"नेपाली भाषा जोगाऔँ " बारे
१. केही मित्रहरुले भाषा जोगाऔँ भनी जोरसोरले हल्ला गर्ने गरेको सुनिन्छ । यसबारे मलाई एउटा उखानको सम्झना हुन्छ "अनिकालमा बिउ जोगाऔँ , हुलमुलमा जिउ जोगाऔँ "। यस सन्दर्भमा भाषा भनेको बिउ र जिउ जोगाए जस्तो नभएर यो निरन्तर विकासशील एवम् गतिशील विषय हो । समाजको विकाससँगै यसको गति र मात्रामा पनि विस्तार हुँदै र निखार आउँदै जान्छ । समाज खुम्चिँदै गएमा यो पनि खुम्चिँदै जान्छ । त्यसैले विकासशील समाजको अपेक्षा त भाषालाई बढाऔँ, विकास एवम् प्रवर्धन गर्दै लैजाऔँ भन्ने पो हुनु पर्ने हो ।
२. अमेरिका, युरोप, अस्ट्रेलिया आदि देशमा नेपाली आप्रवासीहरुले आफू र आफ्ना सन्तान (परिवारको दोस्रो वा तेस्रो पिँढी) मा नेपाली भाषा हस्तान्तरण गर्ने एवम् सिकाउने ठुलो समस्या छ । यसका लागि समेत हाम्रो अध्ययन, चिन्तनलाई तिखार्दै लैजानु पर्ने हो । यसो गरे भाषा बचाएको भन्न मिल्ला । स्वदेशभित्र त अझ यसको विकासले पो प्राथमिकता पाउनु उचित हुन्छ । यसो भए त्यसैको सिको गरेर आप्रवासी समाजलाई पनि आफूले प्रयोग गर्दै गरेको भाषामा ऊर्जा थप्न बल पुग्छ ।
३. विकासशील भाषाका लागि समाज विकाससँगै यसको प्रवर्धन गर्नु पर्ने अपेक्षा अनुसारका गतिविधि अगाडि बढाइएन, समाजको आधुनिक माग अनुसार अपेक्षित शब्द भण्डार, अभिव्यक्तिगत विविधता तिखारिएन भने भाषा कुण्ठित हुन जान्छ ।
४. भाषा लोपवान् भए जगेर्ना गर्नु पर्ला । नेपाली भाषा लोपवान् नहुँदै यसलाई जोगाऔँ मात्र भनिँदा लोककथामा वर्णित बाघ नआई "बाघ आयो आयो" भनेर हल्ला गर्ने केटाको जस्तो नियति भोग्नु नपर्ला भन्न सकिन्न । यसरी भविष्यमा मरिन्छ भनेर अहिलेदेखि नै खुट्टा पसारी नकारात्मकता निम्त्याउने खालका स्वरहरु उराल्नुको साटो समझदारहरुले भविष्यमुखी दृष्टि राखेमा मात्र पछि पछुताउनु नपर्ला ।
५. ज्ञान विज्ञानका विविध क्षेत्रमा नेपाली भाषाको विस्तार चाहनेहरुले यसका समस्या पहिल्याई समाधानतिर अभिमुख हुनतिर खुला सोच राख्नुको साटो सधैँ ह्रस्वदीर्घ, श/ष/स, जोड्ने मोड्ने आदि कुरामा नै सीमित गर्ने, गराउने तथा झुलाउने परिपञ्चबाट माथि नउठी नउठाई आजको समयमा नेपाली भाषाको विकास सम्भव देखिएन । सबैलाई चेतना भया.
000
कारक र विभक्ति
१. कारकलाई वाक्यमा क्रियाले गर्ने कार्यको साधक अथवा क्रियाको कार्य सिद्ध गर्न आउने शब्दका रूपमा लिइन्छ । त्यसैले कारकहरुले क्रियासँग अर्थगत सामान्य सम्बन्ध मात्र जनाउँदैनन् । यिनीहरु वाक्यमा क्रियाको कार्य सम्पन्न गर्न आवश्यक पर्ने
खास किसिमको भूमिका निर्वाह गर्न आएका हुन्छन् । यस्ता कारकलाई कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण भनिन्छ ।
२. सामान्यतः कारकहरुलाई व्यक्त गर्न सहयोगी हुने प्रत्ययवत् चिह्नलाई विभक्ति भनिन्छ । कारक र विभक्तिको सम्बन्ध एकानुरूप देखिँदैन । एउटै कारक एकभन्दा बढी विभक्तिमा प्रकट हुन सक्छ । त्यस्तै एउटै विभक्तिले एकभन्दा बढी कारक व्यक्त गर्न सक्छ । अझ विभक्तिविना पनि वाक्यमा आएका क्रियासँग कारकले आफ्नो भूमिका दर्साएको हुन्छ । जस्तै;
(क)राम घर आयो । (ख)हरि पुस्तक पढ्छ ।
यी दुई वाक्यमा कुनै विभक्ति देखिएको छैन तापनि (क) वाक्यमा कर्ता र अधिकरण कारक आएको छ भने (ख) वाक्यमा कर्ता र कर्म आएको छ ।
३. यसरी विभक्तिहरु कारक व्यक्त गर्न कतिपय सन्दर्भमा अनिवार्य हुँदैनन् । अकर्मक क्रियामा कर्ता जनाउँदा विभक्ति लाग्दैन । जस्तै; राम दौडन्छ । राम दौड्यो । यिनीहरु खास सन्दर्भमा भने अनिवार्य देखिन्छन् । सकर्मकको कर्ताले भूत काल वा पूर्ण पक्षमा विभक्ति अनिवार्य रूपमा लिन्छ भने वर्तमान जनाउँदा ऐच्छिक ( कतै देखिने, कतै नदेखिने) हुन्छ । जस्तै;
गाईले दुध दियो । गाईले दुध दिएको छ ।
गाईले दुध दिन्छ /गाई दुध दिन्छ ।
कर्म ( प्रत्यक्ष कर्म) मा पनि विभक्ति ऐच्छिक हुन्छ । जस्तै;
म भात खान्छु । राम भाइ (लाई) हेर्छ । ऊ मलाई हेर्छ । ऊ रामलाई कुट्छ ।
४. करण, सम्प्रदान र अपादानमा भने विभक्ति अनिवार्य रूपमा देखिन्छ । जस्तै;
हरि चक्कुले तरकारी काट्छ । चक्कु : करण
मैले भाइलाई कलम दिएँ । भाइ : सम्प्रदान
ऊ घरबाट आयो । : घर : अपादान
अधिकरणमा भने गत्यर्थक क्रिया ( जानु, आउनु आदि) मा विभक्ति ऐच्छिक हुन्छ । जस्तै;
ऊ घर गयो । राम विद्यालय आयो ।
५. वाक्यमा कर्ता र कर्म बाहेक अन्य कारकहरु परिधीय (अतिरिक्त) सूचनाका लागि आउने हुँदा पनि यिनमा प्राय: विभक्तिको अनिवार्यता रहेको देखिन्छ । भाववाच्य र कर्मवाच्यमा त कर्ता हुने शब्द पनि परिधीय सूचना लागि आउने हुँदा त्यस स्थितिमा आएको कर्ताले द्वारा, बाट विभक्ति लिएर आफूलाई वाक्यको ऐच्छिक संरचनाको अङ्ग बनाउँछ । यस्तो कर्ता करण वा माध्यम भई अतिरिक्त हुन जान्छ । जस्तै;
हरिद्वारा उनीहरु बोलाइए ।
कर्मवाच्यमा भने कर्म नै कर्ताको स्थानमा रहने हुँदा यो परिधीय बन्दैन ।
६. ले र लाई विभक्ति आकारमा एउटै जस्तो देखिए पनि कारक जनाउने सन्दर्भमा यिनको कार्य फरक हुन्छ । कर्तामा लाग्ने `ले´ र कर्ममा लाग्ने `लाई´ अनि करणमा लाग्ने `ले´ र सम्प्रदानमा लाग्ने `लाई´ एउटै होइनन् ।
७. विभक्तिले कारकत्व मात्र जनाउँदैनन् । षष्ठी वा सामान्य सम्बन्ध जनाउने को/का/कि, रो/रा/री, नो/ना/नी जस्ता विभक्तिको कारकसँग प्रत्यक्ष सम्बन्ध रहँदैन । यिनीहरु विशेष्य (नाम) को विशेषण भएर देखिन्छन् ।
कतै `का´ विभक्ति अत्यधिकता जनाउन पनि आएको देखिन्छ । जस्तै; मुठाका मुठा साग, बाल्टीका बाल्टी पानी
८. केही विभक्तिहरु कृदन्त उपवाक्यहरुको संयोजन गर्न पनि सहयोगी हुन्छन् । जस्तै;
पेट दुखेकाले मैले अौषधी खाएँ ।
( < मलाई पेट दुख्यो । मैले अौषधी खाएँ ।)
चोरी गरेकोमा उसलाई दण्ड दिइयो ।(< उसले चोरी ग-यो । उसलाई दण्ड दिइयो ।)
होसले हिँड । (< होस गरेर हिँड) ।
