Saturday, October 29, 2016

भाषा विवाद : माउ खानेले बाछाबाछी खान्छ, देवकोटालाई निल्नेले तपाईं–हामीलाई निल्छ

अहिले नेपाली बृहत् शब्दकोश २०७२ आएपछि नेपाली प्राज्ञिक तथा भाषिक जगत् निकै तातेको छ । यस कोशमा गरिएको परिमार्जनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालय, नेपाली विभाग तथा त्यसका आङ्गिक क्याम्पसहरुले विज्ञप्ती नै जारी गरी घोर विरोधमा लागेका छन् अर्थात नेपाली भाषा साहित्यको प्रवद्र्धन गर्ने संस्था नेपाल प्रज्ञा प्रतिष्ठानमाथि खनिएका छन् । यस कोशमा खासगरी नेपाली भाषामा प्रचलित संयुक्त वर्णहरुको सट्टामा हलन्तको प्रयोगको विषय नै विरोधको मुख्य कारण बनेको छ । शुद्ध को सट्टा शु द् ध, विद्यालयको सट्टा वि द् यालय, प्रजाको सट्टा प् र जा जस्ता शब्दहरुको प्रविष्टि संशोधित शब्दकोशमा दिइएको छ । तर यो हलन्त विरोधी आन्दोलन चाहिँ नयाँ होइन ।
नेपाली भाषालाई विश्वका अरु प्रगतिशील भाषाको समकक्षमा पुर्याउने उद्देश्य लिएर वि. सं. १९६५ मा राममणि आ.दी. (१९४१–२०२८) ले बनारसमा माधवी पत्रिका प्रकाशित गरी हलन्त बहिष्कार आन्दोलन चलाएका थिए । तत्कालीन समयमा उनलाई हलन्त सम्बन्धमा यस्तो आक्रोश जागेको थियो– ‘‘मलाई त्यो बेला रामप्रसाद सत्याल, सदाशिव अधिकारी, शम्भुप्रसाद ढुंगेल र कवि शिखरनााथ सुवेदीहरुको मनपरी सँग खुट्टा काटने चलनले भाषा माथीको तांडव नृत्य संझी सहीनशकनू भएको थियो ।” उनले भनेका थिए– ‘‘मेरो सिद्धान्त एक दिन अवश्य पनि विजयी हुनेछ भन्नेमा म विश्वस्त छु । हलन्त बहिष्कार भएरै छोडछ …. छोडछ ।” (हे. प्राडा दयाराम श्रेष्ठ, साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ पृ. १३६÷३७) उनको यो दृढता धेरै हदसम्म कार्यान्वयन भयो र भाषामा धेरै नै सुधार आयो । राममणिले यो आन्दोलनको नेतृत्व गरेर निकै सफल भएका थिए र त्यही समयदेखि संयुक्त वर्णको प्रचलन बढेको हुनुपर्छ ।
अहिलेको भाषिक आन्दोलनको नेतृत्व गर्ने व्यक्ति देखिइनसकेको भए पनि त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले हलन्त वरोधी अभियान सुरु गरेको सामाजिक सञ्जालमा प्रशस्तै देखापरिसकेका छन् । अनि नेपाल प्रज्ञा प्रतिष्ठानले विवाद समाधनका लागि चूडामणि वन्धुको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनाएको छ । तर यो विवाद समाधान हुन त्यति सहज जस्तो देखिँदैन । यो अभियान नेपाली बृहत शब्दकोश २०७२ खारेज गरेमा मात्र मत्थर हुने देखिन्छ । त्यसैको विरोध गत शनिबार अनुपम साहित्य सिर्जना प्रतिष्ठान, कलङ्कीमा पनि भयो । नेपाली भाषा–साहित्यमा योगदान पु¥याउने भाषाकर्मीहरुको सम्मान गर्न आयोजित कार्यक्रममा नेपाली भाषामाथि भएको निन्दनीय कार्यको बलदेव गाउँलेले पोखेका आक्रोषको सार मोहन दाहालले प्रस्तुत गरेका छन् :
