वर्णविन्यास–विज्ञान व्याकरण तथा भाषाविज्ञानको विषय हो । संस्कृत वा नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँग समेत गहिरो सम्बन्ध छ । नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ । वर्णविन्यास लेख्य विषय भएकाले यसलाई ‘लिपिविन्यास’ पनि भन्न भनिन्छ । आधुनिक लिपिशास्त्रीहरूले देवनागरी लिपिलाई ब्राह्मी लिपिबाट विकसित भएको भन्दै सिँजाली लिपि, गुप्त लिपि, कुटिल लिपि, लिच्छवि लिपि वा नागरी लिपिलाई पर्यायवाची पनि मानेका छन् । ब्राह्मी लिपि तथा देवनागरी लिपिका सम्बन्धमा पौराणिक वा प्राचीन शास्त्रको मान्यता आधुनिक भाषाशास्त्री र लिपिशास्त्रीको भन्दा भिन्न छ । संस्कृत तथा नेपाली भाषामा स्वर वर्ण, स्वर वर्णका बाह्रखरी चिह्न, अनुस्वार वा शिरबिन्दु, अनुनासिक वा चन्द्रबिन्दु, विसर्ग वा दवासबिन्दु, ह्रस्व–दीर्घ–प्लुत, ऋ–रि, क्ष–छ्य, क्ष, छ, ज्ञ–ग्यँ, ञ, ण, न, म, ब, व, .व (तलथोप्ली), श, ष, स, संयुक्त वर्ण वा अक्षर, विराम आदि चिह्न, अङ्क आदि लेख्य चिह्नहरूका अतिरिक्त सन्धि–नियम, पदयोग र पदवियोगको प्रयोगसम्बन्धी विधि आदि वर्णविन्यासका विषय हुन् । ‘संस्कृत’ (सम्+कृ+त) शब्दको अर्थ संस्कार गरिएको वा परिष्कार गरिसकिएको भन्ने हो । संयोगवश ‘नेपाली’ जस्तै ‘संस्कृत’ भन्ने शब्द पनि विशेषण वर्गको हो । ‘कृ’ मूल धातुमा ‘सम्’ उपसर्ग तथा ‘ति’ प्रत्यय लागेर ‘संस्कृति’ भन्ने शब्द बनेको हो । संस्कृति (सम्+स्+कृ+ति) ले मानव–समाजलाई सभ्य र अनुशासित हुन प्रेरित गरेको छ ।

भाषा मानवीय सम्पत्ति हो । यसैगरी संस्कृति पनि मानवीय सम्पत्ति हो । संस्कृत भाषा र संस्कृतिका बीचमा अन्योन्याश्रित सम्बन्ध छ । संस्कृत लिच्छविकालीन नेपालको राजभाषा थियो । यसकारण, संस्कृत नेपालको आफ्नै भाषा हो । नेपाली भाषा संस्कृतबाटै विकसित भएको यथार्थ सर्वस्वीकार्य भएको सन्दर्भमा शब्दनिर्माण–प्रक्रियाका अधिकांश विधान संस्कृतसँग मिल्दाजुल्दा देखिन्छन् । नेपाली भाषाको लिपि चिह्न, सन्धि नियम, शब्द व्युत्पादन र पदयोग–पदवियोग जस्ता कुरामा संस्कृतको प्रभाव स्पष्टतः देखिन्छ ।
उच्चारण विधिमा पनि संस्कृत भाषा र नेपाली भाषामा प्रायः समानता छ । नेपाली भाषाको सोझो साइनो संस्कृतसँग जोडिएको छ । नेपाली भाषा लेख्दा प्रयोग गरिने वर्णविन्यासको प्रयोग समयक्रमसँगै अझै सरलीकृत हुँदै गयो र यसलाई सबैले पछ्याउँदै समेत आए ।
जस्तै ः हामीले अहिले लेख्दै आएका वर्ण अ, झ, ण पहिले अर्कै शैलीमा लेखिन्थे । भाषा जति सहज र सरल बन्दै जान्छ, त्यसलाई प्रयोग गर्नेहरूको संख्या पनिबढ्दै जान्छ ।

लिच्छवीकालीन समयमा बोलिने भाषा, त्यसपछि मल्लकालमा र शाहकालमा बोलिने भाषाको संस्कृतबाट रूपान्तरित हुँदै सिञ्जाबाट नेपाली भाषाको विकास हुँदै अहिले नेपाली भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाको विकाससम्म आइपुग्दा भाषाको कथ्य (वाच्य) पक्ष र लेख्य पक्षको अहिलेसम्मको वास्तविक स्थिति के हो भन्ने बुझ्न सकिन्छ । भाषाको विकासमा वर्णविन्यास एउटा महŒवपूर्ण माध्यम हो । वर्णहरूको विन्यासविना भाषा पूर्ण हुन सक्दैन । वर्णविन्यासको इतिहास हेर्ने हो भने मानिसहरूले प्रयोग गर्ने भाषा बोल्दा र लेख्दा समतुल्य हुन सकेको छैन ।