यसरी कारक र विभक्तिको एकानुरूप सम्बन्ध देखिँदैन । विभक्तिहरु पदावली तथा वाक्यका योजक पनि भएकाले यिनलाई कारकका दृष्टिले मात्र नभई अन्य आधारमा पनि हेरिनु उचित हुन्छ ।
000
नेपालीमा सन्धि नियम
कतिपय नेपालीका सन्धि नियम संस्कृतसँग मिले पनि नेपालीका आफ्नै सन्धि नियम पनि छन् । जस्तै;
स्वर सन्धि :
१. बढ्ती
क. एक+ असी> एकासी, सात+ असी>
ख. दि> देऊ, लि> लेऊ,
मिल्> मेल, तिल> तेल
ग. भई> भैपरी, बयसट्ठी> बैसट्ठी, बहिनी> बइनी> बैनी
घ. बिसाउनी> बिसौनी, ढोगौनी, सुर्कौनी
ङ. धु> धोयो, रु> रोयो, छु> छोयो, खुल्>
खोल्यो, जुध्+आहा> जोधाहा, दोधार,
दुई+बाटो> दोबाटो
२. घट्ती
क. काम+आइ> कमाइ, जाँच+ आइ> जँचाइ, बाँध+ आइ> बँधाइ, छान्+ अोट> छनोट, चाट् > चटनी,
हार्+ उवा> हरुवा, बाझ्+ उवा> बझुवा, बाघ+मुख> बघमुखा
सात+ चालिस> सच्चालिस, पाँच+असी> पचासी, आठ+असी> अठासी
ख. बेच्नु> बिक्नु
ग. खोच+एली> खुँजेली, छोड्नु> छुट्नु
३. अर्धस्वर सन्धि : य, व, ल
बुढी+आमा > बुढ्यामा, सानी> सान्यामा, ठुल्यामा
लि+आउनु> ल्याउनु, भित्री> भित्र्याउनु, रक्सी+ आहा> रक्स्याहा,
घिउ> घ्यु, पिठिउँ> पिठ्युँ,
देउसी> द्यौसी, बेउली> ब्यौली
आउ+अत> आवत, लाउ+ आइ > लवाइ, छेउ+ऐ> छेवै
सिउ+आइ > सियाइ/सिलाइ, पिउ+आइ > पियाइ/ पिलाइ
४. थपोट
एक+नब्बे > एकानब्बे
रु + आइ> रुवाइ,
धु+आइ> धुवाइ/ धुलाइ,
दि+आइ> दियाइ/ दिलाइ
खा+आइ> खवाइ, जा+आइ> जवाइ
साठी+अौँ > साठियौँ, असी+अौँ > असियौँ
ति+आ> तिया, दु+अा > दुवा
व्यञ्जन सन्धि
१. सवर्ण सन्धि
कसले/ कस्ले > कल्ले, यसले/ यस्ले> यल्ले, त्यसलाई/ त्यस्लाई > त्यल्लाई, उपर+लो> उपल्लो, पल्लो, वल्लो
सात+ चालिस> सच्चालिस, पाँच+बिस> पच्चिस,
२. अन्य व्यञ्जन सन्धि
गोडा+ एटो > गोरेटो, घोडा+ एटो> घोरेटो, जड+अो> जरो, सूची+एरो> सुजेरो, मथ्+आनी> मदानी,
निरनुनासिक : कुँडो+अौरो> कुनौरो
अनुनासिक : खान्छ> खाँदै, जान्छ> जाँदै
३. विपर्यय
घर+एडी> घडेरी, बिरामी> बिमारी,
नजिक> नगिच
४. थपोट
माथि+लो> माथिल्लो, अगि+लो> अगिल्लो
जा+छ> जान्छ, हु+छ> हुन्छ
छ+बिस> छब्बिस, छ+तिस> छत्तिस, बत्तिस
एक> एक्का, रोक्का, ठेक्का, छुट्टी
खोच> खुँज/खुँजेली
लोप सन्धि : स्वर/ व्यञ्जन
फनक्क> फन्को, रनक्क> रन्को
कुहुन्छ> कुह्यो, रहन्छ> रह्यो, थियो> थ्यो,
आउ> आयो, गाउ> गायो, सिउ> सियो
बोलाउ> बोलायो, देखाउ> देखायो,
भयो> भो,
बच्चा> बचरो, बिच्च> बिचरो
कोइली > क्वैली, चोइली> च्वैली, बहिनी > बैनी, जहाज > जाज
खानुहोस्> खानुस्, जानुहोस्> जानुस्,
लामो+पुच्छर > लामपुच्छ्रे, कालो+ज्यामिर> काल्ज्यामिर, भानिज दाइ> भान्दाइ
आदेश
हु> भयो/ भइन्छ, जा> गयो/ गइन्छ, लग्> लै (लै+जान्छ), पाँच+सट्ठी> पैँसट्ठी, सात+तिस> सैँतिस, चार+बाटो> चौबाटो, चार+तर्फी> चौतर्फी
स्रोत : समसामयिक नेपाली व्याकरण / प्रयोगात्मक नेपाली व्याकरण
000
जोडे मोडेका अक्षरहरुमा रकारका अनेक रूप
आधा व्यञ्जन ( हल् वर्ण) `र´ सँग जोडिन आउँदा यो विभिन्न रूपमा देखिन्छ । पाई ( ठाडो धर्को ा ) लिने वा ढाड भएका वर्णहरुमा यो एक प्रकारको देखिन्छ । जस्तै; प्+र=प्र, स्र ग्र ज्र न्र म्र ब्र, व्र, क्र फ्र
ढाड नहुने वा पाई नलिने केही वर्णमा भने यो अनेक आकार प्रकारमा देखिन्छ । यस्तो हुनुमा मुख्यतः लिपिचिह्नको स्वरूप जिम्मेवार छ। जस्तै;
ट्+र= ट्र, ठ्+र=ठ्र, ड्+र=ड्र,
ह्+र=ह्र, र+ह= -ह,
द्+र=द्र
पाई भएकै अक्षरमा पनि आकार प्रकार खिइएर अर्कै जस्तो स्वरूपमा देखिन्छ । जस्तै;
श्+र=श्र
त्+र= त्र
यी सबै रकारकै विविध रूप हुन् ।
(यस्तै ल सँग ह र ह सँग ल यस्तो हुन्छ :
ल्+ह= ल्ह : ल्हासा, ह्+ल=ह्ल : आह्लाद)
000
जोडे मोडेका अक्षर र उच्चारण
क. जोडे मोडेका अक्षर भएका शब्दको उच्चारण दुई खालको देखिन्छ :
(१) संयुक्त उच्चारण । जस्तै; पक्का, धक्का, कप्प, मक्ख, सन्न, फन्न, सर्प, सर्त,
यस्ता शब्दको उच्चारण गर्दा अगिल्लो वर्णले पछिल्लो आधा व्यञ्जनलाई आफूतिर तान्छ । त्यसैले माथिका शब्दहरुको उच्चारण र अक्षर संरचना यस्तो हुन्छ । जस्तै;
/पक्.का/, /कप्. प/, /मक्. ख/, /सन्. न/
यसरी यहाँ आधा व्यञ्जन (हल् वर्ण) स्पष्ट रूपमा अगिल्लो अक्षरको अङ्ग भएर उच्चरित हुने हुँदा उच्चारण र अक्षर संरचना पनि सजिलै छुट्याएर देखाउन सकिन्छ । यस्ता शब्द द्वक्षरी बनेका देखिन्छन् ।
(२) मिश्र उच्चारण । जस्तै; ख्याल, प्याज, त्याग, स्याल, क्रम, व्रत, भ्राता, क्लब, प्वाल, भ्वाङ, ल्वाङ ।
यस्ता शब्दको उच्चारणमा पछिल्लो वर्णसँग अगिल्लो वर्ण एकाकार भई उच्चरित हुन्छ । यस्तो स्थिति य, र, ल, व वर्णसँग अन्य व्यञ्जन वर्णको मेल हुँदा देखा पर्छ। यिनको संरचना छुट्याएर उच्चारण गर्न नसकिने जटिल खालको हुँदा यिनलाई मिश्र उच्चारण भन्न सकिन्छ । यसरी नेपालीमा य, र, ल, व वर्णसँग टाँसिन आउने व्यञ्जन वर्णहरुलाई अलग्याएर ( जस्तै; ख्+ या= ख्या, क्+र = क्र, क्+ल = क्ल, प्+वा = प्वा) देखाउन सकिए पनि उच्चारणमा भने एकाकार भएर उच्चरित हुन्छन् । त्यसैले माथिका ख्याल / ख्याल्/, क्रम / क्रम्/ प्वाल / प्वाल्/ आदि शब्द एकाक्षरी हुन्छन् ।
मिश्र उच्चारण हुने यस्तो संरचना शब्दहरुको बिच वा अन्त्यमा आएमा चाहिँ कतिपय स्थितिमा व्यञ्जन वर्ण द्वित्व भई ( डब्लिई) पहिलो संयुक्त अक्षरका रूपमा र दोस्रो मिश्र अक्षरका रूपमा उच्चरित भएको पाइन्छ । जस्तै;
भाग्य / भाग्. ग्य/, कन्या / कन्. न्या/, वाक्य / बाक्. क्य/ सत्य, नम्र / नम्. म्र/, राम्रो / राम्. म्रो/, विचित्र / बि. चित्. त्र/, बाख्रो /बाक्. ख्रो/, बाक्लो/ बाक्. क्लो/ एक्लो, शुक्ल / सुक्. क्ल/, परिपक्व / प. रि. पक्. क्व/,
तर आधा व्यञ्जन ( हल् वर्ण ) कतिपय स्थितिमा मिश्र उच्चारणमा आए पनि यिनले व्यञ्जन द्वित्व नलिएको भेटिन्छ । जस्तै;
पुग्यो, खोक्यो, हुल्याहा, छुल्याहा, पु-याउनु, छिट्याउनु, अलग्याउनु ...