14585459_10209101210440745_1183883373_nबलदेव गाउँले, नेपाली भाषा बचाउ अभियानका संयोजक
संयुक्त अक्षरमा नेपाली भाषाका यावत विषयमा गरिएको प्रहार सामान्य होइन । यो प्रहारलाई अत्यन्त गम्भीर रुपमा लिइदिनुहुन विनम्र अनुरोध गर्दछु । महाकवि लक्ष्मीप्रसाद देवकोटा १४ भाषामा साहित्य सिर्जना गर्ने महापुरुष हुनुहुन्थ्यो । नेपाली भाषाको मानक व्याकरण र मानक शब्दकोशका आधारमा अत्यन्त सावधानीपूर्वक लेखन गर्ने देवकोटाले मुनामदनमा समेत नेपाली भाषा प्रकाशिनी समितिको नियम अनुसार हिज्जे प्रयोग गरेको छु भनेका थिए । अहिले पनि साझाले छाप्नेमा पनि त्यो आएको छ ।
हामी छन्दमा लेख्छौं भने त्यहाँ शब्द बटार्न आवश्यक छैन । शब्द नबटारीकन नबिगारीकन हामी छन्दमा सललल बग्न सक्छौं । २०७२ फागुन २८, २९ र ३० मा काँकडभिट्टाको पल्लोछेउमा बसेर नेपाल, भारत, भुटान र वर्मातिरका केही साक्षार र अर्धसाक्षरहरु जम्मा ६० जना बटुलेर अन्तर्राष्ट्रिय नेपाली भाषा संगोष्ठी भन्नेमा कथ्य मानक अनुसार लेख्य मानक बनाउन प्रयत्नशील रहने भन्ने निर्णय भएको छ । त्यहाँ एउटा छत्र फुयाल भन्नेले त ‘छ’, आधा ‘त्’ र ‘र’ नै लेखे नाममा । हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भनेदेखिन कथ्य अनुसार लेख्य बनाउने भनेर हलन्तीकरण गर्नेवित्तिकै हाम्रो छन्दमा त कमल नै भन्छौ नि कमल् भन्दैनौं । हाम्रो कमल सबैले बुझिराखेकै छन् । हाम्रो छन्द समाप्त हुँदै छ ।
कवि शिरोमणिले भने जस्तै नेपाली कविले खुट्टा काटेका वर्णझैं ढले भनेर ऋतुविचारमै लेखेका छन् उनले । अब फेरि खुट्टा काटेर ल्याउने डरलाग्दो कुरा भयानक छँदैछ ।
गरीब भन्छौ
सुखको म झैं धनी
मिल्दैन संसार यसरी कतै पनिsabda-kosh-1
त्यहाँ गरीब दीर्घ हुनै पर्छ, फेरि त्यहाँ छन्दको सुगमताका लागि त्यहाँ गरीब दीर्घ लेखिएको होइन । त्यो शब्द नै दीर्घ भएरै आएको छ । त्यो कविताको शीर्षक अहिले नेपाली बृहत् शब्दकोशमा पाइँदैन । दुःखको कुरा दोषी चश्मा जहाँ तालव्य शको प्रयोग भएको छ । विश्वेश्वर प्रसाद कोइरालाको त्यो शीर्षक अब नेपाली बृहत् शब्दकोशमा पाइँदैन । चिसो चुल्होको चुल्हो अब नेपाली बृहत् शब्दकोशमा पाइँदैन । सावधानीपूर्व मानक शब्दकोश र मानक व्याकरण हेरेर प्रयोग गरिएका शब्द कसरी अशुुद्ध हुन्छन् । हाम्रो माग के हो भने मानक शब्दकोश १९९८ मा बगलीकोश बन्नु भन्दा अगाडि लगभग पचासौँ वर्षसम्म हाम्रा दिग्वज विद्वानहरुले, त्यतिबेलाका एउटा विद्वान र अहिलेका हामी सबै विद्वनलाई मिसाउँदा तौल त्यही एउटा विद्वानको बढी हुन्थ्यो । सोमनाथ सिग्द्यालहरुका समयको कुरा । त्यस्ता सयौं विद्वाहरुले दीर्घतम अध्ययन, अनुसन्धान र चिन्तन गरेर निष्कर्षमा पु¥याएर बनाइएको हो । नेपाली भाषा प्रकाशिनी समितिको बगलीकोश १९९८ को चक्रपाणि चालिसेले सम्पादन गरेको हो ।
