नि! सूक्ष्म वर्णनकै लागि हामीलाई भाषाको लालित्य चाहिन्छ। त्यो अभाव देखेपछि यसो एकदुई पृष्ठ पढ्छु, थन्क्याउँछु।
पद्य र गद्य दुवैमा उपमा, उपमेय, रूपकको निकै अभाव देख्छु। भारतीय सिनेमा गाइड मा शैलेन्द्रले क्या गजब उपमा लेखेका छन्― “तेरे मेरे दिलका तय था एक दिन मिलना, जैसे बहार आने पर तय है फूल का खिलना।” कस्तो गजब उपमा! त्यस्ता गीतको, उपमा र उपमेयको हामीकहाँ कमी छ।
व्याकरण र लालित्यकै कुरा गर्दा अरुणा लामाले गाएकोे गीत छ, “यहाँ फूल नखिली छ, बहार आउन नै भुलेछ।” त्यो ‘नखिली’ भन्ने शब्द मलाई निकै मर्मस्पर्शी लाग्छ। तर त्यसलाई व्याकरणले मान्दैन, ‘नखिली’ को सट्टा ‘फुलेनछ’ भन्दा सुहाउँदैन। सिर्जनाका लागि कहिलेकाहीं व्याकरणका पर्खाल भत्काउनुपर्छ।
अर्को हामीलाई ‘पोलिटिकल्ली करेक्ट’ हुनुपर्ने अवस्थाले बिगारेको छ। अचेल ‘नारी’ लाई नारी भन्दैनन्,स्वास्नीमान्छे र आइमाई त झ्न् भन्नै भएन। महिला आयोग भन्दा त ठीक सुनिन्छ, तर तीजलाई महिलाहरूको चाड भन्दा नारीहरूको चाड भन्दा राम्रो सुनिन्छ नि! कुनै पुरुष स्त्रैण चरित्रको छ भन्नुपर्दा अब के त्यो पुरुष महिला जस्तो छ भन्ने? भोटेकुकुर होइन, हिमाले कुकुर रे! त्यसोभए भोटेताल्चा के हुने? हिमाली ताल्चा? भोटे नुन, हिमाली नुन हुनेभयो। हाम्रो धरानको भोटेपुल पनि हिमाली पुल हुनेभयो। मैले एकपटक हिमाल मा आफ्नो स्तम्भमा अपाङ्गतासम्बन्धी केही लेखेको थिएँ, ‘डुँडे’ या यस्तै। त्यसमा धेरै प्रतिक्रिया आयो, अपाङ्गलाई हेपियो भनेर। अब ‘नहुनुभन्दा कानो मामा राम्रो’ भन्ने उखानलाई के भन्ने? ‘नहुनु मामाभन्दा एकनेत्र भएको मामा राम्रो’ भन्ने?
पश्चिममा कालो वर्णका मानिसलाई ‘ब्ल्याक’ नभनेर ‘नन्ह्वाइट’ अर्थात् अश्वेत भन्ने चल्यो। तर अमेरिकामा ओबामा राष्ट्रपति भएपछि आरामले ‘ब्ल्याक प्रेसिडेन्ट’ भने त। ‘ब्ल्याक’ लाई ब्ल्याक भन्दा के आपत्ति? ‘पोलिटिकल्ली करेक्ट’ हुने नाममा भाषाको प्राण हरण गर्नुहुँदैन। हरेक भाषा, शब्दका आ–आफ्नै विशेषता हुन्छन्।
भाषामा नागरिकता पनि खोज्नुहुँदैन। जावेद अख्तरको गीतमा झ्ैं ‘पंछी नदिंया पवनके झ्ोकें’ जस्तै भाषाको कुनै सरहद हुँदैन। अस्ति मेरो प्रकाशनले झ्लक सुवेदीको किताब छाप्यो, ब्रिटिश साम्राज्यका नेपाली मोहरा भन्ने। एकजना साथीले ‘मोहरा त हिन्दी शब्द पर्यो नि बसन्तजी’ भने। त्यसो होइन। हामी पहिले उर्दू, अरबी, फारसी भाषाका धेरै शब्द प्रयोग गर्थ्यौं। म नै पहिले ‘बाबजूद’ शब्द धेरै प्रयोग गर्थें, तर पछि छोडें। हामी अहिले शनै शनै त्यस्ता शब्द लखेट्दैछौं। तर अहिले आएर लाग्छ, संप्रेषण भयो, बुझ्िन्छ र हाम्रोमा रत्तिइसकेका छन् भने राख्नुपर्छ। ‘अड्डा’ भनिन्थ्यो पहिले, अहिले ‘कार्यालय’ भएको छ। कार्यालय पनि ठीकै छ, तर अड्डालाई नफ्याँकौं।
