Friday, October 28, 2016

भाषा व्याकरण सम्बन्धी विवाद : समाधान कसरी ? – प्रकाश थापामगर

भाषा व्याकरण सम्बन्धी विवाद : समाधान कसरी ? – प्रकाश थापामगर
विचार विश्लेषण
0
विषय प्रवेश

२०६७ पौष २६ देखि २९ गतेसम्म सम्पन्न नेपाली भाषा सङ्गोष्ठी २०६७ को वर्ष नबित्दै सङ्गोष्ठीका निर्णयमाथि विवाद सुरु भयो । खास गरी लेखक, पत्रकार, साहित्यकारका तर्फबाट यस्तो विवाद उठाइयो । उनीहरुमध्ये कसैले “ललितपुर घोषणा पत्र २०६८” जारी गरे भने कसैले “नयाँ नेपाली कसरी शुद्ध लेख्ने २०६९” (नयाँ नेकशुले) । यस्तो अभियानमा नेपाली बृहत् शब्दकोश (नेबृश) को प्रथम संस्करण–२०४० का निर्देशक सम्पादक वा वरिष्ठ झर्रोवादी विद्वान बालकृष्ण पोख्रेल पनि सामेल भए ।

केही समयसम्म “ललितपुर घोषणा पत्र” र “नयाँ नेकशुले” ले पत्रपत्रिकामा चर्चा पायो । केही पुस्तक प्रकाशित भए । यसै सालको पूर्वाद्र्धमा नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्वोत्तर भारतको नेपाली भाषी संस्थासित संयुक्त कार्यक्रम सम्पन्न गर्यो । २०७२ सालमा बलदेव अधिकारी “गाउँले बलदेव” को नेतृत्वमा “नेपाली भाषा बचाऔँ अभियान” गठन भएपछि यतिखेर यो विवाद फेरि शिखरमा पुग्न थालेको छ । पत्रकार शरच्चन्द्र बस्ती र अधिकारी लगायतको एउटा समूहले यतिखेर भाषा सङ्गोष्ठीका विरुद्धको विवादमा नेतृत्व लिने प्रयास गरी रहेको छ । बस्ती र अधिकारी तिनै व्यक्ति हुन्, जसले भाषा सङ्गोष्ठीमा भाग लिएका थिए । त्यतिखेर अधिकारीले सङ्गोष्ठीको क समूहमा रहेर “शब्दकोष, लिपि र आगन्तुक शब्दको वर्ण विन्यास” विषय अन्तर्गत छलफल गरेका थिए । उनले ग्यालेक्सी माविबाट प्रतिनिधित्व गरेका थिए । त्यस्तै, पत्रकार बस्ती गोरखापत्र दैनिकको तर्फबाट सङ्गोष्ठीमा उपस्थित थिए । सङ्गोष्ठीको दोस्रो दिन पौष २७ गते कार्यपत्र प्रस्तुत भई सकेपछि पत्रकार बस्तीले “विशेष मन्तव्य” राखेका थिए । अहिले तिनै दुई विद्वानहरु सङ्गोष्ठीको निर्णय विरुद्ध खुलेर लागेका छन् ।
अधिकारीले सङ्गोष्ठीको निर्णय उपर अख्तियारदेखि राष्ट्रपतिसम्मलाई निवदेन गरी रहेका बेला नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापा मगरले व्यवस्थापिका–संसदमा विवादास्पद अमेरिकी क्रिस्चियन संस्था समय इन्स्टिच्युट लिङ्गुइस्टिक (सिल) को प्रभावमा तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले वर्ण विन्यास सम्बन्धी फाइलमा हस्ताक्षर गरेको आरोप लगाएका छन् । तर उनले यो आरोपलाई पुष्टि गर्न प्रयास गरेको देखिएन । त्यस्तै, सांसद थापाका साथै अरू सांसदहरु गीता राना क्षेत्री र कान्ता भट्टराईले पनि भाषामा “भद्रगोल” भएको विषय उठाए । यस अघि पूर्व मन्त्री शर्माको अभिव्यक्ति सञ्चार माध्यममा प्रकाशित भएको थियो । उनले सङ्गोष्ठीको निर्णय कार्यान्वयन सम्बन्धमा हस्ताक्षर गरे पनि आफू भाषा व्याकरण सम्बन्धी उक्त परिपत्रबारे अनभिज्ञ रहेको बताएका थिए । पूर्व मन्त्री शर्माको अभिव्यक्तिलाई अर्का पूर्व शिक्षा मन्त्री प्रदीप नेपालले पनि समर्थन गरेका छन् । भाषा सम्बन्धी विवादमा एमाले नेता समेत रहेका नेपाल सामेल भएपछि अब यो विवादले राजनीतिक रूप धारण गर्ने सम्भावना बढ्दै छ । चिन्ताको विषय यही हो । हुन त भाषा विवादका सवालमा सन्तुलित दृष्टि राख्नेहरुको पनि हामीमाझ कमी छैन ।
विवाद नयाँ होइन
नेपाली भाषामा व्याकरण सम्बन्धी अहिलेको विवाद नौलो होइन । यस अघि धेरै पटक यस्ता विवाद भएका थिए । विवादकै माझबाट “चन्द्रिका”“मध्य चन्द्रिका”, “नेपाली कसरी शुद्ध लेख्ने ?” हुँदै विभिन्न गोष्ठी, २०४० सालमा नेबृशको प्रथम संस्करण प्रकाशन भए । त्यसपछि पनि विवाद समाधान नभएपछि २०५७ र २०६७ मा भाषा गोष्ठीहरु भए । यिनै गोष्ठीका निर्णय अनुरूप नेबृशका विभिन्न संस्करणहरु सम्पादन गरिए । इतिहासमा भाषिक आन्दोलनको सम्बोधन नभएका होइनन् बरु एक समयका तिनै आन्दोलनकारी पछि नीति निर्माणको शीर्ष स्थानमा पुगे । झर्रोवादी आन्दोलनका शीर्ष विद्वान डा. तारानाथ शर्माले २०६७ को सङ्गोष्ठीमा कार्यपत्र नै प्रस्तुत गरेका थिए । अर्का झर्रोवादी विद्वान बालकृष्ण पोख्रेल त नेबृश प्रथम संस्करणको निर्देशक सम्पादक नै भई सकेको माथि नै उल्लेख भई सकेको छ । यसबाट प्रष्ट हुन्छ– नेपाली भाषा व्याकरणका मानककर्ताहरु विवादमा दावी गरिए झैँ सङ्कीर्ण छैनन् ।