नमिलेका बुँदा
पदयोग र पदवियोग (गङ्गाप्रसाद खान्छ ः गङ्गा प्रसाद खान्छ । ऊ साँझ नपर्दै सुतिहाल्छ ः ऊ साँझ नपर्दै सुति हाल्छ ।) श्रुतिसमभिन्नार्थक शब्द (फूल र फुल, पुरा र पूरा, नशा र नसा, जुन र जून, तिन र तीन आदि), संयुक्त वर्णको वियोग, वर्णमालाबाट ञ, ण, श र ष हटाउने, तद्भव र आगन्तुक पदादि (शब्दको सुरुआत) र बीचमा सबै ह्रस्व र अन्तिममा उकार भए ह्रस्व, इकार भए दीर्घ लेख्ने नियम विवादमा छ । नयाँ नियममा द्ध, द्य, क्त, द्द जस्ता खप्टेका र जोडेमोडेका अक्षर हटाइएको छ । पाठ्यपुस्तकमै विद्या ‘विद्या’, बुद्ध ‘बुद्ध’, भक्त ‘भक्त’ लेख्न थालिएको छ ।
बर्सेनि नियम बदलिँदा कक्षा १ देखि ५ सम्म, कक्षा ६ देखि ९ सम्म, कक्षा १०, कक्षा ११–१२ र उच्च शिक्षाको वर्णविन्यासमा एकरूपता छैन । एउटै कक्षामा पनि सरकारी प्रकाशन र निजी प्रकाशनका पुस्तकमा एकै शब्द दुई किसिमले लेखिएका छन् ।
मुख्य विवाद
पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको नयाँ शैली पुस्तिकाबारे शिक्षा मन्त्रालयका सचिव किशोर थापाले २०६८ चैत १४ गते मन्त्रालयको शैक्षिक व्यवस्थापन शाखासँग राय मागे । शैक्षिक व्यवस्थापन महाशाखाका सहसचिव डा. लवदेव अवस्थीले २०६८ चैत १५ गते विद्यालय शाखासँग राय मागेका थिए । त्यसको दुई दिनपछि १७ गते विद्यालय शाखाबाट ‘पाठ्यक्रम विकास केन्द्रबाट पेस भएअनुसार निर्णय हुन मनासिब नै देखिन्छ’ भनी राय दिइएको थियो । यसपछि सहसचिव डा. अवस्थीले चैत २२ गते मन्त्रालयको अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव दिवाकर ढुङ्गेललाई ‘नेपाली भाषाका ज्ञाता र पाठ्यपुस्तक लेखक’का रूपमा विशेषज्ञ विचार दिन लिखित आग्रह गरेका थिए ।
सहसचिव ढुङ्गेलले २०६८ वैशाख १० गते राय दिँदै पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको वर्णविन्यासले ‘तद्भव र आगन्तुक शब्दका साथै पद योग र वियोगका नियमलाई सरलीकृत र व्यवस्थित गरेको, यसअघिका वर्णविन्यास पद्धतिमा रहेका धेरै नियम–उपनियमको झमेलाबाट शिक्षक–विद्यार्थीलाई मुक्त पार्ने प्रयास गरेको, नेपाली भाषाको कथ्य मानक र लेख्य मानकबीचको दूरी कम गर्ने प्रयास गरेको’ उल्लेख गरेका छन् । ढुङ्गेलको राय पाउनेबित्तिकै सहसचिव डा. अवस्थीले २०६९ वैशाख १५ गते सचिवसामु वर्णविन्यासका सम्बन्धमा ‘प्राविधिक एवं प्रायोगिक दृष्टिले त्रिवि, पाठ्यक्रम विकास केन्द्र र प्रज्ञाप्रतिष्ठानसँग राय–प्रतिक्रिया लिनु उचित हुने भन्दै निर्णयार्थ प्रस्तुत गरेका थिए । तत्कालीन शिक्षा सचिव किशोर थापाले मिति २०६९ वैशाख १७ मा हुन्छ भनी लेखे र शिक्षा मन्त्रालयले सोही वैशाख २० गते त्रिभुवन विश्वविद्यालयलाई राय र प्रतिक्रियाका लागि पत्राचार गरेको थियो ।
