भाषाको हुर्मत नलेऊ
विगत केही वर्षयता नेपाली भाषामा हिज्जे (वर्णविन्यास) लाई लिएर निकै बहस र विवाद सतहमा आइरहेका छन् । नेपाली भाषा र व्याकरणका आधिकारिक निकाय मानिएका नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयले नेपाली भाषालाई सरल र सहज बनाउने भन्दै वर्णविन्यासमा परिवर्तन गरिदिएपछि नेपाली भाषाको स्वरूपलाई लिएर निकै लामो बहस र विवाद कायमै छ । हो, भाषा जीवन्त हुन्छ, साथै परिवर्तनशील र गतिशील पनि । कुनै पनि भाषा आफ्नै मौलिकताले मात्र स्थायी र जीवन्त बन्न सक्दैन । समयअनुसार यसमा सुधार, परिवर्तन र परिमार्जनको आवश्यकता अवश्य हुन्छ । तर, परिमार्जन, सुधार वा सरलताका नाममा भाषाको मर्म र मूल्यमान्यतामा समेत आँच पु¥याइनु कदापि उचित मान्न सकिन्न ।
अहिले बजारमा अनेकथरी शब्दकोश आएका छन् । शब्दकोश लेख्ने हरेक ‘विद्वान्’का आ–आफ्नै डम्फु बजेका छन्, ती शब्दकोशमा । वर्षौंअघिदेखि प्रचलनमा रहेको भाषाको हुर्मत लिने काम ती विद्वान्बाट भएको छ । यसमा स्वयं राज्यमातहतका निकायहरू प्रज्ञा प्रतिष्ठान, त्रिविलगायतको पनि संलग्नता देखिन्छ । प्रज्ञा प्रतिष्ठानले पछिल्लो समय परिमार्जनसहित बजारमा ल्याएको ‘बृहत् नेपाली शब्दकोश’मा समेत वर्णविन्यास बिगारिएको भन्नेबारेमा बहस र विवाद भाषाविद्हरूबीच निकै चर्को रूपमा चलेको देखिन्छ । यसले भाषाको उत्थान, विकास र विस्तारको जिम्मेवारी लिएको प्रज्ञा प्रतिष्ठान र त्रिविजस्ता निकाय र त्यहाँका जिम्मेवार पदाधिकारीप्रति अनेक शंका जन्माएको छ । विगत केही वर्षदेखि अन्य भाषाको प्रभाव ग्रहण गर्दै नेपाली भाषालाई विकृत बनाउने र तोडमोड गर्ने काम हुँदै आएको हो । पछिल्लो समय प्रविधिको विकास र व्यापकतासँगै प्रविधिमैत्री भाषा र वर्णविन्यासका बारेमा पनि व्यापक चर्चा भइरहेको छ । कम्प्युटर र आधुनिक अन्य प्रविधिका लागि समेत उपयुक्त वर्ण र त्यसअनुसारको वर्णविन्यासको खोजी अवश्य भएको छ तर यसको मतलव प्रविधिका नाममा आफ्नै भाषाको हुर्मत लिने काम गरिनुहुँदैन । प्रविधिलाई भाषामैत्री बनाउनतिर लाग्नुचाहिँ बुद्धिमानी ठहर्छ ।
भाषा संस्कृति र सभ्यतासँग जोडिएको कुरा हो । भाषा पहिचान हो । भाषा मानिसको सञ्चारको प्रभावकारी माध्यम हो । हरेक बच्चा घरपरिवारमा बोलिने भाषाबाट वास्तविक ज्ञान लिन सुरु गर्छ । यसर्थ, भाषाले व्यक्तिको सभ्यता र संस्कार अनि बुझाइ र ज्ञानको दायरामा फराकिलोपन ल्याउँछ । भाषासँगै जोडिन्छ, वर्णविन्यास अथवा भाषाको हिज्जे । व्यक्तिले आवाजमा बोल्ने शब्द र लेखिने शब्द फरक हुन्छ । कथ्य रूप नै लेख्य रूप हुन सक्दैन, सुहाउँदैन । यसर्थ, भाषाका कथ्य र लेख्य रूप वर्गीकरण गरिएको हो । तर, अहिले कथ्य रूपलाई लेख्य स्वरूपमा मान्यता दिइने कुरा पनि व्यापक रूपमा उठिरहेको छ । यसले भाषालाई पूरापूर गिजोलगाजोल त पार्छ नै, भविष्यका कर्णधार विद्यार्थी र बालबालिकाको मस्तिष्कमा भाषाप्रति नकारात्मक छाप बनाइदिन्छ । यसको दूरगामी प्रभाव र परिणति हामी हाम्रो संस्कृति र सभ्यता गुमाउँछौं, भाषा गुमाउँछौं । ठिमाहा भाषा र वर्णविन्यासको प्रयोगले हाम्रो समग्र वाङ्मय पनि गुमाउँछौँ । यसर्थ कहीं, कहिल्यै, कसैगरी कुनै पनि कुराको प्रलोभन वा स्वार्थमा फसेर भाषा र वर्णविन्यास बिगार्ने काम नगरौँ । प्रज्ञा प्रतिष्ठान र त्रिविजस्ता राज्यमातहतका निकायहरू जहाँ विद्वान्, प्राध्यापक, साहित्यकार, भाषासेवी एवं भाषाविद्हरूको संलग्नता छ, त्यहाँबाट नेपाली भाषा बचाउन, भाषासँगै भाषिक संस्कृति र सभ्यता बचाउन तत्काल पहलकदमी लिनु जरुरी छ । यसका लागि अहिले तत् निकायबाट भइरहेका भाषा बिगार्ने प्रकृतिका कुनै कामकारबाही भए तिनलाई सच्याउनुपर्छ । साथै, अन्य व्यक्तिगत र संस्थागत तवरबाट भइरहेका यस्ता कामकारबाही रोक्न सबै सरोकारवाला पक्ष क्रियाशील हुनु जरुरी छ ।
http://www.rajdhani.com.np बाट साभार
No comments:
Post a Comment