इतिहासमा नेपाली भाषा व्याकरण सम्बन्धी विवादको लामो सूची छ । स्थानाभावका कारण यहाँ ती सबैको उल्लेख गर्नु सम्भव छैन । तर प्रत्येक विवादपछि समाधान अवश्य निकाल्ने गरिएको छ । पछिल्लो गोष्ठीमा प्रस्तुत कार्यपत्रमा पनि इतिहासमा भएका ती भाषिक आन्दोलनको स्वामित्व ग्रहण गरिएको दावी गरिएको छ ।
किन हुन्छ विवाद ?
२०६७ सालको भाषा सङ्गोष्ठीमा उत्तर बङ्गाल विश्व विद्यालय, नेपाली विभागका उपप्राध्यापक पुस्कर पराजुलीद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यसमा लेखनमा विविधताको कारण बताउँदै निम्न बुँदा प्रस्तुत गरिएको थियो :

“क. मानकीकरणको विषयमा भाषा प्रयोक्ताको उदासिनता,
ख. नियमको कठिनता र सङ्ख्याधिकता,
ग. नेपाली भाषाको भूगोल विस्तृत हुनु,
घ. नेपाली भाषाका प्रयोक्ताको आ–आफ्ना पारिवारिक परिवेश र बोलीको प्रभाव हुनु,
ङ. मानक र बोलीचालीको प्रयोगको महङ्खवबोध नहुनु तथा मानकीकरण कृत्रिम प्रक्रिया हो, तथापि साझा प्रयोगका निम्ति यो आवश्यक छ भनी मानी लिन नसक्नु,
च. वर्ण विन्यास सम्बन्धी मानक कुनै पुस्तक–पुस्तिकाकै पनि अभाव हुनु र
छ. भाषा प्रयोक्ताले आफ्नो पूर्वाग्रह छोड्न नचाहनु ।”
प्राध्यापक पराजुलीको प्रस्तुत विश्लेषण सत्यको नजिक रहेको प्रष्ट छ । तर यहाँ अर्को समस्या पनि छ । एउटा प्रक्रियाद्वारा मानक तयार पारेपछि जब शब्दकोश लगायत प्रकाशित हुन्छन्, त्यसमा नै कमजोरी देखा पर्दछ । २०४० मा प्रकाशित नेबृशको पहिलो संस्करणमा सम्पादकीय नीति अन्तर्गत शब्दहरु कायम राखिएनन् । त्यही स्थिति २०५७ र २०६७ पछि प्रकाशित शब्दकोशको हकमा पनि सत्य हो । यस्तो स्थितिले पनि विवादलाई मलजल गरेको छ । यस प्रकारको अवस्थामा प्रयोक्तालाई ग्राह्य हुने गरी विवाद न्यूनीकरणको तरिका अपनाउनु उत्तरदायी निकायको काम हो । नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभूवन विश्व विद्यालय, उच्च माध्यमिक शिक्षा परिषद, पाठ्यक्रम विकास केन्द्र, साझा प्रकाशन, भारतका नेपाली भाषा शिक्षण गर्ने आधिकारिक निकाय सहित पत्रिका, टेलिभिजन, रेडियोका प्रतिनिधि जस्ता सरोकार वालालाई संलग्न गराएर सम्पन्न गरिएको भाषा सङ्गोष्ठीका बाबजुद त्यसको निर्णयमाथि विवाद हुन्छ भने मान्नु पर्दछ– निर्णय वस्तुगत भएन कि ? त्यस कारण उत्तरदायी निकायले बेलैमा विवाद समाधानको सक्रियता लिनु पर्दछ । यहाँ स्मरणयोग्य छ– भाषा व्याकरणका सवालमा विवाद अन्यथा होइन भने त्यस विवादलाई अख्तियारमा लैजानु त झन् अप्राकृतिक विषय हो । त्यसै गरी, विवाद उत्पन्न भएपछि समयमै तदारुकता नलिनु गैर जिम्मेवारपन हो । त्यस अर्थमा उत्तरदायी निकाय बेलैमा सचेत, जिम्मेवार र सक्रिय हुनु तात्कालिक आवश्यकता हो ।
विवादका विषय
अहिले भाषा व्याकरण सम्बन्धी विवादका मुख्य विषय हुन् :

क. संयुक्त अक्षरको प्रयोग,
ख. पदयोग र पदवियोगको नियम,
ग. ह्रस्व र दीर्घ सम्बन्धी नियम,
घ. ‘श’, ‘ष’ र ‘स’ को प्रयोग र ङ. ‘व’ र ‘ब’ को प्रयोग ।
यी मध्ये सबैभन्दा बढी विवाद संयुक्त अक्षरको विकल्पमा एकाक्षरको प्रयोग र पदयोग, पदवियोगबारे भई रहेको छ । अरू विषयमा पनि विवाद छन्, तैपनि यी दुई विषयहरु सर्वाधिक विवादको स्थितिमा छन् ।
क. संयुक्त अक्षरको विकल्पमा एकाक्षर
संयुक्त अक्षरले अर्थ र लेखनमा समस्या देखिएको भन्दै २०६७ को भाषा सङ्गोष्ठीले एकाक्षरको विकल्प दिएको थियो, यद्यपि संयुक्त अक्षरलाई पुरै निषेध भने गरिएको थिएन । एकाक्षरलाई प्रोत्साहन गर्ने भनिए पनि संयुक्त अक्षरमाथि पुरै प्रतिबन्ध थिएन । नेबृशको २०७२ को संस्करणसम्म पनि संयुक्त अक्षरको विकल्प विद्यमान छ ।