शिक्षा मन्त्रालयले नेपाल प्रज्ञाप्रतिष्ठानलाई पनि २०६९ वैशाख २० गते नै राय र प्रतिक्रियाका लागि पत्राचार गरेको थियो । प्रज्ञाप्रतिष्ठानका तत्कालिन उपकुुलपति गङ्गाप्रसाद उप्रेतीले पनि मन्त्रालयलाई जेठ २६ गते पत्र पठाउँदै पाठ्यक्रम विकास केन्द्रको वर्णविन्यास मस्यौदालाई आधा स्वीकार गरेको व्यहोरा जानकारी दिएका थिए । प्रज्ञाले २०६७ पुस २६–२९ सम्म आयोजना गरेको नेपाली भाषा सङ्गोष्ठीले दिएको सुझावअनुसार मिलेका वर्णविन्यासलाई स्विकार्ने र केही प्रतिकूल वर्णविन्यासका सन्दर्भमा सरोकारवालाबीच छलफल गरी निष्कर्षमा पुग्ने जनाएको थियो । सचिव किशोर थापाले यसलाई २०६९ साउन १७ गते शिक्षामन्त्री समक्ष निर्णयार्थ पेस गरेका थिए । तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ साउन २२ गते त्यसलाई एकै शब्दमा ‘सदर’ भनी निर्णय लेखिदिएका थिए ।
लेखक, कवि, स्रष्टाहरू सहयात्रामा
कवि, लेखक तथा भाषासँग जानकार सरोकार राख्ने विद्वान्हरूले यतिबेला विभिन्न पत्रपत्रिकामा आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् । आफूलाई अघिल्लो पुस्ताको ठान्ने र पछिल्लो पुस्ताका मान्नेहरूले यसलाई के कसरी अघि बढाउन सकिन्छ भनेर धारणा सार्वजनिक गरिरहेकै अवस्थाका विभन्न सङ्घ÷संस्था खोलेर भाषा विवादलाई आफ्नो कारणले सुल्झेको भन्न रुचाउनेहरू पनि सक्रिय भएका छन ।
‘सभ्यतामाथिको भ्रष्टीकरण’ भन्दै भाषाविद् बालकृष्ण पोखरेल, डा. ताना शर्मा, साहित्यकार प्रदीप नेपाल, डा. बलदेश शर्मा अधिकारी, डा. खगेन्द्रप्रसाद लुइँटेल, शरच्चन्द्र वस्ती, कानुनविद् शङ्करकुमार श्रेष्ठ, घनेन्द्र ओझा, महेश पौडेललगायतका स्रष्टाहरूले लेखेर वा बोलेर संशोधित वर्णविन्यासको विरोध गर्दै आएका छन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापकहरूले पनि त्यसको विरोध गरेका छन् भने साहित्यिक सङ्घ÷संस्था तथा राष्ट्रिय दैनिक तथा अन्य पत्रपत्रिकाले सुरुदेखि नै भद्र अवज्ञा गर्दै आएका छन् ।
अन्तिममा
भाषा समाजले बिस्तारै–बिस्तारै स्वीकार गर्दे आउने क्रममा अहिलेको विकसित रूपमा पुगेको हो । समायानुकूल परिवर्तन हुनुपर्छ भन्ने विषयमा सहमत हु“दाह“ुदै पनि संयुक्त वर्ण र पदवियोगजस्ता शब्द निर्माणको मेरुदण्डमा प्रहार भएपछि त्यसले अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीच आकाश र जमिनको खाडल सिर्जना गर्छ भन्ने विषयमा ध्यान दिन सकिएन भने समाजलाई नै त्यसले भाषामा अधोगतितर्फ धकेल्ने प्रस्ट छ । भाषा समृद्धिको अमूल्य पाटो हो यसबाट पर्न जाने प्रभावले मुलुकको राष्ट्रियतालाई नै बिस्तारै समाप्त पार्ने दिशातर्फ उन्मुख हुन्छ भन्ने विषयमा ध्यान जानु आवश्यक छ ।
मुलुकभर यसको प्रभाव र त्यसको मान्यताका विषयमा विवादको निकै रस्साकस्सी चलेको पछिल्लो अवस्थामा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले अघिल्लो समयको व्याकरणलाई बुझदै नबुझी एकैपटक अहिलेको परिस्थिमा प्रवेश गर्ने हु“दा त्यसको असर ढिलो चा“डो भाषाको समाप्ति नै हो ।
वर्णविन्याससँग बाझिएकाले स्वतः अमान्य

बलदेव शर्मा अधिकारी