(३) अन्तस्थ वर्णहरु (य र ल व ) का बिच पनि आपसमा मिश्रण हुन्छ :
सुइय्य, -याल, ल्यास्स, ल्वास्स, -वाम्म
000
भाषा परिवर्तन हुन्छ । व्याकरण परिवर्तन हुँदैन !! ??
१. नेपाली भाषामा वीरेन्द्र केशरी अर्ज्याल ( विसं. १९६० तिर) ले व्याकरण लेखे । त्यसपछि जयपृथ्वी बहादुर सिंह ( विसं. १९६९ ) ले व्याकरण लेखे । यी दुई व्याकरण तत्कालीन लेखनमा जे जस्तो प्रचलन थियो त्यसैमा आधारित भई लेखिएका थिए । यिनलाई प्राकृत व्याकरण नाम दिइएको देखिन्छ।
२. त्यसपछि व्याकरणको धार नै परिवर्तन गरेर गोरखा व्याकरण बोध लेखियो । यो भानुभक्त, मोतीराम आदि पूर्ववर्ती लेखक तथा साहित्यकारहरुले प्रयोग गरेको हलन्त लेखनलाई बहिष्कार गर्ने राममणि आदी (विसं. १९६५) को अवधारणालाई आधार बनाएर लेखिएको थियो ।
३. यही दशकमा मध्यमार्गी धार भनी हलन्त बहिष्कारमा केही संशोधन सहित गोरखा भाषा चन्द्रिका व्याकरण ( विसं. १९६९/७०) प्रकाशित भयो । यसकै मझौला रूप मध्य चन्द्रिका ( विसं. १९७६) प्रकाशित भयो । तत्कालीन शासकीय आडमा यिनै दुई व्याकरणलाई बनारस र दार्जिलिङमा समेत मान्यताको चाँजो मिलाइयो । यसरी दुई दशकमा प्राकृत धार, हलन्त बहिष्कारवादी धार र कथित मध्यमार्गी धारका अलग अलग व्याकरण तत्कालीन लेखकहरुले बेहोरेको विषय हो । प्राकृत व्याकरण बाहेक यी सबै व्याकरण मूलत: वर्ण विन्यासलाई व्याकरण मान्ने र त्यसलाई नियमन गर्ने मान्यताबाट मात्र भिन्न देखिएका थिए ।
नेपाली कसरी शुद्ध लेख्ने / नेकशुले
(विसं. १९९१) नामक पुस्तिका यही पछिल्लो व्याकरणात्मक धारको सारांशका रूपमा नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष बालकृष्ण शमशेरको प्रस्तावना सहित जारी भयो । यसभित्र अग्रपृष्ठको सुरुमा तत्कालीन डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन (अहिलेको दृष्टिले त्यसले शिक्षा मन्त्रालयको हैसियत राख्थ्यो भन्ने देखिन्छ । यसका डाइरेक्टर जनरल अर्थात् महानिर्देशक मृगेन्द्र शमशेर जबरा थिए ।) को तर्फबाट एउटा सूचना समेत प्रकाशित छ । त्यो यस प्रकार छ :
"संवत् १९९२ सालदेखिको परीक्षामा
यही नियम बमोजिम शुद्धाशुद्धि जाँचिने छ ।"
यस्तो आदेश थियो ।
विसं. २०३३ मा नेराप्रप्रबाट प्रकाशित रोहिणी प्रसाद भट्टराईको बृहद् नेपाली व्याकरणसम्म उल्लिखित धारले नै निरन्तरता पायो ।
४. यसपछि त्रिभुवन विश्व विद्यालयका अनिवार्य नेपालीका गोष्ठीहरु विसं. २०३५/३६ का निर्णय अनुसार अनिवार्य नेपाली शिक्षण निर्देशन मार्फत नेपाली वर्ण विन्यासमा फेरबदल भयो । नेपाली शब्द भण्डारमा प्रयोग हुने संस्कृत शब्दलाई तत्सम मानी संस्कृत अनुसार नै लेख्ने तर आगन्तुक र तत्भवलाई नेपाली उच्चारण अनुसार व्यवस्थित गर्ने अवधारणा कार्यान्वयनमा आयो । यसैको अनुसरण तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले विसं. २०४० मा प्रकाशित नेपाली बृहत् शब्दकोशमा पनि भयो । यही अवधारणा विसं. २०५६ पछि विद्यालय तहमा पनि अौपचारिक रूपमा लागु भयो । सञ्चार माध्यमहरुमा क्रमश: यसको अनुसरण हुँदै आएको देखियो ।
५. नेराप्रप्रले विसं. २०५७ को गोष्ठीमा गरेको निर्णय र त्रिविले विसं. २०६५ र नेप्रप्रले विसं. २०६७ को गोष्ठीमा गरेको निर्णय अनुसार नेप्रप्रले शब्दकोशमा र सम्बन्धित संस्थाहरुले आफ्ना प्रकाशन र पठन पाठनमा संशोधित वर्ण विन्यास कार्यान्वयनमा ल्याएका हुन् ।
६. वर्ण विन्यासमा मात्र नभई समग्र व्याकरणमा नै २०३५ पछि परिवर्तनको क्रम अगाडि बढेको हो । यसको आरम्भ त्रिवि पाविकेबाट विसं. २०३६ मा प्रकाशित शब्द रचना र वर्ण विन्यास : भाषा वैज्ञानिक पद्धति नामक ( लेखक: मोहन राज शर्मा) ग्रन्थबाट भयो । यसपछि यही धारलाई विस्तार र नवीन ढाँचाका साथ विसं. २०४९ मा समसामयिक नेपाली व्याकरण ( लेखक: हेमाङ्ग राज अधिकारी), २०५४ मा वाक्य व्याकरण ( लेखक: माधव प्रसाद पोखरेल),
२०५७ मा प्रयोगात्मक नेपाली व्याकरण र २०७२ मा नेपाली सन्दर्भपरक व्याकरण प्रकाशित भए । साथै यस चरणमा टङ्क प्रसाद न्यौपाने, व्रतराज आचार्य लगायतका लेखकहरुले पनि आफ्ना व्याकरणलाई आधुनिक भाषा वैज्ञानिक अवधारणा अनुरूप नै प्रकाशित गराएको देख्न सकिन्छ । अहिलेका कुनै पनि व्याकरणमा परम्परागत धारको प्रभाव कम देखिनु पनि यसमा आएको परिवर्तनको टड्कारो प्रमाण हो ।
यी व्याकरणले परम्परागत व्याकरणलाई विश्व विद्यालय तहमा २०५१ को अनिवार्य नेपाली पाठ्यक्रमदेखि नै पूर्ण रूपमा प्रतिस्थापित गरेको कुरा त्रिविका पाठ्यक्रम र निर्देशिका सम्बन्धी अभिलेखहरुबाट प्रमाणित हुन्छ । उल्लिखित तथ्यबाट २०३६ पछिका नेपाली भाषाका आधिकारिक व्याकरण ग्रन्थहरुलाई विद्वज्जनहरुले परम्परागत व्याकरणहरुसँग भिडाएर हेरेमा व्याकरणमा के कति परिवर्तन भएको रहेछ भन्ने कुरा खुलस्त हुन्छ ।
७. परम्परागत व्याकरणको धार विच्छेद भएकै ४६ वर्ष भयो । यस क्रममा परम्परागत व्याकरणको ढाँचामा व्याकरण लेख्ने प्रतिष्ठित लेखकहरु कृष्ण प्रसाद पराजुली, नरेन्द्र चापागाईं, तारानाथ शर्मा आदिले २०५१ पछि नयाँ धारमा व्याकरण लेखेको समेत पाइन्छ ।
८. भाषा परिवर्तन हुन्छ र व्याकरण परिवर्तन हुँदैन भन्ने भाष्यका प्रतिपादकहरु (त्रिलाउके : बलदेव गाउँले, स्वागत नेपाल, शरच्चन्द्र वस्ती) ले उल्लिखित नेपाली व्याकरणको इतिहासलाई गलत व्याख्या गर्दै दुष्प्रचारबाट कपमा आँधी सृजना गरी अस्वीकार गर्दैमा लोकबोलीको जगबाट उठेको नेपाली भाषा लोकबोलीमा प्रचलित नभएको र व्याकरणले स्थिर तथा अपरिवर्तनीय बनेर चलेको संस्कृत जस्तो नरहेको घाम जस्तै छर्लङ्ङ छ । यसको ऐतिहासिक र व्याकरणात्मक विकासको पृष्ठभूमिले यसलाई विभिन्न कालखण्डमा सुधार र परिमार्जनका लागि आबाज उठाउने तथा चिन्तनमा गहनता थप्ने पुष्कर शमशेर, बालकृष्ण पोखरेल, बल्लभ मणि दाहाल, चूडामणि रेग्मी, महानन्द सापकोटा, शिवराज आचार्य, चूडामणि बन्धु, वासुदेव त्रिपाठी लगायत विभिन्न कालखण्डका विद्वान् भाषाविद्हरुको योगदानलाई अवमूल्यन गर्दै कृतघ्न बनी तथ्यलाई बङ्ग्याउनेहरुलाई नै उल्टै महत्त्व दिनु सभ्य समाजका लागि सुहाउँदो मान्न नसकिएला । सबैलाई चेतना भया...