संयुक्त अक्षरको विकल्पमा एकाक्षरलाई प्रस्तुत गर्नु गलत नै छ त ? संयुक्त अक्षरका समस्या नै छैनन् त ? ‘ड्ढ’ लाई ‘ड्ढा’‘ड्ढि’ वा ‘ड्ढे’ आदि मात्रा आउँदासम्म समस्या आउ“दैन, जब ‘ड्ढ’ लाई उकार लगाएर हेर्नुस्, समस्या प्रष्ट रूपमा अगाडि आउने छ । पाण्डुलिपि लेखनमा ‘ड्ढ’ लाई उकार (ह्रस्व र दीर्घ दुवै) लगाउन सकिएला, तर कम्प्युटर टाइपमा यस्तो लेखन सम्भव छैन । त्यस्तो अवस्थामा ‘ड्ढ’ को उकारका रूपमा ‘ङ्कु’ वा ‘ङ्कू’ को विकल्प छ त ?
यस प्रसङ्गको अर्को उदाहरण पनि छ । ‘विद्या’ शब्दको उदाहरण लिउँ। पहिलो प्रसङ्गका अतिरिक्त कतिपय लेखनमा ‘विध्या’ प्रयोग गरेको पाइन्छ, जबकि यसको शुद्ध रूप हो– विद्या । यहाँ ‘द’ मुनि ‘य’ झुण्डिएको छ । यस्तो अवस्थामा ‘द्य’ को विकल्पमा ‘द्य’ टाइप गर्नु सहज छ । त्यस्तै, ‘विद्वान’ शब्दको ‘द्व’ ल्यापटपमा टाइप गर्दा समस्या उत्पन्न हुन्छ । त्यतिखेर ‘द्व’ को विकल्पमा ‘द्व’ टाइप गर्नु सहज छ । यस्ता धेरै उदाहरण छन् । त्यस कारण शुद्ध अर्थ लेखन र प्रविधि मैत्रीका हिसाबले संयुक्त अक्षरको विकल्पमा एकाक्षरको विकल्प दिनुलाई गलत मान्न सकिन्न । खालि यस्तो निर्णय पर्याप्त छलफल, बहसपछि लागु गरेको भए सहज हुन्थ्यो भन्ने मात्र हो ।
ख. पदयोग र पदवियोग 
यस सम्बन्धमा पदयोग होइन, पदवियोगमा विवाद केन्द्रित छ । यस्तो विवादमा केही तथ्य पनि छ । जस्तै, ‘समाजवादी’ लाई ‘समाज वादी’ या ‘भरतपुर’ लाई ‘भरत पुर’ बनाइन्छ भने विवाद हुनु स्वाभाविकै हो । तर पदयोगमा जोड दिनेहरुले जब संस्कृत भाषामा जस्तै शब्द शृङ्खला जोड्छन्, तब स्थिति अस्वाभाविक र दुरुह हुन जान्छ । यी शब्द शृङ्खला हेरौँ–

‘महानगरपालिकाप्रमुख’, 

‘विश्वविद्यालयस्तरीय’, 
‘संविधानलेखनप्रक्रिया’ 

यस्तो पदयोगले लेखनमा समस्या उब्जाउँदैन भनेर कसरी भन्न सकिन्छ । अझै यी शब्दावलीमा ‘बमोजिम’‘अनुसार’ जस्ता नामयोगी जोडिन्छन्, तब यी शब्द यस्ता बन्ने छन्  : ‘संविधानलेखनप्रक्रियाबमोजिम’ । यस्ता पदयोगलाई मानकीकरण गर्ने हो भने लेखन कति दुरुह हुने छ ? प्रष्ट छ ।
त्यस्तै, अहिले विवाद उठाउनेहरुले संयुक्त क्रियालाई कायमै राख्नु पर्ने माग गरी रहेका छन् । उनीहरुका अनुसार संयुक्त क्रियाको रूप यस्तो हुने छ– ‘गरिरहनुपर्नेछ’ या ‘पठाइदिइबक्सनुहोला’ । त्यसका विपरीत २०६७ को भाषा सङ्गोष्ठीको निर्णय अुनसार तिनै शब्दलाई यसरी लेख्नु पर्दछ– ‘गरी रहनु पर्ने छ’ या ‘पठाई दिई बक्सनु होला’ । यी दुवै शब्दावलीमध्ये दोस्रो तरिका सरल हुने छ र त्यसले स्पष्ट अर्थ दिने    छ । अझ संयुक्त क्रियालाई पत्रिकाको कोलममा राखेर हेर्नुस् अथवा ‘संविधानलेखनप्रक्रियाबमोजिम’ वा ‘पठाइदिइबक्सनुहोला’ शब्दलाई कोलममा राख्दा कति समस्या आउने छ ? अलिकति प्राविधिक विषयप्रति चासो राख्नु भयो भने प्रस्ट हुने छ । त्यस कारण पदयोगको पुरानो तरिका प्रविधि मैत्री मात्र होइन, अर्थभावका हिसाबले पनि सही नभएको प्रष्ट छ, किनकि अब एक डिकोभित्रको शब्दको एउटै अर्थ लगाउनु पर्दछ । हामीले‘संविधानलेखनप्रक्रियाबमोजिम’ लाई एउटा शब्द मानेर अर्थ कसरी लगाउन सक्दछौँ ।
२०६७ सालको भाषा सङ्गोष्ठीले पद वियोग सम्बन्धमा नयाँ निर्णय गरेको थियो । गोष्ठीले निर्णय गरेको थियो– सार्थक द्वित्वलाई पदवियोग गर्ने, तर निरर्थक द्वित्वलाई पदयोग गर्ने । यस नियम अनुसार ‘घरघर’ नलेखेर ‘घर घर’ लेखिन्छ तर ‘भातसात’ लाई भने पदवियोग गरिन्न । त्यस्तै ‘विश्व विद्यालय’ बनाउँदा ‘विश्वविद्यालय’ को अर्थ समाप्त हुँदैन ।‘प्रधानमन्त्री’ लाई ‘प्रधान मन्त्री’ लेख्दा पनि त्यही स्थिति हो । तर यही नियमलाई लागु गर्ने क्रममा जब पाठ्यक्रम विकास केन्द्रले अक्षर सङ्ख्या गनेर चारभन्दा बढी अक्षर भएमा पद वियोग गर्ने तरिका अपनायो, परिणामस्वरूप ‘भरतपुर’ लाई ‘भरत पुर’ बनाइयो । यस्ता विषयमा विचार पुर्याउनु पर्ने आवश्यकता छ । विशुद्ध अक्षर सङ्ख्याका आधारमा पद वियोग गरिनु हुन्न । ‘भरतपुर’ लाई यथा रूपमै कायम राख्नु उचित हुने छ ।
विवाद उठाउनेहरुले पद वियोग गर्दा अर्थभाव समाप्त हुने तर्क गरेको पाइन्छ । एउटा कोणबाट उनीहरुको कुरा सत्य हो तर कुनै शब्दको अर्थ जहाँ पनि शब्दकोशमा जस्तो पृथक् पृथक् स्थितिमा निश्चित हुन्न, बरु एउटा वाक्य (सेन्टेन्स) पुरै पढ्दा अर्थ खुल्नु पर्दछ । जस्तै, ‘त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा अवस्थित छ’ वा ‘त्रिभूवन विश्व विद्यालय कीर्तिपुरमा अवस्थित छ’—यी दुई वाक्यबाट अर्थभावमा फरक आउने छैन । सामान्यतः विषवस्तुमाथि चर्चा गर्दा सत्य यही हो ।
ग. ह्रस्व र दीर्घ सम्बन्धी नियम 
२०६७ को भाषा सङ्गोष्ठीले तत्सम शब्दका नियममा खासै परिवर्तन गरेको छैन । यसले परिवर्तन गरेको खालि तद्भव र आगन्तुक शब्दमा हो । २०५७ सालको गोष्ठीले नै तद्भव र आगन्तुक शब्दका प्रथम र मध्यका इकार, उकार ह्रस्व लेख्ने नियम पारित गरेको थियो । जस्तै, क्षतिपूर्ति दीर्घीभवनयुक्त शब्द ‘मीठो’ लाई ‘मिठो’‘तीतो’ लाई ‘तितो’, ‘एक्काईस’ लाई ‘एक्काइस’, ‘छब्बीस’ लाई ‘छब्बिस’ आदि लेख्ने । यतिखेर विवादका पक्षधरले ‘मीठो’ ‘तीतो’, ‘एक्काईस’, ‘छब्बीस’ कायमै राख्ने दावी गरी रहेका छन् । यस सन्दर्भमा उनीहरुले एकातिर, तद्भवीकरण नेपाली भाषाको स्वाभाविक प्रक्रिया हो भन्ने निस्कर्षलाई स्विकार गर्दछन् भने अर्कातिर, क्षतिपूर्ति दीर्घीभवन लगायतका शब्दमा परम्परा कायम गर्नु पर्ने दावी गर्दछन् । यी दुवै अडान आपसमा अन्तरविरोधी छन् । ‘मिष्ठ’ बाट ‘मीठो’ हुँदै ‘मिठो’ वा ‘तिक्त’ बाट ‘तीतो’ हुँदै ‘तितो’ हुनु तद्भवीकरण होइन र ? यो स्वाभाविक प्रक्रियालाई रोक्नु पर्ने कारण के ?

