Wednesday, August 7, 2024

वर्णविन्यास विवाद : यसो गर्ने कि ? - प्रा. विद्यानाथ कोइराला

 

बुद्ध र विद्यापतिका खुट्टा काट्ने । अनि लेख्ने बुद्ध । विद्यापति । यसो गर्दा विद्यार्थीलाई सहज हुन्छ रे । प्रश्न हो– पाठ्यपुस्तकमा यी कुरा राख्ने कि शिक्षण सामग्रीमा ?

शिक्षा मन्त्रालयले निर्णय गर्‍यो– पाठ्यपुस्तकमा । हामीले भन्यौं– शिक्षक तालिममा । शिक्षण सामग्रीमा । पहिलो लडाइँ यहीं हो । जनकपुर र नेपालगञ्ज लेख्ने कि जनक पुर र नेपाल गञ्ज लेख्ने ? प्रश्न त्यहीं हो । जनजिब्रोले जनकपुर बनाइसक्यो । नेपालगञ्ज भनिसक्यो । भाषाविदले जबर्जस्ती गर्ने कि जनजिब्रोलाई सम्मान गर्ने ? दोस्रो लडाइँ यहीं हो । श, स, ष लाई छुट्टाछुट्टै उच्चारण गर्ने हाम्रा सांस्कृतिक निधिलाई पछ्याउने कि सबैलाई पातलो स मै खाँद्ने ? शाहलाई साह गरेर ? दुष्टलाई दुस्ट पारेर ? खुशीलाई खुसी बनाएर ? तेस्रो लडाइँ यहीं हो । 

देवनागरी वर्णमालामा ५२ वटा अक्षर छन् । १६ स्वर र ३६ व्यञ्जन । सबै अक्षर पढाउने कि स्वरका १२ र व्यञ्जनका ३३ अक्षर मात्रै पढाउने ? अर्थात् सबै अक्षर पढाएर संस्कृत, प्राकृत र संस्कृतिका धरोहरसँग जोड्ने कि केही अक्षर हटाएर धरोहरसँग विमुख हुने ? चौथो लडाइँ त्यहीं हो । जनजातिका भाषामा ध्वन्यात्मक विभेद छ । ध्वनि फरक हुँदा अर्थको अनर्थ हुन्छ ।

देवनागरीमा पनि ह्रस्व र दीर्घ लेखाइले केही ध्वन्यात्मक अर्थमा बुझिने शब्द छन् । फूल र फुल । भिन्नै अर्थमा बुझिन्छन् ती । ती सबैलाई ह्रस्वीकरण गर्ने कि ध्वन्वात्मक वा सांकेतिक विभेदले नै अर्थ बुझ्न दिने ? पाँचौं लडाइँ त्यहीं हो । भाषामा शब्दहरू भित्रिन्छन् । भित्र्याइन्छन् । ती भित्रिएका एवं भित्र्याइएका तत्सम् शब्दहरूको व्याकरण के हुने ? दशैंलाई दसैं बनाए जस्तो गर्ने कि ? दशैं नै मान्य बनाउने कि ? दशैं वा दसैं जे लेखे पनि हुने नियम बनाउने ? छैठौं लडाइँ यहीं हो । युनिकोडको लेखनशैली अनुसार नेपालीको वर्णविन्यासलाई मिलाउने कि अर्को कुनै ‘एप्स’ बनाएर भाषालाई न्याय गर्ने ? सातौं लडाइँ यहीं हो ।

सम्झौताको बाटो 
हालका पाठ्यपुस्तकमा खुट्टा काटेर लेखिएका केही शब्द छन् । ती हुन्– बुद्ध, विद्या, बुद्धि, द्विविधा, द्वन्द्व आदि । यसरी हिज्जे सिकाउनुपर्ने शब्दहरूको शब्दकोश बनाउने । अनि त्यहीं सिकाउने उपाय दिने । बुद्धि जोडिएर बुद्धि हुन्छ । विद्या जोडिएर विद्या हुन्छ । द्वन्द्व जोडिएर द्वन्द्व हुन्छ । द्विविधा जोडिएर द्विविधा बन्छ । यसो गर्दा त्यो शब्दकोश स्वत: शिक्षण सामग्रीमा परिवर्तन हुन्छ ।