यहाँहरु मभन्दा धेरै ठाउँमा डुल्नुभएको छ । जहाँ जहाँ जानुभएको छ भन्नुहोस् गेष्टहाउसमा कति ठाउँमा दन्त्य स (‘गेस्टहाउस’) कति ठाउँमा देख्नु भएको छ ? रेष्टुराँमा दन्त्य स (रेस्टुराँ) कहाँ देख्नुभएको छ ? मूर्धन्य ष नै देख्नुभएको छ । यस्ता वर्ण सबै ठाउँमा सहज रुपले प्रयोग गरिराखेका छन् अहिले पनि । त्यति वैज्ञानिक थियो हाम्रो वर्ण विन्यासको स्थापन त्यो परम्परा । त्यसलाई समाप्त गरिदिएपछि देवकोटाका हजारौं शब्दहरु अशुद्ध ठहरिन्छन् । शीर्षक नै अशुद्ध भइसक्यो ।
अब भन्नुहुन्छ होला उहिलेका कुरा खुइले । उहिलेका कुरा खुइले हुँदैन, उच्चारणमा, शब्दको अर्थमा तलमाथि हुन सक्छ, त्यसैले भाषालाई स्थायित्व र जीवन्तता दिनका लागि लेख्य परम्परा आउँछ । लेख्य परम्परा संसारमा यो कहीँ पनि मानक शब्दकोशमा एक पटक प्रवेश पाइसकेको शब्द, साहित्यकारहरुले प्रयोग गरेको त्यो शब्द अशुद्ध भन्ने अधिकार संसारमा कसैलाई हुँदैन कुनै भाषामा हुँदैन । अङ्ग्रेजी भाषा हेर्नुस् न, मैले अङ्ग्रेजीका धेरै विद्वानहरुलाई सोधेँ त्यहाँ पनि धेरै कुराहरु पनि हेरेँ, त्यसै बोलेको होइन, अङ्ग्रेजीमा कुप्राबाजेले किनेको शब्दकोश पनातिले, खनातिले पढ्न पाउँछ, त्यो शुद्ध नै भइरहन्छ । नेपालीको शब्दकोश पोहोर किन्यो अहिले काम लाग्दैन । यसको पछाडि एकजना व्यक्तिको शब्दकोश व्यापारको रहस्य पत्ता लागेको छ ।
विद्यार्थी पुस्तक भण्डारबाट नेपाली भाषाको प्रयोगात्मक शब्दकोश निष्कन्छ, त्यहाँ २०४० को नेपाली बृहत् शब्दकोश अनुसारकै वर्णविन्यास प्रयोग गरियो । त्यही टोली गएर २०६७ को नेपाली वृहत् शब्दकोशलाई संसारमा सबैभन्दा काम नलाग्ने शब्दकोश कुन हो भने भने नेपाली बृहत् शब्दकोश २०६७ हो भन्ने गरी बिगारियो र आफ्नो शब्दकोश २०७० सम्म एकलौटी बिक्री गरियो । २०७० मा आफ्नो शब्दकोश संशोधन गरियो र तिनै व्यक्तिबाट २०७२ मा नेपाली बृहत् शब्दकोशको सर्वाधिकार लिएर आइयो । दुःखको कुरा बृहत्को अर्थ सानो हो कि ठूलो हो ? पक्कै पनि ठूलो हो तर उनै हेमाङ्गराज अधिकारी, नाम भन्ने पर्छ मलाई आज यस्तो शुभ दिनमा त्यस्ता अशुभ व्यक्तिको नाम लिने इच्छा पनि थिएन, तर जानकारी मैलै गराउनै पर्छ अपराधीहरुको, चिन्नु होस् अपराधीहरु ।
नेपाली भाषा कसलाई अफ्ठ्यारो भएको हो अरे भने नेपाली वर्णविन्यास पहिले बालकृष्ण पोखरेल र बल्लभमणि दाहाललाई, बाहुन बाहुनीका छोराछोरीलाई तथाकथित बाहुनलाई । सजिलो चाहिँ कल्लाई भयो भने धनबज्र बज्राचार्यलाई । धनबज्र बज्राचार्यले सोमनाथ सिग्द्यालले समेत तत्सम शब्द अशुद्ध लेखे भनेर समातेका छन् । उनीचाहिँ बाहुनका छोरा हुन् ।