त्यस्तै, ह्रस्व दीर्घको नियमले अर्थभावमा फरक पर्दछ भन्ने विवादका पक्षधरको तर्क छ । जस्तै, ‘फूल’ ले फुलेको फुलको र ‘फुल’ ले कुखुराको अण्डाको अर्थ दिन्छ । यसरी दुवैलाई ‘फुल’ शब्द प्रयोग गर्दा अर्थभाव भ्रामक हुन्छ भन्ने उनीहरुको तर्क छ । यस प्रसङ्गमा दुई वटा नियम प्रासङ्गिक छ । प्रथम– भाषामा श्रुतिसम भिन्नार्थक शब्द रहन्छन् नै । जस्तै, ‘तर’ का दुई वटा अर्थ हुन्छन्– एउटा, दुधको ‘तर’ र अर्काे ‘परन्तु’ को अर्थमा । हामी भाषाबाट श्रुतिसम भिन्नार्थक शब्द हटाउन सक्दैनौँ, न त अर्थका कारणले ‘तर’ शब्दलाई परिवर्तन नै गर्न सक्दछौ“ । अर्काे, माथि भनिए जस्तै शब्दको अर्थ वाक्य संरचनाले पनि प्रस्ट पार्दछ । जस्तै ‘गमलामा फुल फुल्छ’ र ‘ढुङ्गामा बजार्दा फुल फुट्छ’ वाक्यको अर्थ एउटै कसरी हुन सक्छ ? यस सन्दर्भमा मानककर्ताले अपवाद न्यूनीकरणका लागि पनि यस्तो नियम बनाउनु परेको बताउ“दै आएका छन् । अपवाद न्यूनीकरण अपराध नै हो र ?
घ. ‘श’, ‘ष’ र ‘स’ सम्बन्धी विवाद
यस विवाद संस्कृत भाषीय मानसिकता वा चिन्तन दृष्टिद्वारा प्रभावित छ भन्ने प्रस्ट छ । जसले संस्कृत भाषाको जानकारी राख्दैनन्, उनीहरुलाई यस विवादले खासै छुँदैन । अर्कातिर, संस्कृत भाषा बोल्नेहरुमा पनि उच्चारण र लेखनमा विविधता हुन्न भनी दावी गर्न   सकिँदैन । ‘चन्द्रिका’, ‘मध्य चन्द्रिका’ को समयमा भएका व्याकरण सम्बन्धी विवादका पछाडि संस्कृत भाषाको यस्तै उच्चारणमा व्याप्त भिन्नताले काम गरेको थियो भन्ने धारणा २०६७ सालको भाषा सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्रमा नै उल्लेख गरिएको थियो ।

संस्कृत भाषाका गुरुहरुले ‘श’ लाई तालव्य, ‘ष’ लाई मूर्धन्य र ‘स’ लाई दन्त्योष्ठ्य भनी परिभाषा गर्दछन् । तत्सम शब्दमा यी अक्षरलाई यही नियम अनुसार उच्चारण गर्नु पर्दछ । तर तद्भव शब्दमा यस्तो नियम लागु गर्नु पर्ने आवश्यकता देखिन्न । ‘देश’, ‘भेष’, ‘बिस’ को उच्चारण गर्दा यस्तो भिन्नता कायम गर्नु सजिलो छैन । लेख्दा सोही अनुसार लेखे पनि उच्चारणमा ‘स’ को समानता अहिलेको वास्तविकता हो । यो एउटा पक्ष हो ।
२०६७ को भाषा सङ्गोष्ठीले तत्सम शब्दलाई नचलाउने भनेको छ । त्यस आधारमा ‘देश’, ‘भेष’ जस्ता शब्द कायमै रहने छन् । अर्कातिर, संस्कृत शब्द ‘दशम्’ बाट ‘म्’ हटेर ‘दश’ भएपछि पनि यदि कसैले ‘दश’ लाई ‘दस’ लेखिनु पर्छ भन्दछ भने त्यो अति नै हुने छ । त्यस कारण ‘श’ र ‘ष’ लाई पुरै हटाई हाल्नु पर्छ भन्ने सोचाइ सही होइन । यस्तो निर्णय सङ्गोष्ठीले गरी सकेको पनि छैन । तर तद्भव शब्दमा ‘श’, ‘ष’ को नियमलाई कडाइपूर्वक पालना गर्नु उचित हुने छैन । त्यस्तै, आगन्तुक शब्दमा यस्तो नियम लागु गर्नु आवश्यक छैन । ‘कम्युनिष्ट’, ‘इन्टरनेशनल’ लेख्नु आवश्यक छैन, ‘कम्युनिस्ट’ ‘इन्टरनेसनल’ लेख्दा हुन्छ । चिनिया वा रुसी साहित्यका शब्दलाई नेपालीमा ‘लिउशाओची’ वा ‘ख्रुश्चेभ’ लेख्नुभन्दा ‘लिउसाओची’ वा ‘ख्रुस्चेभ’ लेख्नु सरल हुन्छ । ‘शहीद’ शब्द फारसी, हिन्दी हु“दै नेपालीमा प्रवेश ग¥यो । नेपालमा पनि ‘सहिद’ हुने भएकाले यस आगन्तुक शब्दलाई श्रोत भाषाकै नियम अनुसार ‘शहीद’ नलेखेर ‘सहिद’ लेख्दा हुन्छ । किनकि अब ‘सहिद’ तद्भव शब्द बनी सकेको छ । यस्ता धेरै उदाहरण छन् । यसले बताउ“छ– तद्भव र आगन्तुक शब्दमा तत्सममा झै“ ‘श’ र ‘ष’ को नियममा कडाइ गर्नुको अर्थ भाषा व्याकरणलाई जटिल र दुरुह बनाउनु हो ।
ङ. ‘व’ र ‘ब’ को नियम
‘श’ ‘ष’ र ‘स’ जस्तै विवाद यसमा देखिएको छ, यद्यपि यस्तै तीव्रताको विवाद यसमा देखि“दैन । ‘व’ संस्कृत र तत्सम शब्दमा बढी प्रयोग हुन्छ । यता तद्भवमा भने ‘ब’ अक्षरको प्रयोग बढी हु“दै आएको छ । २०५७ कै गोष्ठीले उच्चारणलाई आत्मसात गरेर “सर्वत्र” ‘ब’ प्रयोग गर्ने निर्णय गरेको थियो । गोष्ठीले ‘व’ र ‘ब’ को प्रयोग सम्बन्धी उदाहरण दिएर स्पष्ट पारेको थियो । त्यसका बाबजुद विवाद अझै साम्य भएको छैन ।