नेपाली संक्षिप्त कोश (विसं. २००७) लाई मानक मान्ने भनी गरिएको कथित प्रचारबारे शब्दकोशमा विद्या वारिधि गरेका बद्री विशाल भट्टराईले अनुहारिका भित्तामा लेखेको टिप्पणी मित्रहरुको जानकारीका लागि साझा गरिएको छ ।)
रामचन्द्र ढुङ्गानाको संक्षिप्त नेपाली कोश(२००७)बारे
१.गत असार ९ पछि फेसबुकमा टीकाराम यात्रीले डा. बलदेव गाउँलेसँग लिएको अन्तर्वार्ता हेरियो। युट्युबमा समेत राखिएको सो अन्तर्वार्तामा गाउँलेको निकै चर्को आबाजमा आग्रह थियो : रामचन्द्र ढुङ्गानाको संक्षिप्त नेपाली कोश (२००७) अनुसार नेपाली वर्ण विन्यास कायम हुनु पर्छ, त्यस कोशका वैकल्पिक नियम पुनःस्थापित हुनु पर्छ।
पहिले नेपाली बगली कोष (१९९८) अनुसार वर्ण विन्यास कायम गर्नु पर्छ भन्ने गाउँलेजीको स्वर ९ वर्षपछि कसरी संक्षिप्त कोश अनुसार हुनु पर्छ भनेर फेरियो ? म त छक्क परेँ।
२.संक्षिप्त नेपाली कोश (२००७) मा १६००० जति शब्द छन् । त्यसको प्रकाशकीयमा तत्कालीन भाषानुवाद परिषद्का कामु अध्यक्ष पुष्कर शमशेरले नेपाली बगली कोश (१९९८) ले वर्तमान नेपाली भाषा साहित्यको खाँचो टार्न नसकेकाले पं.रामचन्द्र ढुङ्गानाको व्यक्तिगत प्रयासमा निर्मित संक्षिप्त नेपाली कोश (२००७) प्रकाशन गर्नु परेको विचार सहित यस कोशको अक्षर विन्यास सजिलो नेपाली व्याकरण अनुसार रहेको र त्यसका नियम अपुग भएका ठाउँमा नेपाली भाषा प्रकाशिनी समितिका विद्वानहरुको सभाले गरेको निर्णयानुसार व्यवस्थित गरिएको उल्लेख छ । उनले यी नियमले नेपाली व्याकरणका नियम एउटै बस्ने आशा पनि व्यक्त गरेका छन्। अपुग नियमबारे विद्वानहरुको सभाले निर्णय गरेको भने पनि विद्वानहरुको नाम, प्राज्ञिक पृष्ठभूमि आदिबारे भने कहीँ कतै उल्लेख छैन।
३. भूमिकामा कोशकारले पनि पुष्करकै विचारलाई आफ्ना शब्दमा राखेका छन्। थप कुरा के छ भने 'च' वर्ग र टवर्गका वर्णसँग जोडिने न् तथा ञ् 'ण्' हुने नियम राखेर उदाहरणमा लण्ठा, झञ्झट यी दुई शब्द दिई यी र यस्ता शब्दलाई शिरोविन्दु दिई लंठा, झंझट पारेर पनि लेख्न सकिने उल्लेख गरेका छन्।
४. उदाहरणमा दिइएका र सोही प्रकृतिका शब्दहरु अहिले ञ् ण् होइन न् जोडेर लेखिन्छन् जस्तै : लन्ठा, झन्झट, सन्ठी, डन्ठा, डन्डी, झुन्ड, रुन्चे, सन्च, गन्जी, भान्जो आदि किनकि ञ् ण् जोडे पनि ती शब्दको उच्चारण ञ् ण् नभई न् नै हुन्छ। तसर्थ पछिल्लो समयमा सम्भव भएसम्म तद्भव र आगन्तुक शब्दलाई उच्चारण अनुसार न् जोडेर लेख्नु उपयुक्त ठानी लन्ठा, झन्झट लेख्ने गरिएको हो।
५.उपर्युक्त शब्दमा शिरोविन्दु दिने वैकल्पिक नियम त घातक नै छ । कक्षामा बाह्रखरी पढाउँदा शिरोविन्दु लागेका कं, खं, गं, घं आदिको उच्चारण क्रमशः कम् खम् गम् घम् भनेर सिकाइन्छ । अनुस्वारको उच्चारण पनि यही नै हो । यही आधारमा कक्षामा लंठा, झंझट, संठी, डंडी, गंजी, भांजो लेखेर पढ्न लगाउँदा विद्यार्थीले लम्ठा, झम्झट, सम्ठी, डम्डी, गम्जी, भाम्जो भनेमा शिक्षकले के जबाफ दिने ?
६. कोशका अन्य शब्दहरुमा पनि जताततै वैकल्पिक वर्ण विन्यास देखिन्छ; जस्तै : छयालि (ली) स (श), चाली (लि) स, अङ्कुसे(शे), दुइ(ई), चौसट्ठी(ट्ठि), रजिस्ट(ष्ट)री, मसी(षी)(शी), राँगो(ङो),चौरान (न्न) ब्बे, चौद्ध(ध), जीउ(ज्यू), चिउँ (च्यूँ) डो आदि ।
७. माथिका शब्द हेर्दा यस कोशले तद्भव र आगन्तुक शब्दको ह्रस्वदीर्घ र श,ष,सको प्रयोगका केही स्थापना अगाडि ल्याएको देखिन्छ । तर उपर्युक्त शब्दको वर्ण विन्यास नियम झन् अन्योल बढाउने र दुरूह छन् किनकि ४६ अङ्कलाई वर्णमा लेख्दा "छयालिस, छयालीस, छयालिश, छयालीश" गरी चार; मसी, मषी, मशी तीन र अन्य शब्दका पनि दुई दुई रूप हुन्छन् । यस्तो बहुविकल्पी थितीले नेपाली भाषा शिक्षण सहज र सरल होला ?