भिन्नभिन्न कक्षा वा तहमा भिन्नभिन्न लिपि वा वर्णविन्यासको अभ्यास गराउनु बालअधिकार तथा मानवअधिकार हनन हो । एउटै कक्षामा सरकारी प्रकाशनको पाठ्यपुस्तकमा परम्परागत लिपि तथा वर्णविन्यास प्रयोग गराएर अनि निजी प्रकाशनका पाठ्यपुस्तकमा चाहिँ विकृत लिपि तथा वर्णविन्यास प्रयोग गर्न बाध्य पारेर निर्दोष विद्यार्थीलाई पीडा दिनु बालअधिकारको हनन हो । नेपाल सरकारकै सञ्चार मन्त्रालयअ अन्तर्गतका गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिका शैलीपुस्तिका भिन्न छन् । शिक्षा मन्त्रालयकै त्रिभुवन विश्वविद्यालय, तात्कालिक उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्रकै लिपि तथा वर्णविन्याससम्बन्धी नियमहरू विभिन्न बनाइएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकै प्रकाशन–सामग्रीमा अनेकरूपता आएको छ । नेपाल सरकारकै ‘मन्त्रिपरिषद्’, ‘कम्पनी रजिष्ट्रारको कार्यालय’ जस्ता अतिप्रचलित नाम नै अनेक नियममध्ये अशुद्ध ठहरिएको छ । यस्तो हुँदा पनि प्रज्ञा–प्रतिष्ठान र सम्बन्धित सरकारी निकाय मौन रहेका छन् । सरकारी नियमका लिपि र वर्णविन्याससम्बन्धी नियमहरू नेपालको वर्तमान संविधानमा प्रयुक्त भाषाको लिपि र वर्णविन्याससँग बाझिएकाले स्वतः अमान्य हुन्छन ।
कथित ‘नेपाली बृहत् शब्दकोश, २०६७’ को सातौँ संस्करण नै अद्वितीय विकृत र त्रुटिपूर्ण शब्दकोश हो । प्रविष्टिमा रहेका शब्दहरूलाई केही व्यक्तिहरूको स्वार्थका लागि अशुद्ध र त्रुटिपूर्ण बनाइएको छ । पेटबोलीमा चाहिँ परम्परागत वर्णविन्यास राखिएको छ । हतारहतारमा २०६७ पौष १ गते नै गम्भीर आपत्तिजनक शब्दकोश छाप्न पठाएर त्यसै वर्ष र महिनाको २६ गते कथित ‘नेपाली भाषा सङ्गोष्ठी’को आयोजना गर्नु र बिरामी मरिसकेपछि चिकित्सक बोलाउनु एकै हो ।
संयुक्त अक्षरलाई छुट्याउदा दुष्परिणाम

शरच्चन्द्र वस्ती
खुट्टा काटेका वर्ण एक्लै उभिन सक्तैनन् भन्ने कुरामा नेपाली भाषा आफ्नो मातृभाषा संस्कृतभन्दा पनि बढी संवेदनशील देखिन्छ, कहिलेकाहीं । त्यसैले, मूल संस्कृतमा अन्त्यमा खुट्टा काटेर लेखिने थुप्रै शब्दलाई समेत खुट्टा नकाटी लेख्न यसले सहज–स्वाभाविक मानेको छ । जस्तै ः भगवान, श्रीमान, हनुमान, शक्तिमान, महान (अझ त्यसमा ‘ता’ थपेर
‘महानता’ पनि) आदि । अनुकरणात्मक शब्दका बीचबाट समेत खुट्टा काटिएको वर्ण हराउँदै गएको छ । तर, संवेदनशील भए पनि यो जडसूत्रवादीचाहिं छैन । त्यसैले कहीं कतै बढी असहज महसुस गर्दा, अपवादस्वरूप, शब्दका बीचमा खुट्टा काट्न पनि यसले संकोच गरेको छैन ।
जस्तै ः खड्ग, उद्गार, उद्भव आदि । यति मात्र होइन, विद्या, पद्म आदि लेख्ने कसैको बानी छ भने त्यसमा पनि आपत्ति मान्नु पर्दैन अनौपचारिक विकल्पका रूपमा त्यसलाई स्वीकार्न सकिन्छ, स्वीकारिएकै छ । अझ विद्यार्थीलाई संयुक्त अक्षर सिकाउँदा त ‘द्’ र ‘या’ मिलेर ‘द्या’ बन्छ भन्ने उदाहरण दिन ‘विद्या’ लेखेर देखाइदिनैपर्छ ।
सहज–स्वाभाविक रूपले चल्ने यस्ता व्यवहारले कुनै समस्या खडा गर्दैनन्, न कुनै हानि नै गर्छन् । तर, जब संयुक्त अक्षरलाई छुट्याएर, खुट्टा काटेर मात्र लेख्नुपर्छ भन्न थालिन्छ र त्यसरी नलेख्नु गल्ती हो भनेर ‘फेल’ गर्न थालिन्छ, त्यसले एउटा नियम र सिद्धान्तको रूप लिन्छ । राज्यशक्तिको आडमा जबर्जस्ती लादिने, भाषिक प्रकृति विपरीतको यस्तो जड सिद्धान्तले भाषा र लिपिको लचिलोपन र स्वाभाविकता त समाप्त पार्छ नै, अवश्यम्भावी घातक दुष्परिणाम पनि निम्त्याउँछ ।
http://rajdhanidaily.com बाट साभार
No comments:
Post a Comment