संस्कृतमा ‘व’ लाई दन्त्योष्ठ्य वर्ण भनिएको छ । यसको अर्थ हुन्छ– तल्लो ओठ माथिल्लो दा“तको पछाडि लगेर उच्चारण गर्नु । तर अब यो अक्षर द्व्योष्ठ्य भएको छ । अब ‘व’ लाई दुवै ओठ एउटा आकारमा ल्याएर उच्चारण गरिन्छ, जसरी अङ्ग्रेजी अक्षर ‘ओ’ लाई उच्चारण गरिन्छ । यस प्रकार ‘व’ को उच्चारणमा नै अन्तर आएको छ । त्यस्तै, हाम्रो भाषामा ‘व’ लेखेर ‘ब’ र ‘ब’ लेखेर ‘व’ उच्चारण गर्ने थुप्रै शब्द छन् । वर्णमाला पढाउ“दा ‘व’ लाई ‘तल थोप्ली व’ भनेर पढाइए पनि व्यवहारमा यस्तो छैन । अझै कम्प्युटर टाइपमा त ‘तलथोप्ली व’ फन्ट नै छैन, बरु हिन्दी फन्टमा यस्तो विकल्प छ । त्यस कारण ‘व’ अक्षरको विषयमा तत्समेत्तर नियम लागु गर्नु आवश्यक छैन ।
शिष्ट लेख्य परम्परा
यतिखेर भाषा व्याकरणमा मानकको विरोध गर्नेहरुले शिष्ट लेख्य परम्परा कायम राख्नु पर्ने माग गर्दै छन् । त्यस अनुसार उनीहरुले अहिलेका सुधार सम्बन्धी मानक फिर्ता लिन माग गरेका छन् । त्यसो भएमा अहिलेको विवाद साम्य हुने उनीहरुको तर्क छ । यस सन्दर्भमा एउटा तथ्य प्रष्ट छ । जसरी अहिले एउटा प्रक्रियाबाट मानक लागु गरिएको थियो, त्यसलाई फिर्ता गर्न पनि त्यस्तै अर्को प्रक्रिया अवलम्बन गर्नु पर्ने छ, अन्यथा विवादको समाधान हुने छैन । अब फेरि बृहत् गोष्ठी राखेर भाषाविद्, भाषा बैज्ञानिकहरुबीच छलफल हुनु पर्दछ । त्यसको निर्णय मात्र नया“ मानक बन्न सक्ने छ । जसले भाषा व्याकरण परिपत्र मार्फत् लागु हुन सक्दैन भन्दै छन्, खारेजीका लागि अर्को परिपत्र जारी गरेर नया“ मानक कसरी लागु हुन सक्छ ? त्यस कारण समस्या समाधानका लागि प्रक्रियाको महत्वलाई स्विकार गर्नै पर्ने हुन्छ ।