पाठ्यपुस्तकमा चाहिँ बुद्धि, विद्या, द्वन्द्व, द्विविधा नै लेखिनुपर्छ । किन पहिले नै त्यसो गरिएन त ? प्रश्न हुन सक्छ । नजानेर गरिएन । नबुझिएर गरिएन । परीक्षणका लागि गरिएन । गर्नै उपयुक्त ठानिएन । भाषिक प्रयोगकर्ताको रायअनुसार गरिएन । जे भने पनि हुन्छ । 

ललितपुर, महाभारत, विश्वविद्यालयजस्ता जनजिब्रोले पचाएका अनेकन शब्द छन् । तिनलाई टुक्र्याउन हुन्न । जस्तो बोल्ने त्यस्तै लेख्ने भन्नेहरूले त झनै टुक्र्याउन मिल्दैन । यो चिन्तन जोड्नासाथ चार अक्षर भए जोड्ने पाँच अक्षर भए फोड्ने भन्ने बुद्धि स्वत: भत्किन्छ । जनजिब्रोले पचाएका शब्द भन्नासाथ त्यही नियम लागु गर्ने व्यवस्था बन्छ । 

भाषिक प्रयोगशाला हामीसँग छैनन् । त्यस स्थितिमा नेपाली जिब्रोले ‘स’ मात्रै बोल्छ भन्नु वैज्ञानिक ठहरिन्न । यस स्थितिमा हामीले अंग्रेजी भाषामा ‘स’ सिकाउने काइदा अवलम्बन गर्नुपर्छ । टीआईओएनको श, घोष्टको ष र सिमेनको ‘स’ सिकाउन अंग्रेजीमा थेरापी गरिन्छ । जिब्रोको थेरापी । अनि भन्ने कि कष्टको ‘ष’ र बसको ‘स’, शानको ‘श’ ले छुने ठाउँ एउटै हो र ? फरक छ कि खोज न भन्ने हो भने विद्यार्थी स्वयं जानकार हुन्छन् । हाम्रा शास्त्रीय निधिहरू पढ्दा भेटिने श, ष, स मा पनि विद्यार्थीको रुचि रहिरहन्छ । 

हामीले विद्यार्थीलाई ५२ अक्षरै चिनाउनुपर्ने हुन्छ । नत्र संस्कृत, मैथिली, भोजपुरी, अवधी र प्राकृत वाङ्मयका अक्षरहरूबाट विद्यार्थी टाढिन्छन् । अक्षर घटाउने । चिनियाँ अनुभव त्यसै भन्छ । त्यही बुझेर जापानीले चाहिँ सबै अक्षर बचाएकै छन् । पढाएकै छन् । प्रश्न आउँछ बेचल्तीका अक्षर किन पढ्ने ? कम्प्युटरको किबोर्डले जानकारी दिन्छ– पहिलो लहरका धेरै पढिने अक्षर हुन् । चलनचल्तीका । अनि अरू चिन्ने । कुरो बुझ्ने । यसो गर्दा ऋ, ऋृ, लृ, लृ मर्दैनन् । त्यसो हुँदा विद्यार्थीले मन्त्रमयी अक्षर चिन्छन् । दुर्गाकवच पढ्न सक्छन् । धम्मपद बुझ्न सक्छन् । ध्वनिभेदले भाव बुझ्ने हाम्रा अनेकन शब्द छन् ।

मीठो, मिठो त्यही हो । ठीकै र ठिक्कै त्यही हो । यस्ता शब्दको व्याकरण व्यक्तिको प्रवृत्ति र समाजले तोकेको हुन्छ । त्यसलाई लेखककै व्याकरणमा छोडिदिनु उत्तम हुन्छ । धेरै मीठो । थोरै मिठो । 
तत्सम् र तद्भव दुई रूप हुन् । दुवै आगन्तुक नै हुन् । एकथरीले यसलाई मान्यौं– अर्काथरीले भन्यौं– संस्कृतका शब्दहरू पो तत्सम् र तद्भव हुन्छन् । अरू भाषाका त आगन्तुक हुन् । शहर, कानून जस्ता शब्द तिनमा पर्छन् । यस्ता शब्दहरूले शब्दकोश खोज्छन् ।