८.'नेपाली बगली कोष (१९९८) ' नेपाली कसरी शुद्ध लेख्ने ?-(नेकशुले--१९९१) को वर्ण विन्यास नियमानुसार सम्पादित थियो। सो कोशको ठाउँ नेभाप्रसबाट २००७ मा प्रकाशित संक्षिप्त नेपाली कोशले लियो। अर्को शब्दमा भन्दा बगली कोशलाई संक्षिप्त नेपाली कोशले विस्थापित गर्यो। संक्षिप्त नेपाली कोश पनि पछि संशोधित/परिवर्धित भएको छ । २०३५ को संस्करणमा स्वयं कोशकारले छोटो मन्तव्य समेत लेखेका छन् । यसको संशोधन, परिवर्धन उनले नै वा उनको सहमतिमै भएको हो भन्ने कुरा यसबाट स्पष्ट हुन्छ। साझा प्रकाशनले २०५७ मा निकालेको पाँचौँ संस्करण बजारमा अझै पाउन पनि सकिन्छ। कोशग्रन्थहरु पहिलोभन्दा पछिल्लो बृहत्, बहुसूचनात्मक र अद्यावधिक हुन्छन् । यस परिप्रेक्ष्यमा सहजै पाउन नसकिने, पछिल्ला संस्करणभन्दा कम शब्द भएको तर असङ्गत नियमहरु भने धेरै भएको, संक्षिप्त नेपाली कोश (२००७) कै वर्ण विन्यास नियमको पुनःस्थापना गर्नु पर्छ भन्ने गाउँलेको आग्रह रहस्यमय छ।
९. बगली कोषमा करिब ६००० शब्द थिए भने १६००० शब्द लिएर संक्षिप्त नेपाली आयो। यसका पछिल्ला संस्करणहरुमा अरू शब्द थपिएको उल्लेख स्वयं कोशकार ढुङ्गानाले नै गरेका छन् ( हेर्नू: तेस्रो संस्करण २०३५ को भूमिका) । यी दुई कोशपछि नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन रायल नेपाल एकेडेमी) बाट प्रकाशित बालचन्द्र शर्माको नेपाली शब्दकोश (२०१९) मा ५५००० शब्द छन्। २०४० मा नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) बाट प्रकाशित नेपाली बृहत् शब्दकोशमा ६२००० शब्द छन् भने २०७९ मा प्रज्ञा प्रतिष्ठानबाट १२८००० भन्दा बढी शब्दहरु भएको प्रज्ञा नेपाली बृहत् शब्दकोश प्रकाशित भएको छ।
१०. पछिल्ला यी तिन कोशले नेपाली कोशकारहरु नेपाली शब्द भण्डारको फराकिलो क्षेत्रसम्म पुगेको सङ्केत गर्दछ । जुन कोशमा धेरै शब्द हुन्छन् त्यसको माध्यमबाट सम्बद्ध भाषाको शब्द भण्डारकाे प्रकृति र प्रवृत्ति बुझ्न सकिन्छ । यस्ता शब्दकोशमा अधिकतम शब्दको वर्ण विन्यास नियालेर तिनको व्यवस्थापनका लागि सामान्यीकृत नियमहरु उपयोगमा ल्याइएका हुन्छन्। संस्थागत रूपमा प्रकाशित यस्ता कोशहरु विद्वानहरुको प्राज्ञिक परामर्शपछि आएका निष्कर्षयुक्त हुन्छन्। यस दृष्टिले नेपाली बृहत् शब्दकोश (२०४०) र प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) महत्त्वपूर्ण छन्। शब्दसङ्ख्या र भाषिक सूचनाका दृष्टिले बृहत् एवम् बहुसूचनात्मक तथा शब्द भण्डारको प्रकृति र प्रवृत्तिको अध्ययनका दृष्टिले अधुनातन यी कोशलाई पन्छाएर करिब ७३ वर्ष पुरानो, १६००० शब्द मात्र भएको, संक्षिप्त नेपाली कोश (२००७) का मान्यतातर्फ नेपाली भाषालाई फर्काउन खोज्ने गाउँलेको प्रयास प्रतिगमनतर्फको एक्लो यात्रा भन्दा के होला ?
000
पुराना नेपाली व्याकरणका तुलनामा वर्तमान नेपाली व्याकरणका विशेषता
अहिलेका नेपाली व्याकरणमा धेरै कुरा थपिएका तथा परिवर्तित भएका छन् । यसको पुष्टिका लागि वर्तमान व्याकरणमा थपिएका केही प्रमुख कुराको यहाँ उल्लेख गरिन्छ :
१. उच्चार्य वर्णको व्यवस्था : उच्चार्य वर्ण र लेख्य वर्णको भिन्नता, अक्षर संरचनाको अवधारणा
२. शब्दवर्ग/ पदवर्गमा ८ वर्गको चर्चाबाट ९ वर्ग : निपात, शब्दवर्गमा अर्थ र रूपभन्दा कार्यको प्रधानता रहेको स्थिति
४. क्रियापदमा अकर्मक, सकर्मक, द्विकर्मकको संरचना र कार्यबारे थप चर्चा, पूरकापेक्षी क्रियाको समावेश
५. क्रियाका पक्षमा अभ्यस्त पक्षको समावेश र भावमा विध्यर्थलाई आज्ञार्थ र इच्छार्थमा स्पष्ट विभाजन
६. वाच्यबारे थप विस्तारसाथ चर्चा र कर्मवाच्यमा भाववाच्यताको स्थिति
७. करण र अकरणको वर्णनमा संरचनात्मक आधारको खोजी र थप व्याख्या
८. प्रेरणार्थकताको परिवेशको थप व्याख्या
९. कारक र विभक्तिबारे थप आयाम र व्याख्या, सरल र तिर्यक् कारकको अवधारणा
१०. वाक्य संरचनामा थप आयाम र व्याख्या : वाक्यहरुको वर्णनमा सरल र जटिल वाक्यको स्थिति, वाक्यका घटकहरु, पदावली र उपवाक्यको अवधारणा, यसको संरचनामा निरपेक्ष र सापेक्ष संयोजकहरुको उपयोग मात्र महत्त्वपूर्ण नभई कृदन्तीकरण (असमापिका क्रिया : नु, ने, एको, तो/दो, तै/दै, ता/दा, न, ए, एर प्रत्यय) को पनि उल्लेख्य भूमिकाबारे चर्चा
११. प्रत्यक्ष अप्रत्यक्ष कथन /उक्ति परिवर्तनबारे विस्तृत चर्चा, वाक्यान्तरण, व्याकरणमा रचनामुखी अवधारणा
१२. शब्द व्युत्पादन (समास र द्वित्व समेत ) मा नयाँ आयाम र व्याख्या, संस्कृत सन्धि नियममा मात्र सीमित नभई नेपाली सन्धि नियम समेतको वर्णन
१३. पछिल्ला व्याकरणमा विसं. २०३५ देखि नयाँ वर्ण विन्यासको अवधारणा समावेश
१४. उल्लिखित कुरा वर्तमान पाठ्यक्रमहरुमा पठन पाठनमा समावेश भएका विषय हुन् । यी कुरामा केही अस्पष्ट भए वा शङ्का भएमा परम्परागत चन्द्रिका, मध्य चन्द्रिका वा त्यस धारको कुनै व्याकरणसँग २०४८ पछिका व्याकरणका वर्णनीय विषयको तुलना गरिएमा यिनका बिचको भिन्नता सजिलै बुझ्न सकिन्छ ।
ooo
यस्तो लेखाइ अन्य ठाउँमा भेटिएन । यस्तो लेखाइबाट आफ्नो अभियान प्रारम्भ गर्नेहरुले नेपाली भाषा जोगाउँछन् कि सिद्ध्याउँछन् होला ? तिनीहरुले आफ्नो अनुहार ऐनामा फेरि हेर्छन् कि ? मित्रहरुको उचित प्रतिक्रियाको अपेक्षामा ... ।
000