शिष्ट लेख्य परम्परालाई चलाउनु हुन्न भन्नुको अर्थ भाषा व्याकरणको चरित्र र स्वभाव रुढ वा स्थिर हुन्छ भन्नु हो । त्यसको अर्थ हो– भानुभक्त, मोतिरामकै भाषा व्याकरणलाई अहिले पनि मानक मान्नु पर्दछ । यस्तो दावी कसैले गर्नु हु“दैन, बरु विषय यो हो– लेख्य परम्परालाई परिमार्जन गर्दा पर्याप्त सावधानी अपनाउनु पर्दछ । पर्याप्त छलफल चलाएर, विकल्प दिएर विस्तारै नियमलाई प्रचलित वा स्थापित बनाउ“दै लेख्य परम्परामा परिवर्तन गरिनु पर्दछ । जसरी पहिलेका ‘एस’ अब ‘यस’ बने, ‘लार्ञ’ अब ‘लाई’ बने, यस्तै प्रकारको धैर्यता राखिनु पर्दछ । हिन्दी भाषाबाट आएको ‘चीज‘ अब ‘चिज’ बन्दै छ, ‘शुरू’ अब ‘सुरु’ बन्दै छ, त्यसै गरी हिन्दीबाट आएको ‘बीच’ पनि विस्तारै ‘बिच’ बन्न सक्छ । त्यस कारण भाषामा व्याकरणमा ठाडो र तीव्रतापूर्वक परिवर्तन गर्नेभन्दा पनि धैर्यतापूर्वक, विस्तारै, विकल्प दिएर नया“ मानक लागु गर्न सकिन्छ । भाषा सङ्गोष्ठी २०६७ ले कतिपय नियममा विकल्प दिएको पनि छ । नेबृशको नवौ“ संस्करण (२०७२) मा पनि संयुक्त अक्षरको विकल्प दिइएको छ । तर असन्तुष्ट पक्ष यतिसम्म आक्रोशित, उत्तेजित छ, उसले त्यहा“का सकारात्मक पक्षलाई समेत स्विकार गर्न सकेको छैन । भाषा सङ्गोष्ठीले नाममा लाग्ने प्रत्ययलाई जोड्ने निर्णय गरेको छ, जस्तै, ‘रामबहादुर’ । तर यस विषयमा कसैले चर्चा गरेको पाइन्न । यसरी अहिलेको भाषा व्याकरण सम्बन्धी विवादमा सकारात्मक पक्ष पनि ओझेलमा परेका छन् ।
शिष्ट लेख्य परम्पराका पक्ष्ँधरले प्रयोक्ताले नै भाषा व्याकरणबारे निर्णय गर्न पाउनु पर्ने बताउँदै छन् । एक छिन मानी लिऔँ, उनीहरुको तर्क सही छ । फेरि पनि प्रयोक्ता अखण्ड प्रवर्ग त होइन । प्रयोक्ताका बीचमा पनि एउटै मानकका बारेमा विवाद हुन्छ । लेखक, साहित्यकार, पत्रकार सबैले एउटै मानक लागु गर्दैनन् । अझैसम्म यस्तो स्थिति देखिएको छैन । यदि कसैले प्रयोक्ताबाट समान मानकको अपेक्षा राख्छ भने त्यसका लागि एउटा प्रक्रियामा जानु पर्ने हुन्छ । कुनै एउटा व्यक्ति वा पक्षले घोषणा गर्दैमा सबै प्रयोक्ताले समान मानक लागु गर्दैनन् । त्यस कारण अन्तरक्रिया, संवाद, छलफल र निर्णयको प्रक्रिया नअपनाइकन स्वयं प्रयोक्ताद्वारा समान मानक लागु गर्ने दावीलाई विश्वसनीय मान्न सकि“दैन । यसरी जसले शिष्ट लेख्य परम्परालाई कायम गर्ने माग गर्दै छन्, तर विवाद उत्पन्न भई सकेपछि एउटा प्रक्रियामा जानै पर्ने हुन्छ र प्रक्रियामा जाँदा परिवर्तनलाई सम्बोधन पनि गर्नै पर्ने हुन्छ । खास गरी भाषाविद्, भाषा बैज्ञानिकका तर्क, प्रमाणयुक्त अवधारणामाथि विवेचना, त्यसबारे प्रयोक्ता समेतको सुझाव सहित मानक तयार पार्नै पर्ने हुन्छ । त्यो मानकलाई प्रयोक्ताले स्विकार्नै पर्दछ । मानक बन्नै हुन्न, प्रयोक्तालाई भाषा व्याकरण प्रयोग गर्दा स्वविवेक प्रयोग गर्न दिनु पर्दछ भन्नु त अराजक प्रवृत्ति हो ।
भाषाको व्याख्याता को ?
भाषा व्याकरण सम्बन्धी विवाद उठ्दा प्रयोक्ताहरु (लेखक, पत्रकार, साहित्यकार आदि) यसका व्याख्याता हुन् कि होइनन् ? उनीहरु नै मानककर्ता हुन् कि होइनन् ? भन्ने विवाद पनि उठेको छ । अहिलेसम्म भाषा व्याकरणका सम्बन्धमा मानककर्ताको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिविवि र शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र मानिएका छन् । निर्णय प्रक्रियामा सरकारी तथा निजी प्रकाशन गृह, लेखक, साहित्यकार, पत्रकारलाई सहभागी गराउनु पर्छ भन्नेमा पनि विवाद छैन । तैपनि जब विवाद उठ्छ, त्यति बेला कठोर शब्दमा भन्ने गरिन्छ– ‘तोक आदेशमा भाषा व्याकरण चल्दैन’, जबकि भाषा व्याकरण सम्बन्धी विवाद समाधान गर्न पटक पटक सरोकार वाला सम्मिलित गोष्ठी हुने गरेको छ र त्यसले मानक निर्धारण गर्ने गरेको छ । कुनै पनि विवाद उठ्दा त्यसलाई सम्बोधन गर्न प्रक्रियामा गएर मानक तयार पार्ने आवश्यकता हुन्छ नै । कसैले पनि भाषालाई मानक बिना मनपरि चल्न दिनु पर्दछ भन्ने माग गर्ने छैन । यस विषयमा भाषा बैज्ञानिक प्रा.डा. हेमाङ्ग राज अधिकारी भन्दछन– “प्रयोक्ताहरु भाषाका व्याख्याता हुँदैनन् । यस्तो काम भाषाविद्बाट मात्र सम्भव   छ । अझ भाषाका समस्या समाधानका लागि शास्त्रको के कति उपयोग हुन सक्छ ? के कति व्यावहारिक हुन सक्छ भन्ने कुराको खोजी गर्ने काम कोरा भाषाविद्को नभएर प्रायोगिक भाषा विज्ञानीको हो ।” यस विषयमा उनी अगाडि भन्दछन्– “आधुनिकीकरण, मानकीकरण, लिपि छनोट, लिपि सुधार, हिज्जे सुधार विशुद्ध भाषा विज्ञानको क्षेत्र हो ।”