शब्दकोशमै लेखिनुपर्छ, यी शब्दको मूल वर्णविन्यास यो हो । हिज्जे यो हो । अनि पो भन्न पाइन्छ, माउ भाषा प्रयोग गर्नेले जे गर्छ, म त्यसैको व्याकरणको अनुसरण गर्छु । अर्थात् म कानूनको ‘नू’ दीर्घ लेख्छु । किनकि माउ भाषामा यो दीर्घ नै हुन्छ । म यसलाई ह्रस्व लेख्छु, किनकि मैले यसलाई तद्भवीकरण गरेंँ । यो छुट अहिले शहीद र सहिद लेख्नेले लिएकै छन् । यहीं प्रश्न रहन्छ, संस्कृतका तत्सम्लाई के गर्ने नि ? यहाँ हामी नेपालीको दोहोरो मापदण्ड देखिन्छ । भोलि नेवारी, भोजपुरी र शेर्पा भाषाबाट आएका तत्सम् शब्दलाई के गर्ने नि ? यस स्थितिमा माउभाषाका ह्रस्वदीर्घको हिज्जे आदिको जानकारी दिने शब्दकोश बनाउनुपर्छ । प्रज्ञा परिषद, भाषा आयोग तथा विज्ञहरूको समूहले त्यसो गर्न सक्छ । गर्नुपर्छ । 

युनिकोड त कम्प्युटर ‘एप्स’ न हो । त्यो त बनाउन सकिने चिज हो । बनाऊँ । चीन, कोरिया र जापानले त बनाएकै छन् नि त । हामी चाहिँ युनिकोडकै दास हुनुपर्ने हो र ? सुधारिएको युनिकोड पनि त बनाउन सकिन्छ नि त । गर्नु नहुने हो र ?

टुंगो 
नयाँ वर्णविन्यासले भद्रगोल मच्चायो । संस्कृत र प्राकृत विषयका धरोहरलाई बेकामे सावित गर्‍यो । देव र नागरीको सम्बन्ध टुटाउने उपक्रम गर्‍यो । तन्त्र, मन्त्र, रहस्य, मुद्रा चिकित्साजस्ता पूर्वीय जानकारीमा आघात पुर्‍यायो । देवनागरीका अक्षरलाई रोमनीकरण गर्ने दिशातर्फ धकेल्यो । आगन्तुक शब्द र माउ शब्दको सम्बन्ध विच्छेद गर्‍यो । आखिर केका लागि ? सहज ढंगले विद्यार्थीले सिके कि त ? शिक्षकले सिकाए कि त ? अभिभावकले स्वीकारे कि त ? देवनागरी लिपिका प्रयोगकर्ता मैथिली, भोजपुरी, अवधी, हाल आएर नेवारीजस्ता भाषाहरूले नयाँ वर्णविन्यास रुचाए कि त ? प्रयोग गरे कि त ? खोजीको विषय बन्नुपर्छ ।

शिक्षा मन्त्रालयकै कामकाजी र पाठ्यपुस्तकीय वर्णविन्यास भिन्नै पो छ कि त ? त्यसको पनि त लेखाजोखा गर्नुपर्छ । किन भिन्न मापदण्ड अपनाए त भनी विश्लेषण गर्नुपर्छ । विद्यार्थीका लागि सजिलो बनाउन वर्णविन्यास बदल्यौं भन्छन् भने शिक्षण सामग्री बनाउन खोजेका पो रहेछौं । नयाँ वर्णविन्यास भन्ने धृष्टता नगर भन्नुपर्छ । प्रयोग मात्रै हो भने अब टुंग्याओ भन्नुपर्छ । अझै हठ गर्छौ भने सजाय भोग भन्नुपर्छ । निर्णय देवनागरी लिपिका प्रयोगकर्तामा छोडेंँ । संस्कृत, प्राकृत र सांस्कृतिक धरोहरका संरक्षकमा छोडें ।

 000

www.ekantipur.com

No comments:

Post a Comment