नेपालमा अङ्ग्रेजी व्याकरण लेखकका रूपमा चिनिएका चूडामणि गौतमको नेपाली बृहत्तर शब्दकोश (२०७९ ) प्रकाशित भएको छ । मदन पुरस्कार गुठीका तत्कालीन मालिकको हुटहुटीमा विश्व विद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानका कार्य तथा विद्वत् परम्परालाई अमान्य बनाउन, अवमूल्यन गर्न र कथित मानकका रूपमा स्थापित गर्न त्यससँग आबद्ध केही संस्था र सञ्चार माध्यम समेत जोडतोडले लागेको देखिन्छ । उल्लिखित शब्दकोश तपाईंहरुले कतै देख्नु भएको छ ? यसको अवधारणा, शब्दहरुको प्रविष्टि र प्रस्तुति सबै कुरा हेर्दा नेपाली भाषाको प्रयोगमा भएका समस्या समाधान गर्नुभन्दा समस्या बल्झाएर नेपालीका प्रयोग कर्ताहरुलाई अझ अन्योलको भुमरीमा फसाउने नियत रहेको स्पष्ट हुन्छ । यसका सहयोगी तथा सल्लाहकार निम्नानुसार देखिन्छन् :
000
आधा वर्ण/सग्लो वर्ण, हलन्त/अजन्त
नेपाली उच्चार्य व्यवस्थामा अच् भन्नाले स्वर वर्णलाई र हल् भन्नाले व्यञ्जन वर्णलाई जनाइन्छ तर लेख्यचिह्नमा यिनका बिच कतिपय स्थितिमा एकानुरूप सम्बन्ध स्थापित नभएको पनि देखिन्छ । यो कुरा अजन्त र हलन्त वर्णको नेपाली लेखनमा देखिएको निम्नानुसार वितरणको विविधताबाट स्पष्ट हुन्छ ।
१. खुट्टा नकाटी आधा लेखिएका वा ठाडो धर्को हटाई लेखिएका वर्ण पनि हल् वा हलन्त वर्ण हुन् । जस्तै; बग्गी, चुच्चो, बाच्छो, सुन्छ, सुत्ला, बोल्छ ।
शङ्ख, सङ्केत, काट्छ, पढ्ने, जोड्ने
३. खुट्टा नकाटिएका बुइ चढेर माथि बसेका सग्ला जस्ता (आकारमा अजन्त जस्ता देखिने) वर्ण पनि उच्चारणले गर्दा आधा वा हलन्त मानिन्छन् । किनभने यस्ता वर्णको उच्चारण हलन्त हुन्छ । जस्तै;
अङ्ग/ अङ्. ग/, बट्टा / बट्. टा/, गड्डा /गड्. डा /, मुद्दा / मुद्. दा/
४. कुनै वर्ण हलन्त आकार लिँदा सग्लो नदेखिई केही मोडिएका हुन्छन् । जस्तै;
सक्नु/खोक्छ, आफ्नो,
कुनैमा त मोडिएका आकार ठम्याउन पनि कठिन हुन्छ । जस्तै;
ह्याउ, द्यौराली, विद्या, उद्यम
५. अर्का वर्णको दायाँतिर सग्लो जस्तो देखिई टाँसिएर आएको आधा द् सग्लो द जस्तो देखिए पनि हलन्त ठहरिन्छ । जस्तै;
तद्भव / तद्. भब्/, सद्भाव / सद्. भाब्/,
शुद्ध / सुद्.ध/, बुद्ध / बुद्.ध/, उद्धार / उद्.धार्/, द्वार / द् वार्/,
६. अर्का वर्णको शिरतिर आउने अर्कै आकारमा देखिने वर्ण पनि हलन्त नै हो ।जस्तै; सर्प / सर्.प/, पर्व / पर्.ब/,
यस्तै आधा `र´ अगाडि आउँदा अर्कै किसिमको देखिन्छ :
-याल, ग-यो
७. कुनै आधा वर्ण अर्कोसँग टाँसिँदा आकार पूर्णत: फरक भएर लेखिएको पनि देखिन्छ । जस्तै;
भक्त / भक्.त/, शक् ति/ सक्.ति/,
८. अजन्त लेखन भए पनि हलन्त उच्चारण हुने वर्ण उच्चार्य दृष्टिले त हलन्त मानिने भए । जस्तै;
कलम/ कलम्/, बालक/ बालक्/
९. अजन्त उच्चारण र लेखन दुबै हुने वर्ण मात्र सम्पूर्ण रूपमा अजन्त भए । जस्तै;
तल, पर, वर, बाहिर,
होइन, छैन
१०. आधा वर्णको पछाडि लाग्ने अजन्त `र´ भने अनेक आकारमा देखिन्छ । जस्तै;
प्र / प् र/ : प्रथम, द्र / द् र/ : भद्र, क्र/ क् र/ : काँक्रो, ट्र / ट् र/ : ट्रक, ड्र / ड् र/ : ड्रम,
यसरी बुझ्नु बुझाउनु/ सिक्नु सिकाउनु बेस हुन्छ ।
000
नेपाली वर्ण विन्यासमा सुधारको कार्यदिशा र यसमा देखिएका अवरोधहरु
१. नेपाली वर्ण विन्यासमा सुधारको संस्थागत प्रयास विसं. २०२९ मा साझा प्रकाशनको पहलमा भएको लेखकहरुको भेलाबाट संस्कृत तत्सम शब्दलाई यथावत् लेख्ने र आगन्तुक शब्दहरुलाई नेपाली वर्ण
विन्यास अनुसार लेख्ने सर्वसम्मत निर्णयबाट भएको थियो । यसको उल्लेख त्रिभुवन विश्व विद्यालय, नेपाली विभागका तत्कालीन प्रमुख वासुदेव त्रिपाठीले विभिन्न मन्तव्य, अन्तरवार्ता र व्यक्तिगत भेटघाटमा समेत गरेको पाइन्छ । यस्तै झर्रोवादीका रूपमा चिनिने विख्यात साहित्यकार डा. तारानाथ शर्माले आफ्नो पुस्तक `सजिलो नेपाली´मा समेत यसको चर्चा गरेका छन् ।
२. तर उल्लिखित निर्णय तत्कालीन साझा प्रकाशनका अध्यक्ष कमल दीक्षितबाट कार्यान्वयन नगरिएको र पछि २०३५ देखि त्रिभुवन विश्व विद्यालयले आफ्ना गोष्ठीहरुका निष्कर्षका रूपमा अनिवार्य नेपाली शिक्षण निर्देशन जारी गरी कार्यान्वयनमा ल्याएको देखिन्छ । त्यसपछि प्रा. बालकृष्ण पोखरेलको प्रधान सम्पादकत्व र वासुदेव त्रिपाठी, बल्लभ मणि दाहालको विशेष सम्पादकत्वमा निस्केको नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (२०४०) मा समेत यस अवधारणालाई कार्यान्वयनमा ल्याइयो ।
३. एकातिर २०५६ देखि उल्लिखित बमोजिमको वर्ण विन्यास विद्यालय तहका पाठ्य पुस्तकमा पनि पूर्ण रूपमा लागु भयो । यो देखेर नेपाली बृहत् शब्दकोश (२०४०) को स्थापनालाई नमानी आफ्ना प्रकाशनमा उही जुद्ध शमशेरको पालाको पुरानो नेकशुले ( १९९१) का नियम नै कायम राखेका विशेष गरी मदन पुरस्कार गुठीका तत्कालीन प्रमुख र अन्य यथास्थिति चाहनेहरु भित्रभित्रै असन्तुष्ट रहेको समूहको दबाबमा ज्ञानेश्वरस्थित गीता राणाद्वारा सञ्चालित ग्यालेक्सी स्कुल ( त्यतिखेर ११/१२ कक्षा समेत पढाइ हुने ) मा प्रतिरोध भेला भएको थियो । त्यसमा त्रिविका केही शिक्षकको पनि सहभागिता रहेको थियो । बलदेव गाउँले पनि त्यही स्कुलमा पढाउँथे । पछिल्लो समयमा नेपाली वर्ण विन्यास उल्टाअौँ (?) अभियानका अभियन्ताका रूपमा चिनिएका उनी त्यही प्रतिरोध भेलाका उपज हुन् ।