अधिकारीको अभिव्यक्तिमा सत्यता छ । साहित्यको विधागत क्षेत्रमा भाषाविद्ले छलफल गर्दैनन्, त्यो विशुद्ध साहित्यको क्षेत्र हो । उदाहरणका लागि आख्यान विधाको समालोचना भाषाविद वा भाषा वैज्ञानिकले गर्दैन, न काव्य विधाको समालोचना नै । यस्तो अवस्थामा भाषा व्याकरण सम्बन्धी क्षेत्रका विज्ञ भाषाविद र भाषा वैज्ञानिक नै हुन्, लेखक, साहित्यकार, पत्रकार जस्ता प्रयोक्ता होइनन्, यद्यपि मानकीकरणको प्रक्रियामा प्रयोक्ताहरुलाई सँगै हिँडाल्नु पर्ने वा उनीहरुको आलोचनात्मक अभिव्यक्तिलाई सम्बोधन गर्नु पर्ने आवश्यकता भने छँदै छ ।
विवाद समाधानका विकल्प
नेपाली भाषाको इतिहासमा जब विवाद देखा पर्दछ, प्रक्रिया मार्फत् सम्बोधन गर्ने गरिएको छ । बनारसको प्रेसमा कार्यरत राममणि आदीले १९६५ मा हलन्त बहिस्कार आन्दोलन सुरु गरेपछि विद्वान हेमराज पण्डित (पान्डे) ले १९६९ नेपाली भाषामा हलन्तलाई पूर्णतः बहिष्कार गर्न नमिल्ने भन्दै समाधानको विकल्प दिएका थिए । उनले हलन्त प्रयोगको न्यूनीकरणमा योगदान दिए, अन्यथा साहित्यमा ‘मन् बहादुर’, ‘नेपाल्’, ‘हिमाल्’ जस्ता शब्द प्रशस्त प्रयोग हुन्थे ।
इतिहासमा भाषा व्याकरण सम्बन्धी विवादको लामो शृङ्खला छ । विवादमा प्रक्रियागत ढङ्गले समाधान निकालिएको छ । अहिले पनि विवाद समाधानका लागि प्रक्रियाको थालनी गरी हाल्नु पर्दछ । पेलेरै जाने मानसिकता मानककर्ताहरुले पनि राख्नु हुँदैन । त्यसै गरी विवाद उठाउनेले भाषा व्याकरणमा राजनीति गर्नु हुन्न । राजनीतिक नेतृत्वलाई विवादमा सामेल गर्ने, भाषा विवादलाई अख्तियारमा लैजाने जस्तो प्रक्रिया भाषा विवादमा उचित देखिन्न । यता, मानककर्ताले मानक खालि विद्यालयमा प्रयोग भए पुग्ने मानसिकता राखे जस्तो देखिन्छ । सञ्चार माध्यम र साहित्यमा मानकको प्रयोगप्रति उनीहरुको कम ध्यान गएको हो कि भन्ने देखिन्छ । अहिलेको विवादमा सञ्चार माध्यम र साहित्यकारको पनि उल्लेख्य सहभागिता छ । यसले भाषाको मानकीकरणमा उनीहरुलाई पनि समेटिनु पर्ने आवश्यकता बोध गराएको छ । त्यसैले विवाद समाधानका लागि विद्यालय, सञ्चार माध्यम र साहित्य तिनै क्षेत्रलाई समेट्नु पर्दछ । विवाद समाधानका लागि सरोकार वाला सबै पक्षलाई एउटै मञ्चमा ल्याउन पहलकदमी थाल्नु पर्दछ । अझै विश्वव्यापीकरण भई सकेको नेपाली भाषा विवाद समाधान गर्न नेपाल बाहिरका सरकोर वालालाई पनि सामेल गरिनु पर्दछ । गोष्ठी, अन्तरक्रिया, संवाद भाषिक विवाद समाधान गर्ने उत्तम विधि हुन सक्दछन् ।
अनुभवले बताएको छ– भाषा व्याकरण सम्बन्धी मानकीकरणमा खालि केन्द्रीय स्तरको एउटा गोष्ठी पर्याप्त छैन । त्यसका लागि विवादका विषयहरु किटानी गरेर पहिले तलदेखि माथिसम्म कार्यशाला, गोष्ठीहरु सम्पन्न गरिनु पर्दछ । केन्द्रीय स्तरको गोष्ठीद्वारा मानक तयार पारेपछि त्यसलाई लागु गर्न माथिदेखि तलसम्म प्रशिक्षण सञ्चालन गरिनु पर्दछ । प्रकाशन गृहले मानक भाषा सम्पादन कार्यशैली पुस्तिका तयार पार्नु पर्दछ । मानकीकरणलाई स्थापित गर्न सरोकार वाला निकायले आवश्यक प्रचार प्रसारमा ध्यान दिनु पर्दछ । भाषा व्याकरणमा भिन्न मत राख्नेले पनि आफ्नो अधिकार सुरक्षित राख्दै मानकलाई स्वीकार गर्नु पर्दछ । गोष्ठीमा सामेल हुने, त्यहा“ मानक स्वीकारे जस्तो पनि गर्ने तर बाहिर आएर आफूखुसी गर्ने प्रवृत्तिले पनि हामीकहा“ स्थिति असहज देखिएको हो । यस्तो मानसिकता अन्त हुनु पर्दछ ।
सन्दर्भ सामग्री
१. नेपाली भाषा सङ्गोष्ठी–२०६७, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौ“ ः २०६८ ।

२. नेपाली वर्ण विन्यास विषयक अधिगोष्ठी–२०५७, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौ“ ः २०५७ ।
३. सोमनाथ सिग्द्याल, मध्य चन्द्रिका, साझा प्रकाशन, ललितपुर ः २०५५ (चौबिसौ“ संस्करण) ।
४. लालानाथ सुवेदी र प्रा.डा. हरि प्रसाद पराजुली, नेपाली वर्ण विन्यास, साझा प्रकाशन, ललितपुर ः २०५७ (तेस्रो संस्करण) ।
५. नेपाल राष्ट्रिय साप्ताहिक, वर्ष १७, अङ्क ६ (२०७३ भदौ २६) ।
६. हेमाङ्ग राज अधिकारी, कान्तिपुर दैनिक (कोशेली), २०७३ भदौ १८ । 
७. प्रदीप नेपाल, अनलाइन खबर डट कममा २०७३ भदौ २१ गते प्रकाशित अन्तर्वार्ता ।
८. रोहित खतिवडा, भाषा विवाद अब संसद र अख्तियारमा, सेतो पाटी डट कम, २०७३ भदौ २२ ।

नेपाली भाषा सङ्गोष्ठी–२०६७ का निर्णय
२०६७ पुस २८ गतेदेखि दिउसो २ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइ“लाको उपस्थिति र संयोजक उपकुलपति गङ्गा प्रसाद उप्रेतीको अध्यक्षतामा ‘निर्णय समिति’ को बैठक बस्यो । उक्त बैठकमा भाषाविद् प्रा. ठाकुर पराजुली आमन्त्रित सदस्यका रूपमा सहभागी हुनु हुन्थ्यो । समितिले कार्यक्रममा प्रस्तुत कार्यपत्रका अवधारणा, समूहगत छलफल तथा ती माथिका टिप्पणी र सुझावहरुका आधारमा विगतका बहुमान्य प्रणालीको मुल्याङ्कन, सञ्चारमा भएको व्यापक प्रयोग, विकल्पको व्यवस्था एवम् स्विकार्यताको सम्भावनालाई समेत विचार गरी गरेका निर्णयहरु यस प्रकार छन् :

१. आगन्तुक शब्दको वर्णविन्यास, वर्णमाला र लिपिसित सम्बन्धित निर्णयहरु

(क) शब्दकोशको प्रयोजनका लागि निम्न लिखित दुईमध्ये कुनै एक प्रकारले व्यञ्जनको क्रम प्रयोग गर्न सकिने ः ‘क ख ग घ ङ च छ ज झ ञ ट ठ ड ढ ण त थ द ध न प फ ब भ म य र ल व श ष स ह क्ष त्र ज्ञ’ अथवा ‘क क्ष ख ग घ ङ च छ ज ज्ञ झ ञ ट ठ ड ढ ण त त्र थ द ध न प फ ब भ म य र ल व श ष स ह’ ।

(ख) संस्कृतबाट आएका तत्सम शब्दहरुमा मात्र ऋ, ञ, ण, क्ष, श, ष को प्रयाग गर्ने तर देवनागरीमा लेखिने व्यक्ति, जाति, धर्म, थर, भाषा आदि नामका सन्दर्भमा भने प्रचलनलाई नै मानक रूप स्विकार गर्ने । जस्तैः खम्बू, कोयू, हायू, लिम्बू, हिन्दू, ज्ञवाली, क्षेत्री, शाह, राणा, शेर्पा, थारू, सायमि आदि ।
(ग) तत्सम शब्दका पञ्चम वर्णका निम्ति वैकल्पिक रूपले शिरबिन्दुको पनि प्रयोग गर्न सकिने । जस्तै, अङ्क वा अंक, पण्डित वा पंडित आदि तर तद्भव वा आगन्तुक शब्दमा पञ्चम वर्ण मात्र प्रयोग गर्ने । जस्तै, नाम्लो, कान्छा, बण्डल, अन्डा आदि । 