अंग्रेजीको ‘बोस’ को नेपालीमा हाकीम जस्तो उपयुक्त शब्द छैन, प्रमुख अधिकृत भनेर पुग्दैन। त्यस्तै ‘नायब’ भनेको ‘उप’ पनि होइन, ‘सहायक’ पनि होइन र ‘कायम मुकायम’ पनि होइन। नायब भन्ने शब्द नै हराउला भन्ने डर छ। हामीले आफ्नो शब्दभण्डारलाई संकुचित बनाउनुहुँदैन। ‘टेन्सन’, ‘सरी’, ‘कम्प्युटर’ जस्ता कति अंग्रेजी शब्दहरू नेपाली भइसके। अक्सफोर्डले अंग्रेजीमा प्रत्येक वर्ष बाहिरका नयाँ–नयाँ शब्द प्रविष्ट गराइरहेको छ, जसमा कैयौं नेपाली शब्दहरू पनि परेका छन्।
केही व्यक्तिले नेपालीलाई ‘खस भाषा’ भनेको सुन्दा मलाई जङ् चलेर आउँछ। नेपाली भाषालाई यसअघि धेरै नाम दिइयो। ‘पर्वते’ पनि भनियो होला। जुद्ध शमशेरको पालाभन्दा अघि ‘गोर्खा भाषा’ भनिन्थ्यो। गोर्खा भाषा प्रकाशिनी समितिले गोर्खापत्र निकाल्थ्यो। पछि दार्जीलिङमा सूर्यविक्रम ज्ञवालीहरूले नेपाली साहित्य सम्मेलन गरेर ‘नेपाली भाषा’ भन्न जोड दिएपछि नेपाली भाषा प्रकाशिनी समिति भयो। तपाईंलाई ‘नेपाली’ भन्न चित्त बुझदैन भने ‘गोर्खा भाषा’ भन्नुस् न, ‘खस’ किन भन्नुहुन्छ? यो एक किसिमको राजनीतिक पूर्वाग्रह प्रेरित भावना हो। यद्यपि यस्तो भन्नेहरूको पनि रचना लेख्दा, झ्गडा गर्दा, भाषण गर्दा, सपना देख्दा सबै नेपालीमै हुन्छ; भन्ने बेला चाहिं खस भाषा भन्छन्। यो तौहिन गर्ने काम हो।
अर्को चित्त नबुझ्ेको कुरो― हालसालै मैले कतै पढेको थिएँ, ‘नेपाली विमातृभाषी भएर पनि उहाँले यति राम्रो लेख्नुभयो।’ यो मलाई नै भने जस्तो लाग्यो र चोट पर्यो। म उहाँहरूको दृष्टिमा मगर समुदायको वा अहिलेको भाषामा भन्ने हो भने जनजातिको प्रतिनिधित्व गर्ने व्यक्ति परें, त्यसैले नेपाली मातृभाषी परिनँ, नेपाली भाषा मेरो भएन। अब उहाँहरूले ‘तिमी विमातृभाषी भईकन पनि नेपाली राम्रै लेख्दा रहेछौ’ भनेको मलाई सह्य हुन्छ? भाषाका खास सन्तान हुँदैनन्, जसले उपयोग र अभ्यास गर्यो तिनै हुन् भाषाका सन्तान।
कसैका पिता ब्राह्मण होलान्, माता जनजाति भनिने समुदायकी। अब उनीहरूकोे मातृभाषा के हुने? यसरी मातृभाषाका नाममा हियाउनुहुँदैन। यो भूपी शेरचन, काइँला दाइ (बैरागी काइँला), इन्द्रबहादुर राई, अम्बर गुरुङको अनादर हो। नेपाली भाषा सबैको हो, सबै यसका सन्तान हुन्।
एकपटक हृषीकेश शाहले भन्नुभएको थियो, “के गर्छन् यी बाहुनहरूले, यो नेपाली भाषा त हाम्रो मातृभाषा हो, उनीहरूको त संस्कृत हो।” ब्राह्मण मित्रहरू जो नेपाली भाषालाई आफ्नो मातृभाषा भनेर अभिमान वा गर्व गर्नुहुन्छ उहाँहरूलाई मेरो भन्नु छ― हो तपाईंहरूको मातृभाषा संस्कृत हो, तर नेपाली हामी सबैको भाषा हो।
(एनसेल नेपाल लिटरेचर फेस्टिभलमा थापाले व्यक्त विचारको सम्पादित अंश।
No comments:
Post a Comment