अर्कातिर २०५७ सालमा वसन्त कुमार शर्म्माले पुरानो नेकशुलेकै यथास्थितिको धारमा नेपाली शब्द सागर नामक शब्दकोश प्रकाशनमा ल्याए । यसको विमोचन तत्कालीन प्रधान मन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको र सोही विमोचन समारोहमा यस कोशलाई नेपालका सबै गाविसमा एक एक प्रति राख्न मौखिक निर्देशन समेत दिएको र तत्कालीन विपक्षी नेता माधव कुमार नेपालले शर्म्माको घरैमा गएर अभिनन्दन गरेको कुरा त्यतिखेर सञ्चार माध्यममा व्यापक रूपमा प्रचारित थियो ।
४. विद्यालयहरुमा समेत लागु भएकाले यसमाथि आएका प्रतिक्रिया तथा दबाबलाई समेत ध्यान दिई नेपाल प्रज्ञा प्रतिष्ठानले २०५७ मा नेपाली वर्ण विन्यास सम्बन्धी गोष्ठीको आयोजना गरेको थियो । त्यस गोष्ठीका लागि तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुबाट यस सम्बन्धी कार्यपत्र लेख्ने मुख्य जिम्मेवारी भने
प्रज्ञा प्रतिष्ठानको संस्थागत धारका विरोधी मदन पुरस्कार विजेता कवि मुकुन्द शरण उपाध्यायलाई दिइएको थियो । यस गोष्ठीमा त्रिविका संस्थागत धारवाला केही शिक्षकहरु सहभागीको भूमिकामा भएकाले पनि त्यस गोष्ठीका निर्णय भने कार्यपत्र प्रस्तोताको नेपाली वर्ण विन्यास सम्बन्धी व्यक्तिगत प्रस्तावको विपक्षमा अथवा प्रज्ञा प्रतिष्ठान, त्रिवि र विद्यालय तहमा लागु भएको वर्ण विन्यासलाई अनुमोदन गर्नुका साथै अझ क्षतिपूर्ति दीर्घीभवन पनि तत्भव भएकाले त्यस्ता शब्दहरुका अगाडि र बिचमा दीर्घ लेख्नु आवश्यक नभएको भनी तिनलाई समेत ह्रस्व लेख्ने प्रस्ताव गरेको थियो ।
५. यसरी २०५७ पछि सञ्चार माध्यमहरुले पनि उल्लिखित संस्थागत निर्णयलाई मान्यता दिई आआफ्ना प्रकाशन शैली बनाउने तथा परिमार्जन गर्ने समेत लहर चलेको देखिन्थ्यो । यही धारको अनुसरण गरेर शैक्षणिक कोशहरु पनि निर्माण हुन थालेका थिए ।
६. नेपाल प्रज्ञा प्रतिष्ठान, हिमाल एसोसिएसन, रुम टु रिड जस्ता संस्थाको संयुक्त आयोजनामा २०६२ मा भएको नेपाली भाषाको एकरूपीकरण गोष्ठीसम्म सुधारमुखी धारको प्रभाव नै बढ्दै गएको थियो । तर २०६३/०६४ को राजनीतिक परिवर्तनपछि भने नेपाली भाषाको वर्ण विन्यासको सुधारलाई व्यवस्थित गर्दै लैजाने क्रमका पछिल्ला संस्थागत गतिविधिमा सङ्गठित अवरोध सृजना गर्न थालिएको देखिन्छ । यस क्रममा मदन पुरस्कार गुठीको अग्रसरतामा यलमाया केन्द्रमा लेखक, साहित्यकार तथा पत्रकार जम्मा गराई ललितपुर घोषणा पत्र / कथित नयाँ नेकशुले २०६९ समेत जारी गरी कान्तिपुर जस्ता सञ्चार गृहहरु तथा अन्य केही सञ्चार माध्यमबाट एकतर्फी प्रचारबाजीको अभियान सञ्चालन गरियो । फलत: संस्थागत निर्णयहरु उल्टाउने तथा खारेज गर्ने हदसम्मका दुष्प्रवृत्तिलाई उक्साउने, लेख्य नेपालीको अौपचारिक प्रयोग र यसको विस्तार एवम् विकासमा अवराेध गर्ने एवम् अन्योल सृजना गर्ने गतिविधिले प्रोत्साहन पाएको देखिन्छ।
000
ललितपुर घोषणा पत्र र प्रा. बालकृष्ण पोखरेलको प्रवक्ताको प्राधिकार ?
प्रा. बालकृष्ण पोखरेलले गोपाल पाँडेको नामको पुरस्कार लिँदा कृतज्ञता स्वरूप मन्तव्यमा आफूलाई भुसुना भन्नु भएको रहेछ । त्यस कुरालाई लिएर मदन पुरस्कार विजेता जगदीश घिमिरेले " गोपाल पाण्डेको भुसुनो र तिनका भुसुना" भनी त्रिविका नेपाली शिक्षकहरुलाई होच्याएको, उपहास गरेको लेख र यस्तै लेख शृङ्खला कान्तिपुरमा २०६८ देखि सुरु भएको दुष्प्रचारको अभियान करिब ४ वर्षसम्म चलाइयो । ०६८ देखि ०७३ सम्म चलेको यस्तो दुष्प्रचारका क्रममा वयोवृद्ध प्रा. पोखरेलको नाममा अन्तरवार्ता र लेख भनेर तोडमोड गरिएका कुरा पनि कान्तिपुरमा छापिए । पछि प्रा. पोखरेलको निधनपछि उहाँका चेला प्रचेलाहरुले विश्वास गर्ने त परै जाअोस्, कल्पना पनि गर्न नसक्ने किस्सा समेत जोडेर उहाँको स्मृतिग्रन्थमा अर्को लेख देखा प-यो । यसमा उहाँको सक्रिय जीवन कालसम्म भए गरेका कार्य तथा योगदानलाई अझ धमिल्याउने मात्र नभई धूलिसात् हुने गरी झुटमुटका किस्सा जोडिएको देखियो ।
नेपाली भाषामा प्रा. पोखरेलले झर्रोवादी अवधारणाको नेतृत्व नौलो पाइलो पत्रिकामा विभिन्न लेख मार्फत २०१३ सालदेखि नै गर्नु भएको थियो । त्यसपछिका उहाँका महत्त्वपूर्ण ग्रन्थहरुमा नेपाली भाषा र साहित्य (२०२१), पाँच सय वर्ष, झर्रो सब्द्यौली, ध्वनि प्रक्रिया तथा केही ध्वनि सिद्धान्त (सहलेखन), राष्ट्रभाषाका साथै उहाँको प्रधान सम्पादकत्वमा २०४० मा निस्केको नेपाली बृहत् शब्दकोश र २०७० मा प्रकाशित नेपाली-अङ्ग्रेजी बृहत् शब्दकोश उल्लेख्य छन् ।
उल्लिखित कृतिमध्ये कुनै पनि कृतिमा ललितपुर घोषणा पत्र (२०६९) को प्रभावको रत्तीभर पनि पुष्टि हुने आधार देखिँदैन तर नेपाली भाषाको मौलिक चिन्तन तथा सुधारमा उहाँले दिएको सुस्पष्ट मार्गलाई धमिल्याउन उहाँलाई जुद्ध शमशेरको पालाको नेपाली कसरी शुद्ध लेख्ने/ नेकशुले ( १९९१) को कथित नयाँ संस्करण मानी जारी गरिँदा अलमल्याएर उपस्थित गराइएको भए पनि उहाँको हस्ताक्षर नभई समर्थन तथा हस्ताक्षर गरिएको भनी गलत प्रचारबाजी भएको देखियो । साथै सो किसिमको अन्तरवार्ता र लेख समेत लेखेको भनी कान्तिपुरमा छपाएर नेपाली भाषाका महनीय विभूतिको प्राज्ञिक मृत्युुको परिपन्च रचियो । त्यति मात्रले चित्त नबुझेर शरच्चन्द्र वस्ती (वरिष्ठ पत्रकार ?) ले उहाँको निधनपछि "ललितपुर घोषणा पत्र (२०६९) : बालकृष्ण पोखरेलको अमूल्य उपहार" भनी स्मृतिग्रन्थमा छपाउनु पीत पत्रकारिताको निकृष्ट नमुनाका रूपमा देखा पर्छ । यस्तो कपोल कल्पित र भ्रमपूर्ण प्रचारलाई सभ्य समाजले जघन्य अापराधिक कार्य किन नभन्ने ?