अरु जातिलाई सजिलो बनाउन भनेर यसो गरिएको भनेर अहिले कुरो आउँदैछ । हेर्नुस् यी सबै फटाइँका कुरा हुन् । हृदयचन्द्र सिंह प्रधान काठमाडौंका नेवार, नेवारी मातृभाषा भएका नेवार । उनले २००२ सालमा चिन्ह परिचय निकाले । २००४ मा शब्दशुद्धिविचार निकाले, २०१५ सालमा शब्दशुद्धिविज्ञान सानो पुस्तिका निकाले र त्यहाँ उनले के भने भने यो पुस्तिका पढेर कसैले शुद्ध लेख्न जानेन भने म पुरस्कार दिन्छु । सातै दिनमा शुद्ध नेपाली लेख्न जानेन भने म पुरस्कार दिन्छु भनेर घोषणा गरेका छन् । सजिलो धनबज्र बज्राचार्य र हृदयचन्द्र सिंह प्रधानलाई भयो ।
यस्तै भारतमा कसलाई भयो सुन्नुस फेरि, भारतमा पारसमणि प्रधानलाई, नेवारलाई सजिलो भएको नेपाली तथाकथित ब्राह्मणहरुलाई असजिलो हुनुको अर्थ बुझ्नुहोला उहाँहरु कसको दासतामा हिँड्नु भएको छ, कसको घिच्नु भएको छ । टिप्नुस्, घिचेका छन्, घिचेका छन्, यी महाअपराधीहरुले । र आज हाम्रा संयुक्त अक्षरहरु समाप्त गरेका छन्, समूल नष्ट गराउन ।
कथ्यअनुसारको लेख्य मानक बनाउने कार्य संसारमा कुनै भाषामा हुन सक्दैन । हामी एकै जनाले तीसौं सन्दर्भमा एउटै शब्द बोल्यौं भने २० किसिमको लवज आउँछ । हाम्रै उच्चारणमा एकै दिनमा एकरुपता आउन सक्दैन । विश्वव्यापी भएको नेपाली भाषाको प्रयोक्ताहरुको उच्चारणलाई एकरुपतामा ल्याएर त्यसका आधारमा मानकीकरण गर्ने भन्ने कुरा कहिले पनि हुन सक्दैन ।
पाणिनीले दिएको उच्चारणको प्रक्रिया जुन थियो नि लेखन र उच्चारण, त्यो समाप्त गरेर नेपाली नेपाली वर्णका छवटा स्वर मात्रै उच्चारण गरिन्छ । २९ वटा मात्रै व्यञ्जन उच्चारण गरिन्छ भनेर भ्रामक हल्ला प्रचार गर्ने र प्रचार गर्न सिकाउनेहरु, पढाउनेहरु अब सचेत हुँदैछन् । खबरदार । खबरदार । कहाँ कसबाट कति लिएका छन्, हामी एक एक हिसाब खोज्दैछौं । छोड्नेवाला छैनौं ।
हेर्नोस् भुइँचालाले मक्काएको घर भत्काउनु प¥यो भने अंशियार, सँदियार सबैको सहमति चाहिन्छ । अज सम्पूर्ण नेपालीको प्रयोगको लेख्यभाषा, लेख्य परम्परा भत्काउनका लागि यिनीहरुले कतिजनासँग अनुमति लिए ? देवकोटाको अनुमति चाहिन्छ देवकोटाको, गरीबको री ह्रस्व बनाउनलाई । देवकोटाको छोरोले दिन पाउँदैन । कसैले पनि पाउँदैन । स्वयम् देवकोटाले मात्र पाउँछन् गरीबको री ह्रस्व बनाउन । हृदयचन्द्र सिंह प्रधानको नाम नै काटकुट गराइयो । अरु कुरा छाडौं एक चिहान उपन्यास हृदयचन्द्रको लोकप्रिय उपन्यास कति मोटो थियो त्यसलाई काटकुट बनाएर एक चौथाइ आकारमा ल्याएर पढाउने अधिकार यी तानाशाहाले कहाँबाट पाए ? त्यसैले जघन्य अपराध भएको छ ।
माउ खानेले बाछा बाछी खान्छ, देवकोटालाई निल्नेले तपाईं हामीलाई बाँकी राख्ने छैन । कृपया कवि तथा साहित्यकार हुन खोज्नु भएको हो भने सचेत होइदिनुस् । देवकोटालाई माया गरिदिनुस्, देवकोटालाई जोगाइदिनुस् ।
जय नेपाली भाषा ।
प्रस्तुति : मोहन दाहाल
http://www.ratopati.com बाट साभार 

No comments:

Post a Comment