(घ) संयुक्त वर्णहरुलाई यथासम्भव हलन्त व्यञ्जनका साथ लेख्न प्रोत्साहित गर्ने । जस्तै, रक्त, पद्य, विद्वान्, उद्देश्य, भक्ति, शृङ्खला आदि तर विद्या (विद्या), बुद्धि (बुद्धि) जस्ता संयुक्त व्यञ्जनको प्रयोग पनि गर्न सकिने ।

२. ह्रस्व दीर्घसित सम्बन्धित निर्णयहरु

(क) सङ्ख्यावाचक शब्दको आदि र मध्यमा ह्रस्व लेख्ने । जस्तै, तिन, उन्नाइस, बिस, बाइस, तिस, बत्तिस, चालिस, आदि । (यसमा व्यञ्जनसित मिश्रित इकार दीर्घ लेखिनु पर्छ भन्ने फरक मत पनि देखिएको) । 
(ख) क्षतिपूर्ति दीर्घीभवन भनी दीर्घ लेखिने शब्दहरु तद्भव नियम अनुसार ह्रस्व लेख्ने । जस्तै, ठुलो, पुरा, रुख, दुध, बिच, ठिक, तितो, मिठो, फुल आदि । (यसमा इकार दीर्घ लेखिनु पर्छ भन्ने फरक मत पनि देखिएको) ।
(ग) संस्कृतका निकट भएका तथा व्यापक प्रचलनमा रहेका भनी दीर्घ लेखिने शब्दहरु ह्रस्व लेख्ने । जस्तै, निलो, किरो, पिर, बिउ, किलो, जिउ, धुलो, खिर, डिन, चिफ आदि । 
(घ) तत्सम शब्दमा तद्भव प्रत्यय लाग्दा आदि र मध्यमा ह्रस्व बनाउने । जस्तै, स्विकार्नु, दर्सायो, बिदेसिए, पुर्वेली, मुख्र्याइ“, बर्से आदि । 
(ङ) इच्छार्थ क्रियापदको बिचमा आउने उकार ह्रस्व गर्ने । जस्तै, जाउन्, हेरुन्, लेखुन् आदि । 
(च) समास हु“दा पनि विकार नदेखिने समस्त शब्दको बिचमा दीर्घ प्रयोग गर्ने । जस्तै, गाईगोठ, जडीबुटी, बुढीऔ“ला आदि ।
(छ) द्वित्व भई बनेका शब्दका घटक सार्थक नभएमा बिचमा भए पनि ह्रस्व नै लेख्ने । जस्तै, झिलिमिली, तिरिमिरी आदि । 
(ज) संयुक्त क्रियामा छुट्टा छुट्टै आउने सबै इकारान्त रूप दीर्घ लेख्ने । जस्तै, लेखी सकी हाल्छ, गरी दिई छ, ल्याई सकेको आदि । (यसमा ह्रस्व लेख्नु पर्छ भन्ने फरक मत देखिएको)

३. पदयोग र पदवियोग सम्बन्धी निर्णयहरु 

(क) समस्त शब्दका हकमा परम्परागत रूपमा कायम प्रचलनलाई यथावत् राख्ने र त्यस सम्बन्धमा कतिपय शैक्षिक तथा प्राज्ञिक निकाय र लेखकहरुले प्रचलनमा ल्याएका नवीन मतलाई पनि सरोकार वाला प्राज्ञिक निकाय मार्फत् सार्वजनिक छलफलमा लैजाने । त्यस क्रममा विश्व विद्यालयका नेपाली विषय समिति, नेपाली भाषा शिक्षा विषय समिति, उच्च माध्यमिक शिक्षा परिषद, पाठ्यक्रम विकास केन्द्र, साझा प्रकाशन आदि नेपाली भाषामा लेखिएका सामग्रीको प्रकाशनमा संलग्न संस्था एवम् आम सञ्चार माध्यमहरुस“ग व्यापक विमर्श गरी अन्तिम निर्णयमा पुग्ने ।
(ख) सँग, सित, तर्फ, तिर जस्ता विभक्तिवत् नामयोगी बाहेक अन्य नामयोगी (जस्तै, बमोजिम, अनुसार आदि) छुट्ट्याएर लेख्ने । (नामयोगी जोड्ने कुरामा फरक मत देखिएको) 
(ग) सबै संयुक्त क्रियालाई छुट्ट्याएर लेख्ने । (यसमा जोडेर पनि लेख्नु पर्छ भन्ने फरक मत देखिएको) 
(घ) मात्र, चाहिँ, जस्ता, जना, ओटा (वटा) शब्द छुट्ट्याएर लेख्ने । 
(ङ) सार्थक द्वित्व शब्द छुट्ट्याएर लेख्ने । जस्तै, को को, घर घर, हुन्छ हुन्छ, आदि तर निरर्थक द्वित्व शब्द चाहि“ जोडेर लेख्ने । जस्तै, भातसात, झैझगडा, आलोपालो आदि । 
(च) व्यक्तिवाचक नाम प्रचलन अनुसार नै लेख्ने । जस्तै, लक्ष्मीप्रसाद, मानबहादुर, सूर्यविक्रम आदि ।

४. नेपाली भाषाको एकरूपता, मानकीकरण तथा स्तरीकरणका लागि भएका निर्णयहरुको कार्यान्वयनका सम्बन्धमा 

(क) अन्तर्राष्ट्रिय भाषाका रूपमा बहु प्रचलित भई रहेको नेपाली भाषाको एकरूपता, मानकीकरण तथा स्तरीकरणका निम्ति समयानुकूल निर्णयहरुको कार्यान्वयनका लागि कोश र व्याकरण निर्माण गर्न सरोकारवाला निकायका प्रतिनिधि, पेसाकर्मी र विज्ञहरुको परामर्शमा नेपाल प्रज्ञा प्रतिष्ठानको अद्यावधि योजना अन्तर्गत सम्पन्न गर्ने । 
(ख) निरन्तर बढी रहेको नेपाली भाषाको प्रयोग क्षेत्रको विस्तारलाई ध्यानमा राखी नेपाली भाषाको सरलीकरणतर्फ अग्रसर हुने । 
(ग) छलफलका क्रममा आएका मतमतान्तरबारे प्राज्ञिक अन्तरक्रियाबाट निष्कर्षमा पुग्ने ।

http://weeklynepal.com.np बाट  साभार 

No comments:

Post a Comment