स्मृतिग्रन्थमा लेखिएको उल्लिखित लेखलाई एकातिर प्रा. पोखरेलका कृतिहरुले र अर्कातिर उहाँको शिष्य परम्परा र उनीहरुका गतिविधिको अध्ययन गर्दा यी पत्रकारको भनाइ अफबाहको खेती मात्र साबित हुन्छ । एकातिर जगदीश घिमिरेले प्रा. पोखरेललाई भुसुना र उहाँका शिष्य प्रशिष्यहरुलाई भुसुनाका भुसुना भन्ने लेख त्यही कान्तिपुरमा छापिनु र अर्कातिर नयाँ नेकशुले पुस्तिका २०६९ को प्रस्तावनामा उहाँलाई भाषाका "भीष्म पितामह" भनी प्रशंसाको पुल बाँधेर शिखरमा चढाएको नाटक गर्नु उहाँलाई सम्मान होइन, अपमान तथा उपहासको पात्र बनाउने परिपन्च थियो भन्ने कुरा स्वत: प्रमाणित हुन्छ । प्रा. पोखरेल र उहाँका पक्षधरहरुलाई भुसुना भनी त्यसैको पक्ष पोषण हुने गरी अनेक हर्कत प्रदर्शनबाट यसमा गम्भीर षड्यन्त्र रहेको पर्दाफास हुन्छ ।
प्रा. पोखरेल बाहेक प्रा. तारानाथ शर्मा पनि उल्लिखित घोषणा पत्रका हस्ताक्षरकारी नभएका तर उनीहरुको नाम तानाबाना मिलाएर प्रस्तावनामा अनेक विशेषण दिई उल्लेख गरिएको र अर्कै सन्दर्भमा उपस्थित गराइएको पनि अनुमान हुन्छ ।
प्रा. पोखरेलका कृतिहरु, शिष्य परम्परा र गतिविधि कुनैले पनि पुष्टि नहुने कुरालाई उहाँको स्मृतिग्रन्थमा " नेकशुले २०६९ : बालकृष्ण गुरुको अमूल्य उपहार" भनी अनेक थरी झुटको पुलिन्दा बनाएर लेख लेख्ने र नेपाली भाषाका अध्येता र सर्वसाधारणलाई दिग्भ्रमित बनाउने एवम् र नपाएको पगरी भिरेर मरणोपरान्त समेत उहाँको प्रवक्ता हुने प्राधिकार यी पत्रकारलाई कसबाट प्राप्त भयो ? रहस्यमय छ ।
सरोकार राख्ने विद्वत् वर्गले प्रा. पोखरेलको वास्तविक योगदान र पीत पत्रकारिताको तानाबानामा बुनिएको भ्रामक कथन ( यही लेख र घोषणा पत्र साहित्य पोस्ट नामक अनलाइन पत्रिकामा पनि पुन: छापिएको देखिन्छ ) भिडाएर हेर्न सक्नु हुने छ।
000
नेपाली वर्ण विन्यासमा सुधारको कार्यदिशा र यसमा देखिएका अवरोधहरु -
१. नेपाली वर्ण विन्यासमा सुधारको संस्थागत प्रयास विसं. २०२९ मा साझा प्रकाशनको पहलमा भएको लेखकहरुको भेलाबाट संस्कृत तत्सम शब्दलाई यथावत् लेख्ने र आगन्तुक शब्दहरुलाई नेपाली वर्ण
विन्यास अनुसार लेख्ने सर्वसम्मत निर्णयबाट भएको थियो । यसको उल्लेख त्रिभुवन विश्व विद्यालय, नेपाली विभागका तत्कालीन प्रमुख वासुदेव त्रिपाठीले विभिन्न मन्तव्य, अन्तरवार्ता र व्यक्तिगत भेटघाटमा समेत गरेको पाइन्छ । यस्तै झर्रोवादीका रूपमा चिनिने विख्यात साहित्यकार डा. तारानाथ शर्माले आफ्नो पुस्तक `सजिलो नेपाली´मा समेत यसको चर्चा गरेका छन् ।
२. तर उल्लिखित निर्णय तत्कालीन साझा प्रकाशनका अध्यक्ष कमल दीक्षितबाट कार्यान्वयन नगरिएको र पछि २०३५ देखि त्रिभुवन विश्व विद्यालयले आफ्ना गोष्ठीहरुका निष्कर्षका रूपमा अनिवार्य नेपाली शिक्षण निर्देशन जारी गरी कार्यान्वयनमा ल्याएको देखिन्छ । त्यसपछि प्रा. बालकृष्ण पोखरेलको प्रधान सम्पादकत्व र वासुदेव त्रिपाठी, बल्लभ मणि दाहालको विशेष सम्पादकत्वमा निस्केको नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (२०४०) मा समेत यस अवधारणालाई कार्यान्वयनमा ल्याइयो ।
३. एकातिर २०५६ देखि उल्लिखित बमोजिमको वर्ण विन्यास विद्यालय तहका पाठ्य पुस्तकमा पनि पूर्ण रूपमा लागु भयो । यो देखेर नेपाली बृहत् शब्दकोश (२०४०) को स्थापनालाई नमानी आफ्ना प्रकाशनमा उही जुद्ध शमशेरको पालाको पुरानो नेकशुले ( १९९१) का नियम नै कायम राखेका विशेष गरी मदन पुरस्कार गुठीका तत्कालीन प्रमुख र अन्य यथास्थिति चाहनेहरु भित्रभित्रै असन्तुष्ट रहेको समूहको दबाबमा ज्ञानेश्वरस्थित गीता राणाद्वारा सञ्चालित ग्यालेक्सी स्कुल ( त्यतिखेर ११/१२ कक्षा समेत पढाइ हुने ) मा प्रतिरोध भेला भएको थियो । त्यसमा त्रिविका केही शिक्षकको पनि सहभागिता रहेको थियो । बलदेव गाउँले पनि त्यही स्कुलमा पढाउँथे । पछिल्लो समयमा नेपाली वर्ण विन्यास उल्टाअौँ (?) अभियानका अभियन्ताका रूपमा चिनिएका उनी त्यही प्रतिरोध भेलाका उपज हुन् ।
अर्कातिर २०५७ सालमा वसन्त कुमार शर्म्माले पुरानो नेकशुलेकै यथास्थितिको धारमा नेपाली शब्द सागर नामक शब्दकोश प्रकाशनमा ल्याए । यसको विमोचन तत्कालीन प्रधान मन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको र सोही विमोचन समारोहमा यस कोशलाई नेपालका सबै गाविसमा एक एक प्रति राख्न मौखिक निर्देशन समेत दिएको र तत्कालीन विपक्षी नेता माधव कुमार नेपालले शर्म्माको घरैमा गएर अभिनन्दन गरेको कुरा त्यतिखेर सञ्चार माध्यममा व्यापक रूपमा प्रचारित थियो ।
४. विद्यालयहरुमा समेत लागु भएकाले यसमाथि आएका प्रतिक्रिया तथा दबाबलाई समेत ध्यान दिई नेपाल प्रज्ञा प्रतिष्ठानले २०५७ मा नेपाली वर्ण विन्यास सम्बन्धी गोष्ठीको आयोजना गरेको थियो । त्यस गोष्ठीका लागि तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुबाट यस सम्बन्धी कार्यपत्र लेख्ने मुख्य जिम्मेवारी भने
प्रज्ञा प्रतिष्ठानको संस्थागत धारका विरोधी मदन पुरस्कार विजेता कवि मुकुन्द शरण उपाध्यायलाई दिइएको थियो । यस गोष्ठीमा त्रिविका संस्थागत धारवाला केही शिक्षकहरु सहभागीको भूमिकामा भएकाले पनि त्यस गोष्ठीका निर्णय भने कार्यपत्र प्रस्तोताको नेपाली वर्ण विन्यास सम्बन्धी व्यक्तिगत प्रस्तावको विपक्षमा अथवा प्रज्ञा प्रतिष्ठान, त्रिवि र विद्यालय तहमा लागु भएको वर्ण विन्यासलाई अनुमोदन गर्नुका साथै अझ क्षतिपूर्ति दीर्घीभवन पनि तत्भव भएकाले त्यस्ता शब्दहरुका अगाडि र बिचमा दीर्घ लेख्नु आवश्यक नभएको भनी तिनलाई समेत ह्रस्व लेख्ने प्रस्ताव गरेको थियो ।
५. यसरी २०५७ पछि सञ्चार माध्यमहरुले पनि उल्लिखित संस्थागत निर्णयलाई मान्यता दिई आआफ्ना प्रकाशन शैली बनाउने तथा परिमार्जन गर्ने समेत लहर चलेको देखिन्थ्यो । यही धारको अनुसरण गरेर शैक्षणिक कोशहरु पनि निर्माण हुन थालेका थिए ।
६. नेपाल प्रज्ञा प्रतिष्ठान, हिमाल एसोसिएसन, रुम टु रिड जस्ता संस्थाको संयुक्त आयोजनामा २०६२ मा भएको नेपाली भाषाको एकरूपीकरण गोष्ठीसम्म सुधारमुखी धारको प्रभाव नै बढ्दै गएको थियो । तर २०६३/०६४ को राजनीतिक परिवर्तनपछि भने नेपाली भाषाको वर्ण विन्यासको सुधारलाई व्यवस्थित गर्दै लैजाने क्रमका पछिल्ला संस्थागत गतिविधिमा सङ्गठित अवरोध सृजना गर्न थालिएको देखिन्छ । यस क्रममा मदन पुरस्कार गुठीको अग्रसरतामा यलमाया केन्द्रमा लेखक, साहित्यकार तथा पत्रकार जम्मा गराई ललितपुर घोषणा पत्र / कथित नयाँ नेकशुले २०६९ समेत जारी गरी कान्तिपुर जस्ता सञ्चार गृहहरु तथा अन्य केही सञ्चार माध्यमबाट एकतर्फी प्रचारबाजीको अभियान सञ्चालन गरियो । फलत: संस्थागत निर्णयहरु उल्टाउने तथा खारेज गर्ने हदसम्मका दुष्प्रवृत्तिलाई उक्साउने, लेख्य नेपालीको औपचारिक प्रयोग र यसको विस्तार एवम् विकासमा अवराेध गर्ने एवम् अन्योल सृजना गर्ने गतिविधिले प्रोत्साहन पाएको देखिन्छ।
ooo



No comments:
Post a Comment